पुँजीवादको राजनीति
पुँजीवादमा ‘उपभोग’ नै असमानताको ठूलो चालक हो। पुँजीवाद लोभमा फैलिन्छ र चुसेर बाँचिरहन्छ।
पुँजीवादी आर्थिक प्रणालीमा निजी कम्पनीहरूद्वारा देशको व्यापार, उद्योग र नाफालाई नियन्त्रण गरिन्छ। यसमा व्यक्तिले सम्पत्तिमा स्वामित्व राखीे वित्तीय बजारको नियन्त्रण गर्छन्। अधिक नाफा कमाउन वेलगाम बजारमा माग र आपूर्तिका आधारमा मूल्य तय गर्छन्। यो चक्रले समाजको हितलाई किनार पार्छ र पुँजीवादको नाफा कमाउने मुख्य उद्देश्य पूरा हुन्छ।
आजको दुनियाँमा उपलब्ध आर्थिक प्रणालीमध्ये पुँजीवाद सर्वश्रेष्ठ होइन। नवमाक्र्सवादीहरूले पुँजीवादको विकल्पमाथि वकालत छेडेका छन्। यो बहसले यस प्रणालीमा तरंग ल्याएको छ। नेपाली अर्थतन्त्रमा पुँजीवादले कार्य गर्ने तरिकाका बारेमा लामो समयदेखि सवाल उठिरहेका छन्। यी तर्कले पुँजीवादका पक्षमा राखिएका अनुमानहरूलाई चुनौती दिइरहेका छन्। यहाँको पुँजीवादी प्रणालीमा फस्टाएको निजी नाफाले राष्ट्रिय आयलाई तहसनहस पारेकाको नाङ्गो सत्य हो। राष्ट्रिय व्यापार घाटा स्वतन्त्रता खोस्ने औजार बन्दै छ। यसले सुरक्षित र सवल राष्ट्रिय अर्थतन्त्रको भविष्यलाई भीरबाट लडाएको छ।
पुँजीवादको होडले ल्याएको जलवायु संकटले हाम्रो सामूहिक भविष्यमाथि गम्भीर खतरा परेको छ। गरिबीको रेखामुनि बस्ने लाखौं नागरिकको उठीबास भइरहेको छ। यस सवालमा हाम्रो सरकार र सभासदहरू गैरजवाफदेही हुनु अक्षम्य छ। यता, समाजमा बेरोजगारी समाधान बाहिर पुगेको छ। सम्भावना बोकेका युवाको स्वदेशी पुँजीवादप्रति मोहभंग बढ्दो छ। अतन्तः यसले राष्ट्रिय अर्थतन्त्रको दिगोपनका हकमा खनेको खाडल पुर्न हाम्रो राज्य प्रणाली असफल भएको छ।
पुँजीवादले पुँजी र श्रमबीचको अन्तहिन वर्गद्वन्द्व सिर्जना गरेको छ। सामाजिक असमानतामा सम्पत्ति सञ्चयको चक्रले धनी र गरिबबीच तनाव बढेको छ। नाफाको खोजीमा भ्रष्टाचार बढेको छ। प्रदूषणयुक्त नकारात्मक बाह्य उत्पादनहरूले मौलिकतालाई अन्त्य गरी दिएको छ। पुँजीवादले नागरिकको जीवन प्रणालीलाई बाँधेको छ। जस्तो उपभोक्ता उपभोगमा ठगिन्छ। कामदार मालिकको जाँतोमा पिसिन्छ। जसको कम्पनीमा स्वामित्व छ, नाफा उसैको हो। पुँजीवादमा कामदारहरूले कम्पनीका लागि जति धेरै नाफा ल्याउँछन्, त्यस अनुपातमा लाभ पाउँदैन।
पुँजीवादी व्यवहार माग र आपूर्तिको सिद्धान्तमा आधारित छ। पुँजीवादको राजा ‘उपभोग’ हो। त्यसैले पुँजीवादमा ‘उपभोग’ नै असमानताको ठूलो चालक हो। पुँजीवाद लोभमा फैलिन्छ र चुसेर बाँचिरहन्छ। लोभले नाफा बढाउँछ र नाफाले नवप्रवर्तन र उत्पादनको विकास गर्छ। यसको मतलब त्यहाँ पुँजीपतिका लागि थप विकल्प उपलब्ध हुन्छन्। उनीहरूले समाजमा सस्तोमा श्रम किन्छन् र महँगोमा असुल गर्छन्। यसरी पुँजीवाद स्वभावतः यस युगको सबैभन्दा ठूलो शोषणकारी राजनीति हो। यसले धनीहरूको धन थुप्रेको थुप्रै छ। श्रमजीवी वर्गलाई लुटेको लुट्यै पनि छ। यसले राज्य र नागरिकबीच क्रूर विभाजनको रेखा कोरेको छ। समाजलाई आर्थिक द्वन्द्वमा फसाएको छ। आर्थिक–सामाजिक न्यायलाई खरानी बनाएको छ।
पुँजीको स्रोत ‘श्रम’ हो। जोन लकले सन् १६९० मा श्रमको स्वामित्वलाई व्यक्तिको अधिकारका रूपमा व्याख्या गरे। एडम स्मिथले श्रमलाई ‘सम्पत्तिका’ सबै स्परूपमध्ये सबभन्दा पवित्र तथा अनुलंघनीयको संज्ञा दिए। तर, अहिले पुँजीवादले प्रोत्साहित गरेका अन्तर्राष्ट्रिय निगमले विश्वभरि रहेका श्रम, बजार र उपभोक्ताको दोहन गरेका छन्। यसैका आधारमा ती निगमहरूले सञ्चय गरेको पुँजी विकासोन्मुख देशहरूको कुल राष्ट्रिय उत्पादनभन्दा बढी छ। वास्तवमा भन्नुपर्दा विश्व अर्थतन्त्रको लगाम तिनै निगमहरूको हातमा छ।
