झापाको कुखुरा फर्ममा फेरि आगलागी
झापा : झापा गाउँपालिकाको कुखुरा फर्ममा फेरि आगलागी भएको छ । झापा– ३ स्थित फूलबारी टोलमा सञ्चालित कुखुरा फर्ममा आइतबार बेलुका साढे ७ बजे आगलागी हुँदा अन्दाजी १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीय मानबहादुर खड्काले सञ्चालन गरेको टु ब्रोदर्श पोल्टी फर्म आगलागी भएको हो । आगलागीबाट सिमेन्टको पिलर, खरको छानो, तारजाली तथा प्लास्टिकको बेरा भएको कुखुरा फर्म र फर्ममा रहेका एक हजार बोइलर कुखुरा, २२ बोरा कुखुराको दाना र अन्य सरसामानसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी भएको १५ मिनेटमै सबै जलेर नष्ट भएको थियो।
बिमा समेत नभएको फर्ममा आगलागी हुँदा कृषक पीडामा छन् । विद्युत् सर्ट भएर आगो नलागेको र यसमा कसैको हात हुने फर्मका सञ्चालिका इन्दिरा खड्काले दाबी गरिन् । गत पुस ८ गते झापा गाउँपालिकास्थित राइजिङ कृषि फर्ममा आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।
झापा–६ स्थित युवा टोलमा खेम राई, देउमान गुरुङ, गणेश भट्टराई, मनमाया राई, सपना राई र अनिता राईले संयुक्त लगानी सञ्चालित राइजिङ कृषि फर्ममा आगलागी हुँदा तीन हजार बोइलर कुखुरा, कुखुराको दाना र अन्य सरसामान जलेर नष्ट भएको छ।