विद्यालयको स्वर्ण जयन्ती मनाउन ४७ लाख सहयोग
![विद्यालयको स्वर्ण जयन्ती मनाउन ४७ लाख सहयोग](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_EuEqyctQIi_erHYkYGsEY.jpg)
परासी : नवलपरासीको बर्दघाट नगरपालिका भूताहास्थित राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण जयन्ती मनाउनका लागि ४७ लाख सहयोग जुटेको छ।
जसमा सबैभन्दा बढी पूर्वविद्यार्थीले १५ लाख बढी सहयोग उपलब्ध गराएका छन्। विद्यालयमा अध्ययन गरी अहिले विभिन्न स्थानमा रहेका विद्यार्थीहरूले स्वतस्फूर्त रुपमा १५ लाख ८६ हजार पठाएको स्वर्ण महोत्सव मूल समिति संयोजक बिक्रम खनालले जानकारी दिए। पूर्वविद्यार्थीहरूसँगै अन्य संघ संस्था र सहयोगीदाताहरूबाट सहयोग रकम संकलन भएको हो।
जसमध्ये बर्दघाट नगरपालिकाबाट १० लाख, चार वटा वडा कार्यालयबाट ६ लाख ५० हजार, विभिन्न संघ संस्थाबाट ४ लाख १३ हजार, धन धान्यान्चल महायज्ञबाट उठ्न बाँकी रहेकोमध्ये ४ लाख ५५ हजार, विद्यालयका शिक्षकहरूबाट ४ लाख २५ हजार र अन्य सहयोगीदाताबाट १ लाख ९४ हजार गरी कुल ४७ लाख २३ हजार रुपैयाँ संकलन भएको संयोजक खनालले जानकारी दिए। जयन्ती मनाउन करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान छ।
पुस १५ गतेदेखि सुरु भएको स्वर्ण जयन्ती कार्यक्रम २१ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइँदै छ। २०२७ सालमा स्थापना भएको विद्यालयले तीन वर्षअघि स्वर्ण जयन्ती मनाउने कार्यक्रम राखे पनि विभिन्न विवादका कारण मनाउन सकेको थिएन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)