कोशीमा हात्तीको आक्रमणबाट हालसम्म ७ जनाको मृत्यु, लाखौंको क्षति

कोशीमा हात्तीको आक्रमणबाट हालसम्म ७ जनाको मृत्यु, लाखौंको क्षति

विराटनगर : कोशी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म जंगली हात्तीको आक्रमणबाट ७ जनाको मृत्यु भइसकेको छ। 

साउनयता झापा, मोरङ र सुनसरीमा हात्तीले आक्रमण गर्दा ७ जनाले ज्यान गुमाएका हुन्। साउनदेखि हालसम्म झापामा ५ तथा मोरङ र सुनसरीमा १/१ जनाको मृत्यु भएको हो। हात्तीको आक्रमणबाट १० जना घाइते भएका छन्। आक्रमण गरेर मोरङमा ४, झापामा ३, सुनसरीमा २ र उदयपुरमा १ जनालाई घाइते बनाएको प्रहरीको भनाइ छ। 

झापामा शुक्रबार मात्रै एकजनाको मृत्यु भएको छ। झापा प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले शिवसताक्षी नगरपालिका-११ सृष्टि टोलका ४५ वर्षीय मेघराज राईको मृत्यु भएको बताए। उनका अनुसार हात्तीले राईको घर पनि भत्काइदिएको छ। 

पछिल्लो समय मंसिरको पहिलो साताबाट हात्तीको बिज्याइँ बढेको हो। हात्तीको हुलले साउनयता मात्रै झापामा ४९, मोरङमा २६, सुनसरीमा ५ र उदयपुरमा १ गरेर ८१ वटा घटना गराइसकेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलले झापामा ५४, मोरङमा १६ र सुनसरीमा ३ गरेर ७३ वटा घरमा क्षति पुर्‍याएको जानकारी दिए। उनका अनुसार मोरङमा ८१ र झापामा २ वटा गोठमा क्षति गरेको छ। 

कृषकले ७ बिघा १५ धुर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट गरिसकेको एसपी कँडेलको भनाइ छ। हात्तीले हालसम्म ३ वटा जिल्लामा ४८ लाख ७४ हजार रूपैयाँभन्दा बढीको क्षति गरेको उनले बताए। उनका अनुसार सबैभन्दा धेरै झापामा ३७ लाख ६८ हजार बढीको क्षति पुर्‍याएको छ। 

कोशी प्रदेशमा पछिल्लो समय जंगली हात्तीले हैरानी दिइरहेको छ। दैनिकजसो देखा पर्ने हुलका हुल हात्तीले सर्वसाधारणको ज्यान लिइरहेको हो। आतंक मच्चाउँदै निरन्तर भौतिक तथा मानवीय क्षति गर्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन्। एसपी कँडेलका अनुसार हात्तीका कारण झापा, मोरङ र सुनसरी बढी प्रभावित बनेका छन्। उपद्रो मच्चाएर सबैभन्दा धेरै क्षति झापा र मोरङमा गरिरहेको प्रहरीले जनाएको छ। 

भारतबाट झापा हुँदै नेपाल प्रवेश गरेका हात्ती पूर्वी मोरङ र झापाका जंगललाई वासस्थान बनाएर बसिरहेका छन्। डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले हात्तीले उत्पात मच्चाउँदा सर्वसाधारणमा त्रास बढेको बताए। ‘भारतबाट झापा हुँदै छिरेको २७ वटा जतिको हुल मोरङतिर लागेको थियो। साथमा बच्चा (छावा) पनि छन्। बच्चा हुर्काउनतिर लागेकाले होला, त्यो हुल फर्किएको छैन,’ उनले भने, ‘झापाका जंगलमा पनि झुण्ड–झुण्ड भएर बसेका छन्। एउटा झुण्डमा १० वटासम्म छन्। झापामा मात्रै ३७ देखि ४० वटा हात्ती रहेको अनुमान छ।’ 

