समाज

गोठ, गोठाला र चेपाङ

गोठ, गोठाला र चेपाङ

चिउरी र चेपाङको सम्बन्ध गज्जबको हुँदो रहेछ। मलाई त लाग्यो– चेपाङ र चिउरी भनेको मान्छे र प्रकृतिको गहिरो सम्बन्ध देखाउने ऐना हो। चेपाङहरूले छोरी जन्मेपछि चिउरी रोप्दा रहेछन्। चिउरीसँग त छोरीको जीवन जोडिएको हुँदो रहेछ।

मलाई हरदम लागिरहन्छ– ‘समय, शक्ति र सम्पत्ति खेर फाल्नु हुँदैन, हरेक घटनालाई सिर्जनामा बदल्नु पर्छ।’ त्यही भएर यस वर्षका चाडहरूलाई सिर्जनामा बदल्न सकूँ भन्ने उद्देश्यले म दसैं मनाउन गोठ र गोठवालाहरूसँग मैयुम डाँडा (भोजपुर) गएँ।

मैयुम मेरो विगतसँग गाँसिएको थियो। जब पुर्खाको पदचाप पछ्याएर बुवा–आमाले हामीलाई गाउँ फर्काउनु भयो। त्यही गाउँमा हाम्रा धेरै पुर्खाहरूको जीवन बितिसकेको थियो। अझ धेरै सन्ततिहरूको जीवन बित्दै छ।

हामी सानै हुँदाको पुरानो कुरा सम्झन्छु। गाउँमा धेरै जाडो हुन्थ्यो। ‘केटाकेटीको जाडो बाख्राले खान्छ’, भन्नुहुन्थ्यो आमा। लुगा नभएर कि घाम नभएर हो ? हामीलाई भने जाडो लाग्थ्यो। कहिल्यै खाएन बाख्राले हाम्रो जाडो !

गाउँ उत्तर फर्केको हुनाले घाम ढिलो आउँथ्यो र छिटो जान्थ्यो। हिउँदको महिनामा त शीत नै सुक्थेन। हुन त लुगा पनि थिएन। लुगा किन्नका निम्ति बाआमासँग पैसा थिएन। लुगा बेच्ने पसल पनि थिएन।

गाउँमा घरभरि छोराछोरी हुन्थे। छोरीहरू अन्तरी, जन्तरी, लखन्तरीसम्म र छोराहरू अन्तरे, जन्तरे, लखन्तरेसम्म। त्यसभन्दा पनि बढी जन्मे पानीमन्तरे र पानीमन्तरी हुन्छ भन्थे, त्यो चाहिँ मैले देखिनँ।

बाआमा चाडबाडमा छोराछोरीलाई एकैचोटि लुगा किन्दिन नै सक्दैनथे। दौरा किन्दा सुरुवाल छुट्ने, सुरुवाल किन्दा दौरा छुट्ने। छोरीचेलीको पनि चोली किन्दा गुन्यू छुट्ने, गुन्यू किन्दा चोली छुट्ने। अर्काे वर्ष किन्ने भाकामा बस्नु पथ्र्यो।

हुन त समय धेरै भएको छैन। तीन दशक अगाडिको मात्रै कुरा हो। हुन त तीन दशक इतिहासको निम्ति केही पनि होइन रहेछ तर मानिसका लागि जुगजुगजस्तो लाग्दो रहेछ। भन्दा कथा जस्तो लाग्छ। त्यस बेलासम्म गाउँमा कमैले जुत्ता–चप्पल लगाउँथे। दिन माया मारेर रेडियो सुन्न जानु पथ्र्याे। समय हेर्ने घडी विरलै थियो गाउँमा।

घामको रेखा हेरेर समयको मापन गरिन्थ्यो। पारि डाँडामा दुई कारणले घाम हेरिन्थ्यो– एक, समयको अनुमान गर्नु; दुई, कतिखेर घाम आउला र तापौंला।

