बालबालिकामा ग्याजेटको असर

बालबालिकामा ग्याजेटको असर

कक्षा ५ मा पढ्दै गरेका सबल स्कुलमा रहेका बेलाबाहेक अरु समय मोबाइल बिना बस्नै सक्दैनन्। मोबाइलमा चार्ज सकियो भने टीभी चाहिन्छ उनलाई। यी दुई चिजबाहेक अरु कुनै कुराको वास्ता हुन्न। स्कुलबाट आएपछि खाजा पनि अरुले खुवाउनुपर्छ। गृहकार्य पनि अरुले जबर्जस्ती गराउनुपर्छ। नत्र, त ब्याग छुने पनि होइन। सबलकी आमा सरिता दुखेसो पोख्दै भन्छिन्, 'सानो बेलामा आफ्नो सजिलोको लागि मोबाइल, टीभीमा भुलाइयो। थाहै नपाइ यसको लत बसिसकेछ। ठूलो हुँदै गएपछि पढाइतिर लाग्छ। मोबाइल टीभीको लत छुटिहाल्छ नि भन्ने लागेको थियो। त्यसो नहुँदो रहेछ। झन् गाह्रो हुँदै गइरहेको छ। कसरी छुटाउने होला यो लतबाट?'

प्रविधिको विकासले आधुनिक समयमा मान्छेको जीवनशैली अत्यन्त सहज भएको छ। हरेक कामकाज छिटो, छरितो भएकाले विकासको गति तीव्ररूपमा अघि बढेको अवस्था छ एकातिर भने, अर्कोतिर मानवीय क्षमतामाथि नै आघात पुर्‍याएको अवस्था छ। यसरी नै विद्युतीय प्रविधिको विकास र प्रयोग बढ्दै जाने हो भने प्रविधिबिनाको मानव बाँच्न पनि नसक्ने अवस्थामा नपुग्ला भन्न सकिन्न। 

अझ विशेषगरी यसबाट बालबालिका अधिक प्रभावित भएका छन्। अहिलेका बालबालिका हरेक दिन ४ देखि ६ घण्टासम्म डिजिटल स्क्रिन (मोबाइल, ट्याब्लेट, ल्यापटप, टिभी आदि)मा समय बिताउने गरेको तथ्यांकले देखाउँछ। एसियन मुलुकमा गरिएको एक सर्वेक्षणअनुसार १२ देखि १८ वर्षसम्मका बालबालिकामध्ये ६२ प्रतिशत बालबालिकाको हातमा स्मार्ट फोन छ। यसले यो पनि बताएको छ कि स्कुल पढ्ने बालबालिकामध्ये दुई तिहाइ बालबालिकामा इलेक्ट्रोनिक ग्याजेटको एडिक्सन छ। आजका दिनमा हरेक अभिभावक यसप्रति सचेत हुनुपर्ने देखिन्छ। त्यसको लागि उनीहरूले देखाउने लक्षणका बारेमा बुझ्नु आवश्यक हुन्छ। 

लक्षण
- सुरु-सुरुमा खाली समय हुने बित्तिकै कुनै पनि डिजिटल स्क्रिनको अगाडि आफूलाई राख्न खोज्छ।
- बिस्तारै यो क्रम बढ्दै गएर जतिखेर पनि त्यो चिज चाहिने हुन थाल्छ। खाना खाँदा, सुत्ने बेलामा, पाएसम्म रातभरि, बिहान उठ्ने बित्तिकै पनि चलाइरहने हुन्छ।
- यदि इन्टरनेटमा समस्या आयो वा करेन्ट गयो भने छटपटिने, चिडचिड हुने गर्छ।
- खानपानको वास्ता नगर्ने, व्यक्तिगत सरसफाइ (नुहाउने, लुगा धुने, कपाल काट्ने, नङ काट्ने)तिर ध्यान नदिने, आफ्नो स्वास्थ्यप्रति ख्याल नगर्ने, समयको ख्याल नगर्ने (दिन रात जतिखेर पनि ग्याजेटमै तल्लिन रहने)।
- घरभित्र मात्र रहन खोज्ने, कसैसँग बोलचाल, हेलमेल गर्न नरुचाउने हुन्छ। यतिसम्म कि आफ्ना परिवारका सदस्यले बोल्दा पनि झर्को मान्ने, रिसाउने हुन्छ। 
- पढाइप्रति विल्कुलै ध्यान नदिने, स्कुल नजानको लागि बहाना बनाउने, गइहाले पनि पढाइतिर ध्यान एकाग्र गर्न नसक्ने हुन्छ। 

