यसो गरे हात्तीबाट क्षति कम हुन्छ
पछिल्लो समय कोशी प्रदेशमा हात्तीको बिज्याइँ बढिरहेको छ। यसले मानवीय र भौतिक क्षति पुर्याउँदा स्थानीय आक्रोशित हुनु स्वाभाविकै हो। तर, यहाँ बुझ्नुपर्ने कुरा के हो भने, ‘हात्तीले यसो किन गर्छ ?’ मानवीय स्वभाव र व्यवहारको कारण पनि हात्तीले यो रूप देखाएको हो।
हात्ती बस्तीनजिक आएपछि धपाउन ठूलो संख्यामा स्थानीय भेला भएर होहल्ला गर्ने, आगो बाल्ने तथा विभिन्न भाँडाकुँडा बजाएर हात्तीलाई त्रसित बनाउने काम गर्छन्। अनि, हात्ती आक्रोशित भएर मानिसलाई आक्रमण गर्छ।
विशेष गरेर वर्षमा २ पटक जंगली हात्ती बस्तीमा देखा पर्ने गरेका छन्। असार–साउन तथा कात्तिक–मंसिरमा हात्तीको असर बढी देखिने गरेको छ। यसवर्ष भने पुसको दोस्रो सातासम्म हात्तीले दुःख दिइरहेको छ। असारदेखि पुससम्म लगाइने अन्नबाली हात्तीलाई धेरै मन पर्छ। अहिले त्यो नेपालको पूर्वी भेगमा प्रशस्तै पाइन्छ। हात्तीले धान, मकै, गहुँ, केरा र उखु मन पराउँछ। जंगलमा आहार नपाइँदा खानेकुराको खोजीमा हात्ती बस्तीनजिक र बालीनाली लगाएको स्थानतर्फ आउने गरेको देखिन्छ।
चिसो बढ्दै गएर जंगलमा आहारा पाउन छाडिएपछि अहिले जंगली हात्ती बस्ती छिरेर क्षति गरिरहेका छन्। कृषकले लगाएको बालीनाली खाइदिन्छन्। अर्कोतर्फ हात्ती हिँड्ने परम्परागत बाटो अतिक्रमणको चपेटामा परेको छ। जताततै घर, सडक र नहरहरू बनेका छन्। हात्तीले हिँड्न परम्परागत बाटो प्रयोग गर्छ।
हात्ती आइहाले जिस्क्याउने, सेल्फी खिच्ने र तर्साउने गर्न हुँदैन। मानवीय क्षति कम गर्नका लागि होहल्ला र हात्तीलाई अवरोध पुग्ने काम गर्न हुँदैन।
(संरक्षण अधिकृत यादव कोशीटप्पु वन्यजन्तु आरक्षका निमित्त प्रमुख हुन्।)