नयाँ वर्ष मनाउन आएका दुई भारतीय नागरिकको अटो दुर्घटनामा परी मृत्यु, चारजना घाइते
रौतहट : चन्द्रपुर–५ मा सोमबार राती अटो दुर्घटना हुँदा दुईजना भारतीय नागरिकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको चिडियादह चोकबाट सर्लाही जाँदै गरेको ट्यांकरले बागमतीस्थित नुनथरबाट आउँदै गरेको अटोलाई ठक्कर दिँदा अटोमा सवार दुई भारतीय नागरिकको मृत्यु भएको हो ।
नुनथरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई अम्लेखगञ्जबाट सर्लाही जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षीय पिंकु सिंह र २२ वर्षीय अवधेश राम रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
मृतक दुवैजना अंग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित नुनथर गएका थिए । टेम्पो चढेर चन्द्रनिगाहपुरतर्फ आउँदै गर्दा ट्यांकरले ठक्कर दिएको थियो । दुर्घटनामा चारजना घाइते भएका छन् । उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्यांकर चालक रौतहटको दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षीय प्रविण साहलाई नियन्त्रणमा लिएर अनुशन्धान थालेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।