झापामा हात्तीका दुईवटा छावा पनि रहेको राईले बताए। उनका अनुसार केही समययता झापाका जंगलमा हात्ती नियमित बसिरहेका छन्। भारतबाट छिरेका हात्ती फर्किएका छैनन्। पुस अन्तिमसम्ममा हात्ती फर्किने अनुमान गरिएको छ। झापा छिरेपछि छावा जन्माएको र हात्तीले फर्किन नचाहेको राईको भनाइ छ। 

छावाप्रति निक्कै संवेदनशील हुने हात्तीले झापाको जंगललाई आफ्नो वासस्थान नै बनाएको उनले बताए। छावा साथमा भएकाले पनि हात्ती धेरै आक्रमक बनेको हुनसक्ने राई बताउँछन्। उनका अनुसार विगतमा हात्ती सानो संख्यामा नेपाल छिर्ने गरेका थिए। ‘अहिले यतै (झापा, मोरङतिर)का जंगलमा हात्तीलाई आहारा (खानेकुरा) पर्याप्त पाइन्छ जस्तो छ। जंगलबाट निस्किएर कृषकले लगाएका केरा, मकै, उखुलगायतका बाली खाइरहेका छन्,’ राईले भने, ‘खान पाइरहेको र बच्चा पनि हुर्काउनतिर लागेकाले फर्कने ‘मुड’मा छैनन्। ‘रेकी’ गर्दै भारततिर फर्काउने प्रयास भइरहेको छ।’ 

अरु बेला पनि हात्ती झापाका जंगलमा भेटिने उनले सुनाए। खेतमा लगाएको धान कृषकले उठाइसकेका कारण गाउँ–बस्ती छिरेर भण्डारण गरेको ठाउँमा क्षति गर्दै धानसमेत खाइदिने गरेको राईको भनाइ छ। अहिले खेतबारीमा छिरेर केरा, मकै, उखुलगायतका बाली खाइदिने र नष्ट गर्ने गरिरहेको उनले बताए। 

उनका अनुसार विशेष गरेर पूर्वी नेपालका जंगलमा मंसिर र पुसमा हात्तीको चहलपहल धेरै हुन्छ। ‘वैशाख लागेपछि नेपाल छिरेका केही हात्ती भारत फर्किएनन्। यतै बसिरहेका छन्,’ उनले भने, ‘पछिल्लो समय भारतबाट थप संख्यामा छिरेर उधुम मच्चाइरहेको छ। साउनयता मात्रै झापामा दुईवटा जंगली हात्ती मृत भेटिइसकेका छन्।’ 

हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको डिभिजन वन प्रमुख राईले बताए। ‘हात्तीका कारण सर्वसाधारण त्रसित मात्रै भएका छैनन्। ज्यान पनि गुमाइरहेका छन्,’ उनले भने, ‘वस्तीनजिक छिरेर आतंक मच्चाइरहेको छ। बालीनाली खाइदिएर कृषकलाई हैरान पारेको छ।’ नियमितजस्तै देखापर्ने जंगली हात्तीले वितण्डा मच्चाइरहँदा सर्वसाधारण त्रसित एवं भयभीत भइरहेको जानकारी राईले दिए। 

हात्तीले पूर्व–पश्चिम राजमार्ग नियमित वारपार गरिरहँदा सवारी आवागमन प्रभावित हुने गरेको छ। सडकमा लामो समयसम्म सवारी जाम हुने गरेको हो। लस्करै हिँड्ने हात्तीको बथानले सर्वसाधारणको घर भत्काइदिनेदेखि बालीनाली खाने र मान्छे मार्नेसम्मको वितण्डा मच्चाइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। 

जंगल क्षेत्रमा हात्तीको आवतजावत बाक्लो भएकाले एक्लै हिँडडुल नगर्न, सचेत हुन र हात्तीबाट सुरक्षित रहन सबैमा अनुरोध गरिएको उनको भनाइ छ। डीएसपी दाहालका अनुसार बच्चा साथमा भएका कारण निक्कै आक्रामक बनेको हात्तीले धेरै क्षति गरिरहेको छ। 

