घरदेखि परसम्म छाउका दुःख

घरदेखि परसम्म छाउका दुःख
महिनावारीको समयमा अलग्गै पानी माग्दै। तस्बिर : कृष्ण बिष्ट

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–८ की निशा महरालाई महिनावारी भएको समयमा विद्यालय जान मन लाग्दैन। उनी महिनाको चार दिन विद्यालयमा अनुपस्थित हुन्छिन्। महिनावारी भएको बेला पढाइमा फिटिक्कै ध्यान जाँदैन। बेलाबेला प्याड फेर्नुपर्ने र सरसफाइ गर्नुपर्ने बाध्यता हुन्छ। तर यसका लागि विद्यालयमा छुट्टै शौचालय तथा साबुनपानीको समेत व्यवस्था छैन। 

कहिलेकाहीँँ उनलाई पेट दुख्ने समस्या पनि हुन्छ। त्यतिबेला विश्राम गर्नसमेत उनले छुट्टै बस्न पाउँदिनन्। आफ्नो पीडा पोख्दै निशा भन्छिन्, ‘शौचालय नै राम्रो छैन, प्याड बदल्न असहज हुन्छ। प्रयोग गरिएका प्याड व्यवस्थापनका लागि पनि कुनै सामग्री छैन।’ विद्यालयमा रहेका कमसल खालका प्याडले रगत पनि थाम्नै नसक्ने उनको गुनासो छ।  

प्याडबाहेक महिनावारीसँग सम्बन्धित अन्य कुनै सुविधा नभएको उक्त विद्यालयका अधिकांश किशोरीहरूको महिनावारीका समयमा पढाइ प्रभावित हुने गरेको छ। महिनावारी भएको समयमा किशोरी र शिक्षिकाको सहजताका लागि कुनै व्यवस्था छैन। सिगास गाउँपालिका–८ लेककी प्रतिभा धामीलाई पनि महिनावारी भएको बेला विद्यालयमा निकै समस्या हुन्छ। लेकलुपुड माविमा कक्षा १० मा पढ्ने प्रतिभाले महिनावारीको समयमा पेटसमेत दुख्ने र लामो समयसम्म रगत च्यापेर बस्न नसकिने भन्दै विद्यालय जान नसकिने बताइन्।

‘प्याड बदल्ने ठाउँ छैन, पेट धेरै दुख्छ। न आराम गर्ने ठाउँ छ न सरसफाइ गर्ने स्रोतसाधन। त्यसैले घरमै बस्छु, विद्यालय जान सकिँदैन,’ उनले भनिन्। पेट दुखेको समयमा एकान्तमा बाहिर गएर बस्नुपर्ने बाध्यता रहेको अर्की छात्रा गौरी साउँदले बताइन्। ‘कहिलेकाहीँ एकदमै गाह्रो हुन्छ, एकान्तमा बस्न जान्छु,’ उनले भनिन्।

महिनावारी भएको बेला बैतडीका विद्यालयहरूमा किशोरीहरूलाई मात्रै होइन शिक्षिकाहरूलाई पनि समस्या हुने गरेको छ। पाँच सय बढी विद्यालय रहेको बैतडीमा १ सय ३३ वटा माध्यमिक तहका विद्यालयहरू छन्। यहाँँका सबै माध्यमिक तहका विद्यालयहरूमा पालिकाले दिएको प्याडबाहेक महिनावारीसँग जोडिएका अन्य कुनै पनि सुविधा छैन। किशोरीहरूका लागि छुट्टै शौचालय छैन भने महिनावारी भएका बेला प्याड बदल्ने र व्यवस्थापन गर्ने उपकरणको सुविधा छैन। 

‘प्याड भएरमात्रै के गर्नु, व्यवस्थापनको कुनै सुविधा छैन, बढी रगत बगेको बेला सहेर बस्नुपर्छ,’ सुर्नया–८ केदार माविकी शिक्षिका भानमती साउदले भनिन्, ‘घरबाट लगेको प्याड फेरी घरमै आएर बदल्नु पर्छ। घरमा पनि व्यवस्थापन गर्न मिल्दैन,’ उनले भनिन्। बढी रगत बगेको समयमा विद्यालयबाट बिदा मागेर घर जानुपर्ने बाध्यतासमेत आउने गरेको उनले बताइन्। ‘प्याड पनि खासै गतिलो छैनन्, बढी ब्लड बगेको समयमा कपडामै लाग्छ। त्यसपछि घर आउनुपर्ने हुन्छ,’ उनले भनिन्। 