जीवनको सबैभन्दा महत्वपूर्ण समय जन्मेदेखि अझ भन्नुपर्दा गर्भदेखि १८ वर्षसम्मको समय हो। यो समयमा नै मानव शरीरको तीव्र विकास, मस्तिष्कको पूर्ण क्षमता, भावनात्मक अनुभूति तथा सामाजिक सीपको विकास हुने भएकोले बालबालिकाको अधिकतम समय पढ्ने, लेख्ने, खेल्ने, कुद्ने, विभिन्न सामाजिक कार्यमा सरिक हुने तथा आफूलाई भविष्यको सफल व्यक्तिको रुपमा स्थापित गर्न आधार बनाउने समय हो। यो समयमा ग्याजेटको एडिक्सन भएमा बालबालिकामा थुप्रै समस्याहरू देखिन सक्छन्।

शारीरिक समस्या : यो उमेर बालकको क्रियाशील हुने उमेर हो। त्यसैले उमेरअनुसार जतिसक्यो बढी खेल्ने, कुद्ने, व्यायाम गर्नाले शरीरको उचित विकास हुन्छ। शारीरिक क्षमता वृद्धि हुन्छ। तर गतिहीन अवस्थामा दिनमा ४/५ घण्टासम्म एकै ठाउँमा ग्याजेटसँग बस्दा शरीरका मांशपेशीहरू दुख्ने, ढाड, गर्दन, काँध, टाउको दुख्ने समस्या आउँछ। मोटोपन, डायबेटिज, पाचनसँग सम्बन्धित रोग लाग्न सक्छ। 

अनिद्राको समस्या : राति अबेरसम्म मोबाइल चलाइरहने बानीले सुत्ने समय निश्चित हुँदैन। यसले निद्रामा गडबडी ल्याउँछ। मोबाइलबाट निस्कने ब्लु रेजले निद्रा लगाउने रसायन (मेलाटोनिन)लाई डिस्टर्ब गर्छ। यसको कारणले निद्रा आउँदैन। सबैभन्दा मुख्य कुरा सुत्नु अगाडि जे सुनिन्छ वा हेरिन्छ, रातभरि दिमागमा त्यही चलिरहन्छ। आजभोलिका बालबालिकाले मोबाइलमा गेम खेल्छन्। ती गेमहरू सबै लडाइँ, झगडा, डरलाग्दा क्रियाकलाप भएका हुन्छन्। सुतेपछि त्यही दृश्य दिमागमा आइदिन्छ। त्यसैले उनीहरू राम्ररी मस्त निद्रा लिन सक्दैनन्। लामो समयसम्म यो अवस्था रहेमा अनिद्राको समस्या आउन सक्छ। 

आँखाको समस्या : आजभोलि साना बच्चाहरूलाई काखमा राखेर खाना खुवाउँदा पनि आमाहरूले मोबाइल देखाएर खुवाउन थालेका छन्। मोबाइल नदेखाई खाना नै खाँदैन भन्छन् कतिपय महिलाहरू। के उनीहरू थाहा छ यसको असर त्यो कलिलो बच्चाको आँखामा कति पर्छ भनेर? यसको कारणले बिस्तारै आँखाको शक्ति कमजोर हुँदै जान्छ र आँखा नदेख्ने पनि हुनसक्छ।  त्यसैले त आजभोलिका बच्चाको आँखामा सानैदेखि चश्मा लगाउनु परेको छ। 
 
