प्रो-क्लब च्याम्पियनसिप टी–ट्वान्टी क्रिकेट : पर्सा-११ पुलिससँग पराजित
वीरगन्ज : वीरगन्जमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा सन्दीप लामिछानेले कप्तानी गरेको टिम पर्सा-११ नेपाल पुलिस क्लबसँग २५ रनले पराजित भएको छ।
नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा पुलिसले दिएको १२५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पर्सा ११ ले पूरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ९९ रन मात्र बनाएपछि पर्सा-११ पुलिससँग २५ रनले पराजित भएको हो।
पर्सा ११ का लागि पवन सरार्फले सर्वाधिक ३२ रन बनाए भने पर्सा कप्तान सन्दीप लामिछानेले २३ रन बनाए पनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन्। यस्तै पर्सा-११ का लागि सुरज पटेलले १७ रन र रुपेश सिंहले १५ रनमात्र बनाए।
बलिङतर्फ पुलिसका सागर ढकालले चार ओभरमा १२ रन दिएर दुई विकेट, करण केसीले चार ओभरमा २४ रन दिएर दुई विकेट र ललित राजबंशीले चार ओभरमा १८ रन खर्चिएर दुई विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय २४ रन बनाएको थियो। पुलिसका लागि करण केसीले २९ रन, अमित श्रेष्ठले २६ रन र आरिफ शेखले २२ रन बनाए।
बलिङतर्फ पर्सा-११ का अनिल साहले दुई ओभरमा १२ रन दिएर दुई विकेट, रुपेश सिंहले दुई ओभरमा १७ रन दिएर एक विकेट तथा समसाद अन्सारीले चार ओभरमा १४ रन खर्चिएर एक विकेट लिए। चार ओभर बलिङ गरेका पर्सा-११ का कप्तान सन्दीप लामिछानेले २८ रन खर्चिए पनि उनले विकेट भने लिन सकेनन्।