सिगास गाउँपालिका–९ मा रहेको नीलपाल आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी शाह चन्दले पनि विद्यालयमा महिनावारी प्याड लगाउन असहज हुने बताइन्। ‘गुणस्तरहित प्याड छ, एक घण्टासम्म पनि रगत थाम्न सक्दैन,’ उनले भनिन्, ‘फेरि व्यवस्थापन गर्ने ठाउँ पनि छैन।’ प्याडसमेत गतिलो नहुने र महिनावारी भएको समयमा आवश्यक पर्ने संरचना तथा उपकरणको अभावले विद्यालयमा सहज रूपमा अध्ययन, अध्यापन गराउन समस्या हुने गरेको शिक्षिका चन्दले बताइन्। 

बैतडीका सबैजसो विद्यालयहरूमा महिनावारी मैत्री संरचना र उपकरणको सुविधा नभएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए। ‘महिनावारी भएका बेला सहज रूपमा अध्ययन अध्यापनका लागि महिनावारी मैत्री संरचना र उपकरणको सुविधा अपरिहार्य छ, तर यहाँँका सबैजसो विद्यालयमा पर्याप्त संरचना र उपकरण छैनन्’, सूचना अधिकारी शर्माले भने। सामुदायिक विद्यालयहरूमा महिनावारी प्याडको सुविधाबाहेक अन्य संरचना र उपकरण नभएको उनले बताए। यसरी विद्यालयहरूमा महिनावारी मैत्री संरचना र उपकरणको अभावमा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी नहुने शर्माले बताए। 

विद्यालय उमेरका किशोरी र शिक्षिकामात्रै होइन अन्य कार्यालयमा काम गर्ने महिला कर्मचारीहरूलाई पनि महिनावारी भएको समयमा गाह्रो पर्ने गरेको उनीहरूको अनुभव छ। पाटन नगरपालिकाको कृषि शाखामा कार्यरत शाखा अधिकृत अञ्जली विष्टलाई महिनावारी भएको समयमा काम गर्न असहज हुन्छ। पाटन नगरपालिकामा महिलाहरूका लागि छुट्टै शौचालयसमेत छैन। ‘प्याड बदल्ने ठाउँ नै छैन, स्तरीय शौचालयसमेत छैन। प्याड बदल्न कोठामा जानुपर्ने हुन्छ’, विष्टले भनिन्। प्याड व्यवस्थापन गर्ने सामग्रीहरू नभएकाले पनि काम नै प्रभावित हुने गरेको अञ्जलीले सुनाइन्। 

प्याड व्यवस्थापन गर्न समस्या भइरहने गरेको पाटन नगरपालिकामा कार्यरत कार्यालय सहयोगी हीरा विकको पनि गुनासो छ। प्याडको उपलब्धता भए पनि व्यवस्थापन गर्न पूर्वाधार नै नभएका कारणले समस्या हुने गरेको उनको भनाइ छ। ‘शौचालयमा डस्टबिनसमेत छैन। प्याड प्रयोग गरेपछि झोलामा राखेर घर गएरमात्रै व्यवस्थापन गर्नुपर्छ’, विकले भनिन्।  विद्यार्थी, शिक्षिका, महिला कर्मचारीहरूलाई मात्रै होइन महिनावारी मैत्री पूर्वाधार नहुँदा सेवाग्राहीहरूलाई पनि समस्या हुने गरेको छ। सुरक्षित खानेपानीको सुविधा, महिलाका लागि छुट्टै शौचालय, सरसफाइका स्रोतसाधनको उपलब्धतालगायत उपयुक्त पूर्वाधार नहुँदा असहज हुने गरेको पाटन नगरपालिका–४ की भागिरथी भट्टले बताइन्। यहाँँका कार्यालयमा व्यवस्थित शौचालयको त के कुरा गर्नु पुरुष तथा महिलाका लागिसमेत छुट्टाछुट्टै शौचालयको सुविधा नरहेको उनले बताइन्। 

जिल्लाका अधिकांश विद्यालय तथा कार्यालयहरूमा प्याड व्यवस्थापन र महिनावारीसँग सम्बन्धित उपकरण र आवश्यक पूर्वाधारको अभाव छ। गुणस्तरीय प्याड, प्याड व्यवस्थापनका उपकरण र व्यवस्थित शौचालयको अभावमा महिला तथा किशोरीहरूलाई समस्या हुने गरेको छ। पूर्वाधारको अभावका कारण महिनावारी भएको समयमा लामो समयसम्म प्याड राखिराख्ने र सरसफाइसमेत नहुने भएकाले यौनजन्य रोगको संक्रमण बढ्ने गरेको पाटन नगरपालिकामा कार्यरत जनस्वास्थ्य अधिकृत दमन्ती ऐरले बताइन्। ‘४ देखि ६ घण्टामा प्याड बदल्नुपर्छ। सरसफाइ पनि उत्तिकै चाहिन्छ। यहाँँका कुनै कार्यालय तथा सार्वजनिक ठाउँमा त्यसको सुविधा छैन’, जनस्वास्थ्य अधिकृत ऐरले भनिन्।