संज्ञानात्मक समस्या : अत्याधिक ग्याजेटको प्रयोगले बालबालिकामा विशेषगरी शैक्षिक समस्या (पढाइ, लेखाइ सम्बन्धित समस्या) देखिएको छ। पढाइमा ध्यान एकाग्र गर्न नसक्ने, कुनै पनि कुरा सिक्न कठिनाइ हुने, पढाएको कुरा सम्झन नसक्ने, बुझ्न नसक्ने, केही बुझेको कुरा पनि राम्रोसँग प्रस्तुत गर्न नसक्नेजस्ता समस्याले गर्दा पढाइको स्तर घट्दै गएको छ। 

मानसिक तथा व्यवहारिक समस्या : ग्याजेटको अत्याधिक प्रयोगले बालबालिकालाई सानैदेखि विभिन्न खालका मानसिक समस्याहरू देखिन्छन्। रिसाउने, झर्कने, बिना कारण रुने, झगडा गर्ने, तोडफोड गर्नेजस्ता नकारात्मक व्यवहार देखाउँछन् भने तनाव, चिन्ता, डिप्रेशन, मुड स्वीङ, अनिद्रा, आवेगमा आउनेजस्ता मानसिक समस्याहरू पनि देखिन्छन्। 

सामाजिक समस्या : उनीहरूको सम्पूर्ण समय ग्याजेटमा बित्ने हुनाले घरपरिवारका अन्य सदस्य, इष्टमित्र, साथीभाइ, छरछिमेक कसैका बारेमा पनि चासो हुँदैन। चासो नभएका कारणले जानकारी पनि हुँदैन। उनीहरू केवल भर्चुअल संसारमा रमाइरहेका हुन्छन्। वास्तविक संसारको बारेमा अनभिज्ञ हुन्छन्। त्यसैले उनीहरू बाहिर निस्कन, बोल्न, कुनै पारिवारिक, सामाजिक क्रियाकलापमा सहभागी हुन चाहँदैनन्। यसको कारणले उनीहरूमा आत्मविश्वासको कमी, सहयोगी भावनाको कमी, समाजमा समायोजन हुन नसक्नेजस्ता सामाजिक समस्याहरू आउन सक्छ। 

यीबाहेक पनि इलेक्ट्रोनिक ग्याजेटको अत्याधिक प्रयोगले अन्य धेरै समस्याहरू निम्त्याउन सक्छ। बोल्नै नजानेका साना बच्चालाई मोबाइल, टीभी धेरै देखाउँदा चुपचाप हेरिरहने हुनाले बोल्ने अभ्यास हुन पाउँदैन। बोल्ने अभ्यास नहुँदा स्वर यन्त्रको राम्ररी विकास हुन सक्दैन र सिक्न पर्ने कुरा सिक्न पनि पाउँदैन। यसको कारणले बच्चा ढिलो बोल्ने, राम्ररी प्रष्ट बोल्न नसक्ने हुन सक्छ। जिज्ञासा उत्पन्न हुने शक्ति हराउँछ। सिर्जनात्मक तथा रचनात्मक क्षमतामा बाधा पुग्छ। प्रतिभा आफैंभित्र विलीन हुन्छ।  

कुन उमेरका लागि कति समय
हरेक चिजको दुई पक्ष हुन्छ सकारात्मक र नकारात्मक। प्रविधिको विकास पनि मानव समुदायको लागि वरदान र अभिशाप दुबै हुनसक्छ, त्यो केवल प्रयोग कर्तामा निर्भर हुन्छ। बालबालिकाको सन्दर्भमा विज्ञहरूले एउटा आदर्श समय निर्धारण गरेका छन्। त्यो निम्नअनुसार छ-
३ वर्षभन्दा कम उमेरको बच्चालाई ० मिनेट (ग्याजेटबाट टाढा राख्ने)
३ देखि १२ वर्षसम्म ३० मिनेट
१२ देखि २१ वर्षसम्म ६० मिनेट 
२१ देखिमाथि २ घण्टा
यो समय पढ्ने विद्यार्थीको सन्दर्भमा लागू हुन्छ। अन्यको लागि आफ्नो कामको प्रकृतिले समय निर्धारण गर्छ। 

