चलचित्र र वृत्ताचित्रहरूको डिजिटाइजेसन इतिहास र संस्कृतिको सुरक्षा हो

चलचित्र र वृत्ताचित्रहरूको डिजिटाइजेसन इतिहास र संस्कृतिको सुरक्षा हो
चिरञ्जीवी गुरागाईं

चिरञ्जीवी गुरागाईं नेपाली चलचित्र तथा वृत्ताचित्रहरूका अभिलेखविद् र पुनर्स्थापनाकर्ता हुन्। हाल चलचित्र विकास बोर्डमा चलचित्र अभिलेख, सूचना तथा सम्बन्ध अधिकारीको रूपमा सेवा गर्दै आएका उनले नेपाली वृत्ताचित्र तथा पुराना चलचित्रहरूको संरक्षणमा महत्तवपूर्ण योगदान दिएका छन्। नेपालले विश्वव्यापी चलचित्र उद्योगमा आकर्षक फड्को मारिरहेको छ। यद्यपि हाम्रो देशभित्रै भने चलचित्र संरक्षणको आवश्यकताको महत्त्वका बारेमा चेतना जगाउनु आवश्यक छ।

नेपाली नागरिकमा सिनेमाको माध्यमबाट मनोरञ्जन लिने लामो समयदेखिको परम्परा रहे पनि चलचित्रलाई हाम्रो सामाजिक र सांस्कृतिक सम्पदाको प्रतिनिधित्व गर्ने अभिन्न कलाको रूपमा यसको भूमिकाको कदर गर्नुको सट्टा व्यावसायिक उद्यमको रूपमा हेर्ने प्रवृत्ति छ।

चलचित्र व्यापार मात्र नभई संस्कृति, कला र सिर्जना मिश्रित व्यापार हो। यसर्थ पनि हाम्रो चलचित्र सम्पदाको बृहत् अभिलेख राख्न अत्यन्त जरुरी छ। पुरानो प्रविधि सेलुलोइड ढाँचाहरूमा उत्पादन गरिएका चलचित्रहरू तथा वृत्ताचित्रहरू संरक्षणका लागि उनले डिजिटलाइजेसनमार्फत विशेष योगदान दिएका छन्। यसै विषयमा उनीसँग अन्नपूर्ण पोस्ट्ले गरेको कुराकानी :


तपाईंले चलचित्र विकास बोर्डमा काम गरिरहनुभएको छ। तपाईंलाई चलचित्र संरक्षण र पुनर्स्थापनातर्फ कुन कुराले आकर्षित गर्‍यो ?

२०१६ को नोभेम्बरमा फेस्टिभल इन्टरनेसनल डे फिल्म्स डे फ्रिबर्गका कला निर्देशक श्री थियरी जोबिनले सन् २०१७ मा हुन गइरहेको महोत्सवको ३१औं संस्करणमा ‘न्यु टेरिटरीः नेपाल’ नामक विशेष क्याटेगरी घोषणा गरे। सो क्याटेगरीमा २० वटा लामा र छोटा नेपाली चलचित्रहरू प्रदर्शन गर्ने लक्ष्य राखिएको थियो। मलाई र फिल्ममेकर रामकृष्ण पोखरेललाई ती चलचित्रहरू छनोट गर्ने जिम्मेवारी दिइएको थियो। त्यसबेला यो प्रयास निकै चुनौतीपूर्ण साबित भयो किनकि हामीले फेस्टिभलका लागि यी चलचित्रहरूको ३५ एमएम प्रिन्टहरू वा डिजिटल रूपमा मास्टर गरिएका प्रतिलिपिहरू पत्ता लगाउनु पर्ने थियो।

चलचित्र विकास बोर्डको चलचित्र अभिलेखमा नेपाल सरकारले निर्माण गरेका फिचर फिल्महरूको प्रिन्ट राखिएको थियो तर दुःखको कुरा ती नाजुक अवस्थामा थिए र प्रदर्शनका लागि अनुपयुक्त थिए। यसलाई सम्बोधन गर्न मैले युमेटिक, बेटा एसपी, मिनिडिभी र भीएचएसजस्ता ढाँचाहरूमा सामग्री राखिएको नेपाल टेलिभिजनको टेप पुस्तकालय अभिलेखमा पहुँच पुर्‍याएँ। त्यसरी हामीले नेपाली चलचित्रहरू ‘सिन्दूर’, ‘कुमारी’ र ‘वासुदेव’ छनोट गर्‍यौं। त्यही सिलसिलामा हामीले यी चलचित्रहरूलाई अंग्रेजीमा सबटाइटलसहित डिजिटल प्रणालीमा परिवर्तन गर्‍यौं।

