मोरङमा जंगली हात्तीलाई गोली हानेर मारेको पुष्टि
विराटनगर : मोरङमा जंगली हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ। मारेपछि हात्तीको पुच्छर गायब बनाइएको छ। गोली हान्ने समूहको पहिचान भइसकेको छैन। वन कार्यालयका अनुसार अन्दाजी १२ देखि १५ वर्ष उमेरको जस्तो देखिने भाले हात्ती सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडास्थित जनजागरण सामुदायिक वनभित्र सोमबार बिहान मृत फेला परेको थियो।
सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले हात्तीको देब्रेतर्फको खुट्टाभन्दा माथि र घाँटीनजिक गोली लागेको पाइएको जानकारी दिए।
उनका अनुसार कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको पशु चिकित्सकको टोलीले पोस्टमार्टम गरेर हात्तीको शरीरभित्रबाट गोली निकालेको छ। ‘भरुवा बन्दुकले प्रहार गरेजस्तो देखिन्छ। बाहिरको भाग छेडेर गोली मुटुमै पुगेको रहेछ,’ माझीले भने, ‘वन्यजन्तुको चोरी–सिकारी गर्ने समूहले गोली हानेको हो। प्रहरीसँग समन्वय गरेर त्यो समूहको खोजी भइरहेको छ।’
उनका अनुसार घटनाको प्रकृति हेर्दा चरिरहेका बेला हात्तीलाई बिहानका राति सिकारी समूहले गोली हानेको हुनसक्छ। यस घटनाको अनुसन्धानका लागि वन्यजन्तु विज्ञ र पशु चिकित्सकसहितको टोली घटनास्थल पुगेका थिए।
हात्ती मृत फेला परेको जानकारी स्थानीयले ८:५० बजेतिर प्रहरी र वन कर्मचारीलाई गराएका हुन्। त्यसलगत्तै वन कर्मचारी र प्रहरीको टोली पुगेर घटनास्थललाई सुरक्षित राखेको थियो। कोसी टप्पु वन्यजन्तु आरक्ष तथा डिभिजन वन कार्यालय मोरङको टोली घटनास्थल पुगेपछि पोस्टमार्टम र अनुसन्धानको प्रक्रिया अघि बढेको सब डिभिजन वन प्रमुख माझीले बताए।
‘गोली हानेर मारिएको हात्तीको पुच्छर गायब पारिएको छ। मारेपछि काटेर पुच्छर लगेको पाइयो,’ उनले भने, ‘गोलीले शरीरको देब्रेतर्फको भाग छेडेको अवस्थामा बाटोमा हात्ती मृत फेला परेको हो। भाले हात्ती लगभग १२ देखि १५ वर्षसम्मको हुनसक्छ।’
माझीका अनुसार बिहान ४:३० बजेतिर घटनास्थल आसपासमा बन्दुक पड्किएको आवाज सुनेको जानकारी स्थानीयले गराएका छन्। घटनास्थल नजिकै सामुदायिक वनको नर्सरी छ। नर्सरीभित्र चरिरहेका बेला हात्तीलाई गोली ठोकिएको हुनसक्ने माझी बताउँछन्।
नर्सरीभित्र रगत लतपतिएको छ। गोली लागेपछि घस्रिँदै र रन्थनिदै तालजाली भत्काएर नर्सरीबाट निस्किएको हात्ती बाटोमा आइपुगेपछि ढलेको पाइएको माझीले बताए। उनका अनुसार नर्सरी र हात्ती ढलेको ठाउँ लगभग सय मिटरजतिको दूरीमा छ।
माझीका अनुसार घटनास्थल रगताम्य थियो। गोली लागेपछि हात्तीले रगत बान्ता गरेको उनको भनाइ छ। उनका अनुसार वनको नर्सरीदेखि हात्ती मृत भेटिएको स्थानसम्म रगतैरगत थियो। पोस्टमार्टमपछि हात्तीको दाहसंस्कार गरिएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले हात्ती मार्नेको पहिचान भइनसकेको बताए। घटनामा संलग्नको खोजीका लागि वन कार्यालयसँग समन्वय गरेर इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहालको नेतृत्वमा प्रहरी परिचालन गरिएको जानकारी उनले दिए। घटनामा सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए।
कोसी टप्पु वन्यजन्तु आरक्षका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले संरक्षित वन्यजन्तु हात्ती मारिनु दु:खद् भएको बताए। ‘झापा र मोरङमा गरेर यो वर्ष मात्रै चारवटा हात्ती मृत फेला परिसकेका छन्। यो एकदमै दु:खद् घटना हो,’ उनले भने, ‘हात्तीलाई मान्छेपछिको बुद्धिमानी जनावर मानिन्छ। संरक्षण गर्नुपर्ने वन्यजन्तुलाई मार्नु गलत हो।’ यादवका अनुसार पोस्टमार्टमको प्रारम्भिक प्रतिवेदनबाट पनि गोली हानेर हात्ती मारेको प्रष्ट भएको छ।
मारेपछि हात्तीको पुच्छर काटेर लैजानु अर्को आश्चर्यको विषय भएको उनले बताए। ‘हात्तीको पुच्छर त्यस्तो केही काममा प्रयोग भएको मलाई थाहा छैन। तर, आजकाल हात्तीको पुच्छरसहितको सुनको बाला लगाउने ‘फेसन’ चलेको छ,’ यादव भन्छन्, ‘त्यसकै लागि काटेर लगेको हुनसक्छ। हात्ती मार्ने गिरोहलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउनुपर्छ।’
भारतबाट नेपाल प्रवेश गरेका जंगली हात्तीको बथानले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा उपद्रो मच्चाइरहेको छ। सबैभन्दा धेरै झापा र मोरङमा क्षति गरिरहेको हो। हात्तीको आक्रमणबाट साउनयता झापामा ५, मोरङ र सुनसरीमा १/१ गरेर ७ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचामा दैनिकजसो हात्तीको हुल देखिन्छ। उक्त हुलमा २७ वटाभन्दा बढी हात्ती रहेको हात्ती विज्ञहरू बताउँछन्। हात्तीले मान्छे मार्नेदेखि सर्वसाधारणले लगाएका बालीनाली खाइदिने तथा क्षति पुर्याउने गरिरहेको हो। कोशीका तराईका जिल्लामा गत मंसिर पहिलो साताबाट हात्तीको वितण्डा बढेको छ।