चेपाङ बालबालिकाले हामीसँग एकछिन देउसी खेले। उनीहरूले देउसी गीतबाट आफ्नो मार्मिक कहानी सुनाए। पढ्न नपाउँदाको दुःख, खान नपाउँदाको दुःख, लगाउन नपाएको दुःख, राज्यबाट हेपिनु परेको दुःख, सबैसबै गीतमै बोलेका थिए।

हाम्रो गाउँबाट उत्तरको क्षितिजमा सबैभन्दा पल्लो र अग्लो डाँडा मैयुम देखिन्थ्यो। त्यसदेखि पछाडि टाँसिएर बसेको देखिन्थ्यो, एउटा हिमाल। त्यो हिमालको नाम थियो, कुम्भकर्ण। लिम्बू भाषामा कुम्भकर्णलाई फाक्ताङलुुङ भनिँदो रहेछ। मुन्दुममा फाक्ताङलुङलाई पृथ्वीको अन्तिम बिन्दु मानिँदो रहेछ। मान्छे मरेपछि त्यहीँबाट पितृलोक जानुपर्छ भन्ने लिम्बू समुदायमा गहिरो विश्वास रहिआएको छ।

फाक्ताङलुुङसँग हाराहारीमा जस्तै उभिएर बसेको मैयुमको ढाडभरि बिहानै र बेलुकै घामको सुन्तले रङ पोखिन्थ्यो। त्यो सुन्तले घामले हामीलाई दिन र रात दुबै दिन्थ्यो। बिहानको सुन्तले घामले दिन लिएर आउँथ्यो र बेलुकाको सुन्तले घामले रात दिएर जान्थ्यो। रात ल्याउन होस् वा दिन ल्याउनलाई पहेंलपुर हुनैपथ्र्याे त्यो डाँडा।

हिउँदको कयौं महिना थाप्लोमा हिउँ बोकेर उभिन्थ्यो त्यो डाँडा। वर्षाको बेलामा डम्डम्ती बादलले छोपिन्थ्यो। बादलले डाँडा छोपेपछि हाम्रो गाउँ कम्पास बिग्रेको दिशाविहीन पानीजहाज जस्तै समयविहीन हुन्थ्यो। झ्याउँकिरी कराएपछि मात्रै मान्छेहरू भन्थे, ‘रात परेछ।’

अहिले त्यही डाँडा हुँदै हिँडिँने चर्चित मुन्दुम पदमार्ग बनेकोे छ। भोजपुर र खोटाङको पानीढलोमा पर्ने त्यही डाँडा र त्यसको वरिपरि विशाल खर्कमा रहेको गोठ र गोठालासँग यस वर्ष (२०८०) दसैं मानियो। यसका दुई उद्देश्य थिए– एक, मुन्दुम पदमार्ग अवलोकन र प्रवद्र्धन गर्नु। दोस्रो, गोठ संस्कृति र गोठाला जीवन प्रणालीलाई पर्यटन उद्योगसँग जोड्नु।

null

मुन्दुमी मिथक र कथामा आधारित मुन्दुम पदमार्ग पर्यटकका लागि एक आकर्षक गन्तव्य त बनिसकेको छ। यसको विकास र विस्तार हुन सके, अझ बढी रोजगारी सिर्जना गर्न सक्ने व्यापक सम्भावना छ।

नेपाली समाजको मौलिक परम्परा र पेसा हो– गोठ र गोठालो। गोठ संस्कृति जो आज निर्वाहमुखी पेसामा सीमितमात्रै रहेन, समयसँगै लोप हुँदै जाँदै छ। यसलाई पर्यटनसँग जोड्न सके गोठ र गोठाला संस्कृति लोप हुनबाट मात्रै जोगिँदैन, आयआर्जनको माध्यमका रूपमा अझ विकास र विस्तार हुन्छ भन्ने लाग्छ।

समुद्र सतहबाट ३ हजार ३ सय ३३ मिटर उचाइमा रहेको मैयुम विशाल खर्क हो। मौसमअनुसार फुल्ने विभिन्न प्रजातिको फूल यहाँको भव्य सौन्दर्य हो। यो ठाउँबाट नवजात शिशु सूर्य र अस्ताउन लागेको वृद्ध सूर्य छर्लंगै देख्न सकिन्छ।