हामीले गरेको मेहनत सो महोत्सवमा सानदार रूपमा सफल बन्यो। अन्तर्राष्ट्रिय दर्शकहरू, विशेषगरी स्विस दर्शक जसले लगभग हरेक स्क्रिनिङमा भाग लिएका थिए, उनीहरूमाझ नेपाली चलचित्र देखाउन सफल भयौं। सो महोत्सवमा हाम्रो सफलतापछि दिग्गज चलचित्र निर्देशक तथा अभिनेता नीर शाहले भारतमा नेपाली चलचित्र महोत्सव आयोजना गर्ने प्रस्ताव गर्नुभयो। पुणे इन्टरनेसनल सेन्टर (पीआईसी) ले पहल गरी सन् २०१७ जुलाई २८ देखि जुलाई ३१ सम्म नेसनल फिल्म आर्काइभ अफ इन्डियामा ‘इन् द ल्याप अफ द हिमालयज ः अ फेस्टिभल अफ फिल्म्स फ्रम नेपाल’ शीर्षकको यो महोत्सव आयोजना गरेको थियो। यस कार्यक्रमका लागि १२ वटा नेपाली चलचित्र छनोट गरिएका थिए। जसमध्ये केहीले एकेडेमी अवार्डमा आधिकारिक रूपमा नेपालको प्रतिनिधित्व पनि गरेका थिए।

कार्यक्रममा सहभागी हुने क्रममा भारतीय सहकर्मीहरूले मलाई चलचित्र पुनर्स्थापना, संरक्षण र डिजिटलाइजेसनसम्बन्धी आगामी कार्यशालामा उपस्थित हुन सुझाव दिए। यो कार्यशाला फिल्म हेरिटेज फाउन्डेसनले इन्टरनेसनल फेडरेसन अफ फिल्म आर्काइभस्सँगको सहकार्यमा आयोजना हुँदै थियो। अक्टोबर २०१७ मा भारतको चेन्नईको प्रसाद ल्याबमा हुने तय भएको थियो। सो कार्यशालामा भाग लिन मैले पूर्ण छात्रवृत्ति प्राप्त गरें। यो मेरो करियरको टर्निङ प्वाइन्ट साबित भयो किनकि यसले मलाई नेपालमा चलचित्र अभिलेखविद् र संरक्षणवादीको रूपमा काम गर्ने बाटो खुला गर्‍यो। यसले हाम्रो पहिलो डिजिटाइजेसन र पुनर्स्थापना परियोजनालाई पनि अघि बढ्न मद्दत गर्‍यो। दुई वर्षको अवधिमा हामीले सफलतापूर्वक 
१० फिचर फिल्महरू र लगभग एक सय वृत्तचित्रहरू सबै फोरके रिजोल्युसनमा डिजिटलाइज गर्न सफल भयौं।

कुन फिल्मको पुनर्स्थापनाले तपाईंलाई सबैभन्दा बढी सन्तुष्टि दिएको छ र किन ?
नेपाल सरकारले निर्माण गरेका १० वटा फिचर फिल्महरू, जसमा पहिलो नेपाली चलचित्र ‘आमा’ र पहिलो रंगीन चलचित्र ‘कुमारी’ लगायतका अन्य चलचित्रको पुनर्स्थापना भएकोमा मैले ठूलो सन्तुष्टि पाएको छु। यी चलचित्रहरूको पुनर्स्थापना प्रक्रिया चुनौतीपूर्ण थियो। यसमा म्यानुअल काम गर्नुपर्ने थियो।

चलचित्रहरू निकै पुराना भएकाले प्राविधिक रूपमा कमजोर भइसकेको थियो। अधिकांश ध्वनि तथा नेगेटिभमा क्षति पुगेको थियो। ती चलचित्रहरू डिजिटलमा आउन सक्छन् भन्ने आशा थियो तर विश्वास थिएन। हाम्रो टिमको लगातारको मेहनत र इच्छाशक्तिले हामी सफल रह्यौं। ‘हिजो, आज भोलि’, ‘परिवर्तन’, ‘सिन्दूर’, ‘के घर, के डेरा’, ‘शान्ति दीप’, ‘बदलिँदो 
आकाश’, ‘जीवनरेखा’ र करिब १०० वटा डकुमेन्ट्री सबै नै विशेष छन्।

हाल कुन कुन चलचित्रमा काम गरिरहनु भएको छ ?

