बुटवलमा पाँचौ खाना महोत्सवको तयारी पूरा
बुटवल : होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले पाँचौ खाना महोत्सव गर्ने भएको छ। बुटवलको पर्यटन प्रवर्द्धन र सुस्ताएको बजारलाई चलायमान बनाउनका लागि महोत्सव गर्न लागिएको हो।
बुटवलको तिनकुनेदेखि बसपार्कसम्म शनिबारदेखि तीन दिनसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
खाना महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने र दुई करोड रुपैयाँ आर्थिक कारोबार हुने लक्ष्य राखिएको संघका महासचिव अर्जुन थापाले बताए। मगर, गुरुङ, नेवारी, थकाली लगायत जातिका खानाका परिकारसहित एक सय वटा विभिन्न प्रकृतिका स्टल रहने छन्। साँझ ६ बजेदेखि राति १२ बजेसम्म महोत्सव चल्ने छ।