गुणस्तरीय महिनावारी प्याडको सहज उपलब्धताको अभाव र आवश्यकताअनुसार प्याड बदल्नका लागि उपकरण र ठाउँ छैन भने किशोरी तथा महिलालाई शारीरिक तथा मानसिक समस्या पनि निम्तिन सक्ने उनले बताइन्।  लामो समयसम्म प्याड रहिरहँदा योनीमार्ग तथा मूत्रनलीमा संक्रमणको जोखिम हुने उनको भनाइ छ। यसले गर्दा योनी चिलाउने, बिमिरा आउने, सेतो पानी बग्ने, पिसाब पोल्नेलगायतका समस्या देखिनुका साथै पाठेघरमा समेत रोगको संक्रमण बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ। महिनावारीका समयमा पर्याप्त मात्रामा सरसफाइ गर्नुपर्ने र यसका लागि विद्यालय तथा कार्यालयहरूमा उपयुक्त पूर्वाधारको व्यवस्था हुनुपर्ने ऐरले बताइन्।

विद्यालय तथा कार्यालयहरूमा कर्मचारी तथा सेवाग्राहीको लागि महिनावारी मैत्री संरचना निर्माणमा जोड दिनुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। महिला र पुरुषको अनिवार्य रूपमा छुट्टाछुट्टै शौचालय हुनुपर्ने र महिला शौचालयमा महिनावारीसम्बन्धी आवश्यक उपकरणको व्यवस्था हुनुपर्ने उनले बताए। ‘महिनावारी मैत्री संरचनाको अभाव छ। महिला शौचालयमा भेन्डिङ मेसिन र इन्सिनेटरको व्यवस्था अपरिहार्य भइसक्यो। तर यहाँँका कार्यालयमा यस्तो व्यवस्था छैन’, उनले भने। 

पूर्वाधार अभावमा महिनावारी भएको समयमा आवश्यकताअनुसार सरसफाइ तथा उपकरण नहुँदा महिलामा शारीरिक तथा मानिसक समस्या आउने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए। ग्रामीण क्षेत्रमा महिलाले प्याडको समेत प्रयोग नगर्ने गरेकाले सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ।

घर नै छाउगोठ

बैतडीको पञ्चेश्वर गाउँपालिकाले मर्यादित महिनावारी निर्देशिका जारी गेरर कार्यान्वयनमा ल्याएको दाबी गरेको छ। तर सोही गाउँपालिकामा महिनावारी भएको अवस्थामा गोठमै सुतेकी १६ वर्षीया किशोरी अनिता चन्दको ज्यान गएको छ। 

देवीदेवता रिसाउने र घरपरिवारमा अनिष्ट हुनेलगायतका पुरातन सोचका कारण महिनावारी भएको समयमा खानेकुरा बार्नेदेखि रहनसहनमा सामान्य अवस्थाको भन्दा धेरै कुरा वर्जित गर्ने गरेको पाइएको छ। गाउँघरहरूमा यस्तै चलन रहेकाले आफूहरू पनि अलग्गै बस्ने र पाँच दिनसम्म महिनावारी कडाइका साथ बार्ने गरेको पञ्चेश्वर गाउँपालिका–१ पालडीकी कसेडी सार्कीले बताइन्। ‘पाँच दिन अलग्गै बस्छौं। घरभित्र ठाउँ भयो भने पनि छुट्टै बस्छौँ। नत्र कहिलेकाहीँँ गोठमा पनि सुत्ने गरेका छौँ,’ उनले भनिन्। पहिलेदेखि चलिआएकाले यो चलन सहजै छोड्न नसकिनेसमेत उनले सुनाइन्। 