हाल ‘माइतीघर’, ‘बासुदेव’, ‘मुकुन्डो’, ‘नुमाफुङ’, ‘सिलु’ र थप केही महत्त्वपूर्ण नेपाली सिनेमाहरूलाई डिजिटलाइजेसन र पुनर्स्थापनामा लागिपरेको छु। नेपाल चलचित्र विकास कम्पनी लिमिटेडबाट दुई सयभन्दा बढी चलचित्र संकलन गरी पुनर्स्थापना गर्दै ‘नेपालको सिनेमा सम्पदा बचाउने’ अभियानमा छु। यसको लागि म भर्खरै क्यानडाको नेसनल फिल्म बोर्ड र क्यानडाको फिल्म संरक्षण केन्द्रको लाइब्रेरी भ्रमण गरी नवीनतम प्रविधि र अभ्यासबारे जानकारी लिएर फर्केको छु।

यस क्षेत्रमा काम गर्ने उत्प्रेरणा कसरी जाग्यो ?

फिल्म हेरिटेज फाउन्डेसन अफ इन्डिया र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट मिलिरहेको प्रशंसा मेरा लागि महत्त्वपूर्ण छ। नेपालको चलचित्र सम्पदा जोगाउन मेरो अटल समर्पणलाई सम्मान गर्दै ती संस्थाहरूले सम्मान तथा पुरस्कार प्रदान गरेका छन्। ती सबै मेरा उत्प्रेरणा हुन्।

गत वर्ष फिल्म हेरिटेज फाउन्डेसनले नेपालको फिल्म सम्पदाको संरक्षण गर्ने उद्देश्यले डिजिटलाइजेसन परियोजनाको सुरुआत गरेकोमा मलाई प्रतिष्ठित ‘च्याम्पियन्स अफ फिल्म हेरिटेज अवार्ड’ प्रदान गरेको थियो। भारतको मुम्बईमा आयोजित ‘सातौं फिल्म संरक्षण र पुनर्स्थापना कार्यशाला भारत २०२२’ को उद्घाटन समारोहमा प्रख्यात अभिनेता बोमन इरानीले मलाई यो पुरस्कार हस्तान्तरण गरेका थिए।

नेपालमा चलचित्रको संरक्षण र पुनर्स्थापना कार्य अनुकूल बनाउन कसरी सकिन्छ ?
हरेक चलचित्रको संरक्षण र पुनर्स्थापना महत्त्वपूर्ण छ। तर नेपालमा यसका लागि अपर्याप्त स्रोतहरूका कारण चुनौतीपूर्ण छ। राज्यले यी बहुमूल्य सम्पत्तिहरूको संरक्षणमा ध्यान दिन जरुरी छ। फिल्ममेकरहरू पनि यसबारेमा निकै सचेत रहनुपर्ने देखिन्छ। पछिल्लो समय विकास भएको डिजिटल प्रविधिले काम गर्न छरितो त बनाएको छ तर चलचित्रलाई लामो समय कसरी जोगाउने भन्ने विषयमा कम ज्ञान भएका कारण धेरै चलचित्र हराउँदै गएका छन्।

चलचित्रहरूको दीर्घकालीन रूपमा सुरक्षित भण्डारण अत्यन्त जरुरी छ। चलचित्र विकास बोर्डमा चलचित्र अभिलेख सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारीको रूपमा राष्ट्रिय चलचित्र भण्डारण स्थापना गर्न समर्पित छु। यसमा केन्द्रीय र स्थानीय सरकारहरूले पर्याप्त रकम छुट्ट्याउन र पहलहरू सुरु गर्नु आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.