रातदिन नै देखापर्ने हात्तीको बथानलाई स्थानीयको सहयोगमा जंगलतिर धपाउने गरिएको उनले बताए। हात्तीले घर भत्काइदिने, बाली खाइदिने र आक्रमण गर्ने डरले सर्वसाधारण रातभर जागा बस्ने गरेको जानकारी दाहालले दिए। उनका अनुसार हात्तीबाट स्थानीयलाई सुरक्षित बनाउन सक्रियता बढाउनुपर्ने भएका कारण प्रहरीको नियमित काममा समेत असर परिरहेको छ। 

मोरङको कानेपोखरीका जगत ठकुरी यसअघि हात्तीको बथान आएर यति लामो समयसम्म बसेको आफूलाई थाहा नभएको बताउँछन्। उनका अनुसार जंगलनजिक मकै पोलेर बेच्नेदेखि ससाना पसल राखेर व्यापार गर्नेहरु सबै त्रासमा छन्। हात्तीको त्रासले स्थानीय रातभर सुत्न नपाउने र जागा बस्नुपर्ने अवस्था रहेको ठकुरी बताउँछन्। 

हात्तीले मोरङको बेलबारीमा सबैभन्दा बढी क्षति गरिरहेको छ। बेलबारीको १, २, ३, ४, १० र ११ मा हात्तीले धेरै सताइरहेको हो। सुन्दरहरैँचा, कानेपोखरीलगायतका स्थानमा बालीनाली सखाप पारिदिने गरेको स्थानीय बताउँछन्। त्योबाहेक झापाका विभिन्न स्थानमा पनि हात्तीले उपद्रो मच्चाइरहेका छन्। 

कानेपोखरी गाउँपालिका–७ का वडाध्यक्ष मोहन अधिकारी भारतबाट नेपाल छिर्दै यति लामो समयसम्म बसेर हात्तीले आतंक मच्चाएको यसअघि थाहा नभएको बताउँछन्। हात्तीले बारम्बार दुःख दिइरहेको गुनासो सर्वसाधारणले गर्ने गरेको उनको भनाइ छ। ‘हात्तीको यस्तो त्रासको अवस्था अहिलेसम्म थाहा थिएन। जनप्रतिनिधि, प्रहरीदेखि स्थानीयसम्म हैरान भइसकियो,’ अधिकारीले भने, ‘दिउँसोको समयमा हात्ती प्रायः राजमार्गबाट उत्तरतर्फको जंगलमा बस्छन्। साँझ परेपछि खेतबारी छिरेर कृषकले लगाएका बालीनाली खाइदिन्छन्।’

जंगलमा खानेकुरा सकिएकाले हात्ती खेतबारीमा छिरेर बालीनाली सखाप पारिदिने उनको भनाइ छ। अधिकारीका अनुसार राजमार्गमा हुने हात्तीको दोहोरीलत्ताले सवारी दुर्घटनाको जोखिम पनि बढाएको छ। ‘हात्ती आवतजावत गर्दा लामो समयसम्म सवारी आवागमन प्रभावित हुने गरेको छ,’ उनले भने, ‘दुर्घटनाको जोखिम पनि उत्तिकै बढ्यो।’ हात्ती र मानवबीचको द्वन्द्व कम गर्न सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने अधिकारीले बताए। 

उनका अनुसार पछिल्लो समय हात्ती अटेरी बन्दै गएका छन्। साइरन बजाएर, भाँडाकुँडा ठटाएर, पुल्ठो बालेर र जेसीबी तथा दमकलको प्रयोग गरेर हात्ती भगाउने गरिएको थियो। तर, अहिले हात्तीले टेर्न छाडेको स्थानीय बताउँछन्। 