विश्वका अग्लामध्ये लहरै उभिएका आठ हिमाल र तराईका फाँटिला मैदान एकसाथ देख्न सकिन्छ। यस्तो प्राकृतिक सुन्दरतामा अवस्थित मैयुमका गोठहरूमा पगुेको दिन किराती मुन्दुमी संस्कृति अनुसार हामीलाई भव्य स्वागत गरियो। गोठालाहरूले गोठमा राडी ओढाई दूध र कुरौनी खुवाइदिएर पुख्र्यौली सजीव दुनियाँमा पुर्‍याए।

गोठ र गोठालासँगै आफैं चौंरी दुहुने, आफैं दूध तताउने, कुराउनी कोर्ने, आफैं मही पारेर घिउ खाने, कुहिरोभित्र भेडीको बथानसँग हिँड्ने, फोटो खिच्ने, चिसोमा हिउँसँग रमाउने, वर्षायाममा पानीको संगीत सुन्दै गोठमा सुत्ने !!

सँगै गएका लोकप्रिय तथा स्थापित व्यक्तित्व इन्द्रेणी परिवारका कृष्ण कँडेलले आफैं दूध दुहेको, रमाएको देखेर पनि पर्यटकहरू यसैगरी रमाउँछन् भन्ने मलाई लाग्यो। कृत्रिम जीवनबाट प्राकृतिक जीवनमा पुर्‍याउने र आफ्ना पुर्खाले भोगेको युग अनुभूति गराउने मैयुमका ती गोठहरू पर्यटन उद्योगमा विकास गर्न सकिने प्रबल सम्भावना हुन्। हरेक संस्कृतिहरू जब आयस्रोतसँग जोडिन्छ, तब त्यो जीवन्त हुँदै जान्छ भन्ने लागेर नै म त्यहाँ पुगें।

यसैगरी यस वर्ष तिहार मनाउन चाहिँ हामी चेपाङ बस्ती गयौं। चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने सप्रेनीको विकट पहाड महाभारत पर्वत शृंखलामा पर्दाे रहेछ। त्यो विकट पहाडमा जानुको पनि दुईवटा कारण थिए– एक, चेपाङको संस्कृति बुझ्न। अर्काे, पर्यटन उद्योगसँग चेपाङ जातिलाई कसरी जोड्न सकिन्छ भनेर।

चिउरी र चेपाङको सम्बन्ध गज्जबको हुँदो रहेछ। मलाई त लाग्यो– चेपाङ र चिउरी भनेको मान्छे र प्रकृतिको गहिरो सम्बन्ध देखाउने ऐना हो। चेपाङहरूले छोरी जन्मेपछि चिउरी रोप्दा रहेछन्। चिउरीसँग त छोरीको जीवन जोडिएको हुँदो रहेछ। छोरी बढ्दै जान्छ र रोपेको चिउरी 
पनि छोरीसँगै बढ्दै जान्छ। बिहेपछि छोरीलाई त्यही चिउरी दाइजो दिइँदो रहेछ।

जब चिउरीको फूल फुल्छ, माहुरीले रस चुसेर मह बनाउँछ र मह चेपाङहरूको गुनिलो खाद्य बन्छ। जब चिउरी फल्छ, चेपाङहरू फलफूलको रूपमा खान्छन् र रक्सी पनि बनाउँछन्। रक्सी आफूलाई पनि हुन्छ र पाहुनाहरूको सत्कारका लागि सगुन बन्छ।

चिउरीमा चमेरा आउँदो रहेछ र ती चमेरा मारेर मासु खाँदा रहेछन्। पौष्टिक आहाराको स्रोत बन्दो रहेछ चिउरी। पात टिप्छन्, टपरा सिलाउँछन्। डाला झारेर बाख्रालाई घाँस खुवाउँछन्। बाख्रा बेचेर जीवन चलाउँछन्। हाँगा झार्छन् र दाउरा बाल्छन्। घरको टेको खाँबो पनि चिउरीकै बनाउँदा रहेछन्। 

राज्यको मन्त्री भएर चेपाङको स्थिति बुझ्दा मेरो मन कटक्क मात्रै खाएन, आफैंलाई आफैंदेखि लाज पनि लाग्यो।

चेपाङहरूका लागि चिउरी केवल रुख नभएर संस्कृति र समाज थाम्ने एउटा खम्बा पो रहेछ। यो संस्कृतिलाई ‘ब्रान्डिङ’ गर्न सके पर्यटनमा नयाँ स्वाद र आकर्षण थपिँदैन र !