ग्याजेटको लत लाग्नबाट कसरी जोगाउने

सानै उमेरदेखि बच्चालाई डिजिटल स्क्रिनमा बानी पार्नु, कोभिडको कारण अनलाइनमा पढ्न बाध्य हुनु, सहरीया क्षेत्रका बालबालिका बाहिर निस्केर खेल्ने वातावरण नहुनु, मानसिक तनाव हटाउने साधनको रुपमा प्रयोग हुनु, यसको उचित प्रयोगको ज्ञान नहुनुजस्ता जे जति कारणले इलेक्ट्रोनिक ग्याजेटको लत बसेको भए पनि यो समयमा बसेको लतले बालबालिकाको चौतर्फी विकासमा बाधा पुर्‍याउँछ। सम्बन्धित विज्ञका अनुसार ग्याजेटको लत कुनै पनि ड्रग्सभन्दा कम असरदार हुँदैन। 

विश्व समाजमा महामारीको रूपमा व्याप्त भएको इलेक्ट्रोनिक ग्याजेटको लत लाग्नबाट आफ्ना छोराछोरीलाई जोगाउनको लागि अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ। यसको लागि अभिभावक रोल मोडल बन्नुपर्छ। घरमा डिजिटल स्क्रिनको लागि समय सीमा निर्धारण गर्नुपर्छ। त्यसको पालना अभिभावकले गर्नुपर्छ र बच्चालाई यस विषयमा अनुशासित रहन प्रेरित गर्नुपर्छ। बच्चाको प्रतिभा र चाहना पहिचान गर्नुपर्छ। बच्चाको प्रतिभा प्रस्फुटनको लागि उसको चाहना अनुरुपको काम गर्न उसलाई सहयोग गर्नुपर्छ। बच्चालाई भौतिक आवश्यकता पूर्तिका साथै भावनात्मक सम्बन्धको प्रगाढताको महसुस गराउन सक्नुपर्छ। ता कि बच्चालाई कुनै किसिमको भावनात्मक समस्या (निराशा, चिन्ता, दिक्दारी, डर, दुःख) पर्दा खुलेर आफ्ना आमाबाबुसँग व्यक्त गर्न सकोस् र त्यसको उचित समाधान पनि प्राप्त गरोस्। यसको लागि भर्चुअल संसारमा भौतारिन नपरोस्। 

फुर्सदको समयमा बच्चाको रुचीअनुसार खेलकुद, योगा, व्यायाम, संगीत, नृत्य, चित्रकला, प्राकृतिक स्थलको भ्रमण आदिमा संलग्न गराउनुपर्छ। विहान र बेलुकाको खाना परिवारका सबै सदस्यसँगै बसेर कुनै पनि इलेक्ट्रोनिक डिभाइस बिना खाना खानुपर्छ। यी काम गर्न गराउनका लागि अभिभावक आफू र आफ्नो बच्चाप्रतिपूर्ण रूपमा सचेत हुनुपर्छ। सचेत अवस्थामा मात्र सकारात्मक कार्यको लागि रुची बढ्छ। आफ्नो बच्चाको उज्ज्वल भविष्यको लागि धैर्यताका साथ, व्यस्तताको बाबजुद हरेक दिन उसको उमेरअनुसार माया, प्रेम, शिक्षा दिँदै जाने हो भने सिर्जनशील, सभ्य, सुसंस्कृत बनाउन सकिन्छ। 

स्कुल कलेजले तपाईंको बच्चालाई पूर्ण ज्ञान दिन सक्दैन। त्यहाँभन्दा बाहिर ठूलो संसार छ। त्यसको ज्ञान केवल अभिभावकले मात्र दिनसक्छ। त्यसैले हरेक बच्चाको लागि सबभन्दा ठूलो विश्वविद्यालय उसको परिवार हो र आमाबाबु उसका प्राध्यापक।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.