विराटनगरको नोबेल अस्पतालमा आर्थिक अपचलन, तीन जना कर्मचारी पक्राउ
विराटनगर : विराटनगरको नोबेल शिक्षण अस्पतालमा कर्मचारीकै संलग्नता र मिलेमतोमा आर्थिक अपचलन भएको घटना बाहिर आएको छ।
अस्पतालको ‘क्यास काउन्टर’मा कार्यरत कर्मचारीकै संलग्नतामा रकम हिनामिना गरिएको हो। अस्पतालको रकम अनियमितता गरेको आरोपमा ३ जना कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, सुनसरीको दुहवी नगरपालिका-१२ का २९ वर्षीय राजेशकुमार फौदार र विराटनगर-४ का ३० वर्षीय करणदेव विश्वास रहेका छन्।
पक्राउ परेका तीनै जना कर्मचारीलाई ‘क्यासियर’को जिम्मेवारी दिएर अस्पतालले नियुक्त गरेको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अस्पतालले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको हो।
बराल र फौदारलाई पुस १० गते तथा विश्वासलाई पुस १३ गते पक्राउ गरिएको उनले बताए। पक्राउ परेकाविरुद्ध आपराधिक विश्वासघात मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी दाहालले दिए।
उनका अनुसार उपचारका लागि भर्ना भएका बिरामीसँग अस्पतालले लिनुपर्ने रकम उनीहरूले अपचलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘क्यासियर’को जिम्मेवारीमा रहेका कर्मचारीले ‘बिलिङ काउन्टर’मा बसेर बिरामीसँग उपचारवापतको सम्पूर्ण रकम लिने र अस्पताललाई भने थोरै मात्र देखाउने गरेको पाइएको दाहालको भनाइ छ।
‘बिरामीको उपचारवापतको सबै शुल्क लिएर आफूले राख्ने र अस्पताललाई भने कमको हिसाब देखाउने गरेको पाइयो,’ उनले भने, ‘महँगो सेवा लिएका बिरामीले सस्तो सेवा लिएको देखाएर समेत अनियमितता गरेको खुलेको छ।’
यस विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै डीएसपी दाहालले अनुसन्धान सकिएपछि सबै कुरा यकिन हुने जानकारी दिए। उनका अनुसार पक्राउ परेका तीनै जना कर्मचारीको रकम अनियमितता गर्ने तरिका एउटै छ।
नोबेल शिक्षण अस्पतालका महाप्रबन्धक दिपेश राईले बिरामीसँग बढी पैसा लिने र अस्पताललाई कम देखाउने गरेको पाइएपछि कर्मचारीविरुद्ध कारबाही अघि बढाउन प्रहरीको सहयोग लिएको बताए।
राईका अनुसार पक्राउ परेका कर्मचारीले कति रकम हिनामिना गरे भन्ने खुल्न बाँकी छ। ‘कति वर्षदेखि र कति रकम अनियमितता गरेभन्ने खुलेको छैन। सबै विवरण निकालेपछि मात्रै यकिन हुन्छ,’ उनले भने, ‘हिसाब किताब निकाल्ने काम तीव्र रूपमा भइरहेको छ। एक-एक गरेर बिलहरू केलाउँदैछौं।’
अनियमिततामा अरू पनि केही कर्मचारी शंकाको घेरामा परेको जानकारी राईले दिए। उनका अनुसार कर्मचारीले कति रकम हिनामिना गरेभन्ने पत्ता लगाउन अस्पताल प्रशासनले आन्तरिक हिसाबबाट छानबिन थालेको छ। ‘लेखापरीक्षण शाखा र लेखा शाखालाई छानबिनको जिम्मा दिइएको छ,’ उनले भने, ‘छानबिनको अन्तिम विवरण प्राप्त भइसकेको छैन।’ लाखौं रकम हिनामिना भएको अनुमान गरिएको उनको भनाइ छ।
अस्पतालमा उपचार र स्वास्थ्य परीक्षणका लागि दैनिक १ हजार ५ सयजति बिरामी आउने गरेको राईले बताए। दैनिक सयभन्दा बढी बिरामीले बेडमा भर्ना भएर उपचार गराउने गरेको उनको भनाइ छ।