पछिल्लो जनगणनाअनुसार चेपाङको जनसंख्या ८४ हजारभन्दा बढी रहेछ। हामीले देख्यौं, एकाघरको परिवारमा एक चेपाङ बाजेको १९ जना छोराछोरी रहेछन्। हामीले सोध्यौं, ‘किन यति धेरै छोराछोरी ?’ ती बाजेले भन्नुभयो, ‘आधा मरे पनि आधा बाँच्छन् नि।’ नागरिकको यस्तो अवस्था हेर्दा लाग्यो कि हामीले धेरै काम गर्नुपर्ने रहेछ।

हामी तिहारमा पुग्दा चेपाङहरूले छरेको फापर चाँदीजस्तै सेताम्मे फुलेको थियो। यो एक हिसाबले मनमोहक नै थियो। घरघरमा सेलरोटी पाकिरहेको थियो। यो पनि रहरलाग्दो नै थियो।

पुग्नलाई त त्यहाँ रोटीजस्तै फनफनी घुमेको कच्ची मोटरबाटो पुगेको रहेछ। तर, त्यो सडक पनि उनीहरूको निधारमा मुजा परेको दुःखको रेखाजस्तै मात्र भएको रहेछ।

भिरालो पाखा, पाखामा फाँडिएको भष्मे खोरिया अनि त्यो श्रम गराई हेर्दा लाग्यो– मान्छेले जति पनि दुःख गर्न सक्ने रहेछ। यति दुःख गर्दा पनि खान बाह्रैमहिना नपुग्ने रहेछ। चार महिना गिठ्ठा–भ्याकुर खाएर जीविका गर्नुपर्ने रहेछ। राज्यको मन्त्री भएर चेपाङको स्थिति बुझ्दा मेरो मन कटक्क मात्रै खाएन, आफैंलाई आफैंदेखि लाज पनि लाग्यो।

null

चेपाङ बालबालिकाले हामीसँग एकछिन देउसी खेले। हामीले जाडोको कपडा प्रदान गर्‍यौं। उनीहरूले देउसी गीतबाट आफ्नो मार्मिक कहानी सुनाए। पढ्न नपाउँदाको दुःख, खान नपाउँदाको दुःख, लगाउन नपाएको दुःख, राज्यबाट हेपिनु परेको दुःख, सबैसबै गीतमै बोलेका थिए।

उनीहरूलाई भेटेर फर्केपछि लाग्यो– ‘यति धेरै दुःख गर्ने चेपाङहरूलाई बाझिँदै गएको उब्जाउ जमिन उपलब्ध गराई उत्पादित बस्तु राज्यले किन्ने प्रबन्ध गर्न सके गाँस र बास सुनिश्चित हुन्थ्यो। सँगसँगै शिक्षा र स्वास्थ्य निःशुल्क गरिदिन सके, उनीहरूको सांस्कृतिक धरोहर सुरक्षित गर्दै पर्यटन र अर्थतन्त्रसँग जोड्न सके समाजवादउन्मुख व्यवस्था स्थापनाको एउटा जिम्मेदारी वहन हुन्थ्यो।’

र, यो पनि लाग्यो– अति पछाडि परेका वर्ग र समुदायको क्रमशः उत्थान गर्दै लैजान पहिलो चरणमा चेपाङहरूबाट सुरुआत गर्न सकिने रहेछ। जसले जनतामा गतिलो सन्देश प्रवाह हुन सक्थ्यो। 

– किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.