तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो : चिसोबाट बच्न अनुरोध
काठमाडौं : आज तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार
हुस्सु कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ।
त्यस्तै पश्चिमी वायुको प्रभावले आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
बुधबार र बिहीबार पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने साथै उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।