सन् १९९० पछि पुँजीवादका कारण उत्पादन प्रणालीबीचको प्रतिस्पर्धा चुलियो। अर्थतन्त्रभित्र एकाधिकारवादी पुँजीवादको विकास हुँदै आउँदा पुँजी सञ्चितीकरणका विभिन्न तह सिर्जना भए। पहिलो तह ‘केन्द्र’ अन्तर्गत अमेरिका, फ्रान्स, जापान, अष्ट्रेलियालगायतका राष्ट्रका बहुराष्ट्रिय कम्पनी परे। तिनले हतियारदेखि तेलको राजनीतिलाई प्रभाव पारी विश्व पुँजीमा आफूलाई निर्णायक बनाए। दोस्रो तहका अर्धपृष्ठ क्षेत्रका पुँजीपतिले कपडादेखि साना इलेक्ट्रोनिक वस्तुको बजार नियन्त्रण गरे। दक्षिण कोरिया, ताइवान, मेक्सिकोलगायत मुलुकका पुँजीपति र बहुराष्ट्रिय कम्पनी यो तहमा छन्। विकासोन्मुख देश र त्यहाँका नागरिक पृष्ठ क्षेत्रमा छन्, जोसँग स्रोत छ तर उत्पादन छैन, श्रम छ तर प्रविधि छैन। यो प्रक्रियाले मुठीभर कम्पनीलाई धनी बनाउँदै छ र श्रमिक वर्गलाई झन् बढी गरिब बनाउँदै छ। पुँजीवादी समाजभित्र दिन प्रतिदिन सघन बन्दै गएको केन्द्र, अर्धपृष्ठ र पृष्ठ क्षेत्रबीच पुँजीको असन्तुलनले बनाएको स्थति नै अबको विद्रहोकोे प्रमुख कारण हो।
पुँजीवादको यात्रामा असमानता, शोषण र परनिर्भरता कहालीलाग्दो रूपमा बढेको छ। यस्तो अवस्था अन्त्यका लागि पुँजीवाद र केन्द्रीकृत पुँजी सञ्चितीकरणको विकल्प खोज्नुपर्छ। अर्थशास्त्रका प्राध्यापक समिर अमिनले अविकसित देशको विकासका लागि पुँजीवादी अर्थव्यवस्थासँगको सम्बन्धलाई कटौती गर्दै राष्ट्र केन्द्रित विकासको नीतिलाई अवलम्बन गर्न अविकसित राष्ट्रहरूलाई सुझाएका छन्। यो परनिर्भरतालाई घटाउने र विश्व पुँजीवादको दुस्चक्रबाट तेस्रो विश्वलाई मुक्त गराउँदै उनीहरूलाई आत्मनिर्भर बनाउने उपाय भएको उनले सुझाए। अमिनको सुझावले विश्वमा विद्यमान पुँजीवादको नकारात्मकतालाई शनैशनै कम गर्दै लैजाने सम्भावनालाई नकार्न सकिन्न।
पुँजीवादले समाजका सबै सदस्यको संंयुक्त प्रयासको उपज पुँजी हो भन्ने मान्यतालाई त्यागेको छ। पुँजी एक सामाजिक शक्ति हो– अर्थशास्त्रका गुण र तर्कहरूले यसलाई पुष्टि गर्छ। पुँजीसम्बन्धी साहित्य र यसको ऐतिहासिक विश्लेषणमा स्मिथ, माक्र्स, जे.एम. किन्स र स्कुिम्पटरका दृष्टिकोण गलत छैनन्। हरेकले श्रम र पुँजीबीच परिवर्तनका दृश्यतर्फ हाम्रो ध्यान तानेका छन्। पुँजीवादका डरलाग्दा बिम्बहरूले सम्पूर्ण विश्वलाई किचिराखेको छ। यो यथार्थ परिदृश्यले पुँजीवादको सफलता र बिफलताको बिम्बलाई हाम्रो सामु ल्याएको छ।
पुँजीवादी राजनीति ढाँचालाई परिवर्तन नगर्ने हो भने यो अव्यावहारिक र जटिल बन्दै जानेछ। समाजमा व्यवहार र प्रवृत्तिका बीचमा एउटा दूरी हुनेछ, जुन दूरीले पुँजीवादी समाजका लागि ऊर्जा भरिरहन्छ। तसर्थ, पुँजीवादले यस्तो दूरीलाई आफ्नै जोखिममा सहन्छ वा प्रोत्साहित गर्छ। यता, आगामी पुस्ताका आवश्यकता र मागबाट प्राप्त हुने अवसर र व्यवहारबीचमा पुँजीवादको लगाम निर्भर रहने प्रष्ट छ। राजनीतिमा पुँजीवादको पूर्णविकल्प खोज्न कठिन होला। तर, कम्तीमा यसको ढाँचामा ल्याउन सकिने परिवर्तन र पुनर्संरचनाको हाँकले भविष्यमा समस्या कम गर्दै लैजानेछ भन्ने धारणा चाहिँ सत्य हो।
पुँजीवादको यात्रामा असमानता, शोषण र परनिर्भरता कहालीलाग्दो रूपमा बढेको छ। यस्तो अवस्था अन्त्यका लागि पुँजीवाद र केन्द्रीकृत पुँजी सञ्चितीकरणको विकल्प खोज्नुपर्छ।