बेलबारी–१० मा बस्तीमा छिरेका हात्ती खेदाउन पछिल्लो समय ड्रोनको प्रयोग गर्न थालिएको छ। मौरीको आवाजसहितको ड्रोन उडाउँदा हात्ती भाग्ने गरेका छन्। बेलबारी नगरपालिकासँगको सहकार्यमा अनिल प्रधान नेतृत्वको टोलीले ड्रोन उडाएर हात्तीलाई धपाइरहेको छ। तत्काललाई ड्रोनको प्रभावकारिता देखिएपनि त्यो दिगो नहुने विज्ञहरु बताउँछन्। केही समयदेखि हात्तीले ड्रोनलाई पनि टेर्न छाड्ने उनीहरुको भनाइ छ। 

हात्ती धपाउन सुरक्षा निकाय, वन कार्यालय, वन उपभोक्ता समूह र स्थानीय तहले संयुक्त रुपमा काम गरिरहेको बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई (डीपी)ले बताए। उनका अनुसार रातको समयमा बाल्न मिल्ने गरी वन र आवादी क्षेत्रमा बत्ती जडान गरिएको छ। हात्ती लखेट्न दमकल र जेसीबीसँगै ड्रोनको प्रयोग गर्न थालिएको राईले बताए। 

वन्यजन्तु विज्ञहरु मानवीय स्वभाव र व्यवहारकै कारण हात्तीको आक्रमण बढेको बताउँछन्। हात्ती वस्ती नजिक आएपछि धपाउन ठूलो संख्या स्थानीय भेला भएर होहल्ला गर्ने, आगो बाल्ने तथा विभिन्न भाँडाकुँडा बजाएर हात्तीलाई त्रसित बनाउने काम गर्छन्। त्यसले हात्ती आक्रोसित भएर मानिसलाई आक्रमण गर्ने गरेको कोशी टप्पु वन्यजन्तु आरक्षका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताए। 

उनका अनुसार विशेष गरेर वर्षमा २ पटक जंगली हात्ती वस्तीमा देखा पर्ने गरेका छन्। असार–साउन तथा कात्तिक–मंसिरमा हात्तीको असर बढी देखिने यादवको भनाइ छ। उनका अनुसार यसवर्ष भने पुसको दोस्रो सातासम्म हात्तीले दुःख दिएको छ। ‘असारदेखि पुससम्म लगाइने अन्नबाली हात्तीलाई धेरै मन पर्छ। अहिले त्यो नेपालको पूर्वी भेगमा प्रशस्तै पाइन्छ,’ यादवले भने, ‘हात्तीले धान, मकै, गहुँ, केरा र उखु मन पराउँछ। हात्ती आइहाले जिस्क्याउने, सेल्फी खिच्ने र तर्साउने गर्न हुँदैन।’ 

जंगलमा आहार नपाइँदा खानेकुराको खोजीमा हात्ती वस्ती नजिक र बालीनाली लगाएको स्थानतर्फ आउने उनले बताए बताए। ‘चिसो बढ्दै गएर जंगलमा आहारा पाउन छाडिएपछि अहिले जंगली हात्ती वस्ती छिरेर क्षति गरिरहेका छन्। कृषकले लगाएको बालीनाली खाइदिन्छन्,’ उनले भने, ‘अर्कोतर्फ हात्ती हिँड्ने परम्परागत बाटो अतिक्रमणको चपेटामा परेको छ। जताततै घर, सडक र नहरहरू बनेका छन्।’ हात्तीले हिँड्न परम्परागत बाटो प्रयोग गर्ने गरेको यादवको भनाइ छ। 

उनका अनुसार मानवीय क्षति कम गर्नका लागि होहल्ला र हात्तीलाई अवरोध पुग्ने काम गर्न हुँदैन। आफू हिँडेको बाटोमा कसैले अवरोध गरेमा हात्तीले आक्रमण गर्ने उनले बताए। ‘वस्ती नजिक आएपनि अवरोध नगर्दा हात्तीले मान्छेलाई आक्रमण गर्दैन। बालीनाली खाएर आफ्नो बाटो जान्छ,’ यादव भन्छन्, ‘सबै सचेत हुँदा मात्रै मानवीय क्षति कम गर्न सकिन्छ। हात्तीसँगको द्वन्द्व कम गर्न हामीले आफ्नै व्यवहार सुधार्न जरुरी छ।’