महिनावारीका बेला विभेद गर्नुहुन्न र महिनावारी बार्नु हुन्न भन्ने विभिन्न कार्यक्रममा सुन्ने गरेको भए पनि व्यवहारमा परिवर्तन ल्याउन नसकिने समेत सार्कीले बताइन्। पञ्चेश्वर गाउँपालिकाले महिनावारी विभेद अन्त्यको लागि ‘मर्यादित महिनावारी व्यवस्थापन निर्देशिका २०७६’ जारी गरेर कार्यान्वयन गरेको दाबी गरेको छ। गाउँपालिकाको तर्फबाट सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि महिनावारी भएको बेला अलग्गै बस्ने चलन हट्न नसकेको गाउँपालिकाले जनाएको छ। ‘अधिकारको क्षेत्रमा सबैसँग हातेमालो गरिरहेका छौं, सबैले सचेत हुनु जरुरी छ। हामीले हाम्रो तर्फबाट सक्दो प्रयास गरिरहेका छौँ,’ गाउँपालिका उपाध्यक्ष वीना भट्टले भनिन्, ‘गत वर्ष पनि सुदूरपश्चिम प्रदेशका लागि मर्यादित महिनावारी सद्भावना दूतमा नियुक्त हुनु भएकी गायिका रेखा जोशीलगायतको समूहलाई आमन्त्रित गर्दै सचेतनामूलक कार्यक्रम गरेका हौँ,’ उनले भनिन्, ‘अझै पनि कार्यक्रम गरिरहेका छौँ।’ 

यस विषयमा किशोरी र महिलाले पनि आफैं सचेत हुनु जरुरी रहेको उनले सुनाइन्। ‘मर्यादित महिनावारीको सबालमा अझै पनि सशक्त ढंगले कार्यक्रम चलाउनु आवश्यक भइसकेको छ’, उनले भनिन्, ‘सामान्य कार्यक्रमले मर्यादित महिनावारीको अभियान पूरा हुनेमा आशंका छ।’ 

जिल्लाको पञ्चेश्वर गाउँपालिकाले मर्यादित महिनावारीको सबालमा केही कार्यक्रम गर्ने भन्दै निर्देशिका जारी गरेको भए पनि पूर्वाधारमा ध्यान दिएको छैन। महिनावारीको समयमा महिला गोठमै सुत्ने गरेका छन् भने खानेकुरामा पनि बार्ने गरेका छन्। विद्यालयदेखि गाउँपालिकामा समेत मर्यादित महिनावारीसँग जोडिएका पूर्वाधर निर्माण हुन सकेका छैनन्। महिलाका लागि छुट्टै शौचालयको समेत व्यवस्था छैन। पञ्चेश्वरसँगै बैतडीका कुनै पनि पालिकाले महिनावारी मैत्री संरचना निर्माण गर्न सकेका छैनन्।

पूर्वाधारबिना मर्यादित महिनावारीको परिकल्पना असम्भव

मर्यादित महिनावारीका लागि सरकारी तथा गैह्रसरकारी निकायबाट वर्षंैपिच्छे बजेट विनियोजन हुने गरेको छ। सचेतनामूलक कार्यक्रमका नाममा बजेट पनि खर्च हुन्छ। तर पूर्वाधारका क्षेत्रमा कुनै निकायको ध्यान जान सकेको छैन। जबसम्म पूर्वाधारको क्षेत्रमा लगानी हँुदैन तवसम्म मर्यादित महिनावारीको परिकल्पना गर्न नसकिने मानव अधिकारीकर्मी सरस्वती नेपाली बताउँछिन्। 

‘मर्यादित महिनावारीको परिकल्पना गर्नको लागि पहिले पूर्वाधार तयार हुनुपर्‍यो। घर, विद्यालय र सेवाप्रदायक कार्यालयमा आवश्यक उपकरण र पूर्वाधारको व्यवस्था हुनुपर्‍यो। यसले मानिसक रूपमा पनि सकारात्मक धारणा ल्याउँछ,’ नेपालीले भनिन्। प्याड दिएर मात्रै मर्यादित महिनावरीको परिकल्पना गर्न नसकिने अधिकारकर्मी नेपाली बताउँछिन्।

स्थानीय स्तरमा पूर्वाधारमा लगानी गर्नुपर्ने अर्की अधिकारकर्मी कल्पना राना बताउँछिन्। सचेतनामूलक कार्यक्रमसँगै पूर्वाधार निर्माण गरी तीनको उपयोग गरी अघि बढ्नुपर्ने उनले बताइन्। ‘मर्यादित महिनावारी मैत्री समाज निर्माणको नाममा सचेतनामूलक कार्यक्रममै व्यस्त भयौँ, अब पूर्वाधार पनि निर्माण गर्नुपर्ने देखियो। पूर्वाधार नभइकन कसरी अभ्यास हुन्छ ? स्रोतसाधनको व्यवस्था गरी तिनको उपयोग पनि गरौं’, उनले भनिन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.