जनावरलाई जंगलमा बस्ने अधिकार रहेको भन्दै उनले घाँस र पानी भएका ठाउँमा हात्ती आउनु स्वाभाविक रहेको उल्लेख गरे। ‘हात्तीका विषयमा समुदाय सचेत हुनुपर्छ। हात्ती आउँछ र जान्छ। तर, त्यसलाई अवरोध गर्न भएन। हामी संयमित हुनुपर्छ। जंगल उसका लागि हो भन्ने बुझिदिन पर्‍यो,’ उनले भने, ‘प्राकृतिक हिसाबले र शान्तिपूर्ण ढंगले जंगलमा डुलघुम गर्न दिनुपर्छ। हात्तीलाई तनाव दिने काम गर्दा मानिसप्रति आक्रामक बन्छ। तर, त्यो कुरा भुलेर हामी ढोल, झ्याम्टा र भाँडाकुँडा बजाएर हात्ती तर्साउँछौँ। भाला, खुकुरी र ढुंगाले प्रहार गर्छौं।’ 

साइरन बजाउँदा र ठुल्ठूला आवाजले तर्साउँदा हात्तीले पनि असुरक्षित महसुस गरी आक्रमण गर्ने यादवको भनाइ छ। साथमा बच्चा पनि भएकाले हात्ती लामो समयसम्म पूर्वी नेपालकै वनमा बसेको हुनसक्ने उनले बताए। ‘हात्तीका छावा लामो समयसम्म हिँडडुल गर्न सक्दैनन्। त्यही भएकाले छावा हुर्काउनका लागि पूर्वी मोरङका वनलाई हात्तीले सुरक्षितस्थल मानेको हुनुपर्छ,’ उनले भने, ‘यति लामो समयसम्म जंगली हात्ती एक ठाउँमा टिकेको थाहा छैन। छावा हुर्काउन नै पूर्वी वनहरु छाड्न नचाहेको हो।’ 

यादवका अनुसार हात्तीबाट भएको क्षतिको अध्ययन गरेर क्षतिपूर्ति दिने गरिन्छ। हात्तीको आक्रमणबाट कसैको मृत्यु भएमा परिवारलाई १० लाख, गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई २० हजार रूपैयाँ क्षतिपूर्ति दिने गरिएको उनले बताए। बालीनाली क्षति गरेमा १० हजारसम्म क्षतिपूर्ति दिइने उनको भनाइ छ। हात्तीले पुर्‍याइएको क्षतिको क्षतिपूर्तिका लागि ठूलो रकमसमेत खर्च भइरहेको जानकारी यादवले दिए।  

झापाको बाहुनडाँगीदेखि कोसी टप्पु वन्यजन्तु आरक्षसम्मको उपयुक्त स्थानलाई हात्ती करिडोर क्षेत्र बनाउन सम्भाव्यता अध्ययनका लागि कोशी प्रदेश सरकारले ५० लाख बजेटसमेत छुट्याएको छ। हात्ती प्रभावित क्षेत्रमा पुगेका बेला मुख्यमन्त्री केदार कार्कीले पर्यटन प्रवर्द्धनका लागि प्रदेशमा हात्ती करिडोर बनाउने बताएका थिए। 

हात्ती र मानिस सँगै मिलेर बस्नुपर्ने भएकाले जंगली जनवारको वासस्थान क्षेत्रमा हस्तक्षेप हुन नहुने उनी बताउँछन्। हात्तीलाई भुलाउन जंगल क्षेत्रमा खानाको व्यवस्थापन र उपयुक्त वातावरण बनाउन प्रयास गरिने कार्कीले बताउँदै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.