सशस्त्र द्वन्द्वमा धेरै ज्यान गुमाउनेमा रोल्पाली

सशस्त्र द्वन्द्वमा धेरै ज्यान गुमाउनेमा रोल्पाली
रोल्पा सदरमुकाम लिवाङ। तस्बिर : खेम बुढा मगर

रोल्पा : जिल्ला प्रशासन कार्यालय रोल्पाका अनुसार जिल्लामा सहिद र बेपत्ताको संख्या नै झन्डै एक हजार छ। १० वर्षे सशस्त्र द्वन्द्वमा सबैभन्दा धेरै जनाले ज्यान गुमाएको जिल्ला नै रोल्पा हो।

नेपाल सरकारले २९ फागुन २०७९ मा सशस्त्र द्वन्द्वकालमामा परी मृत्यु भएर सहिद घोषणाका लागि सिफारिस गरिएका भनेर सार्वजनिक गरेका ८ हजार ४ सय ६४ सहिदमध्ये रोल्पाका मात्र ७ सय ५३ जनाको नाम छ। जुन देशभरीका सहिदमध्ये रोल्पाका ८.८९ प्रतिशत हुन आउँछ। यद्यपि रोल्पा सशस्त्र द्वन्द्वमा रोल्पामा मृतकको संख्यामा एक रूपता देखिँदैन। स्थानीय शान्ति समितिले प्रकाशित गरेको पुस्तक भाग–२ मा ९ सय ६९ जना सहिद भएको रिपोर्ट जिल्ला प्रशासन कार्यालय रोल्पामा बुझाएको छ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे राज्यपक्षबाट ७ सय ६२, विद्रोही पक्षबाट १ सय ६५ र पहिचान नभएका ११ जना सहिदका परिवारले जनही १० लाख रुपैयाँका दरले रकम बुझेको बताउँछन्। उनले भने, ‘त्रिवेणी गाउँपालिकामा बम विस्फोटमा मृत्यु भएका थप चार जनालाई सहिदकै कोटीमा राखेर जनही पाँच/पाँच लाख रुपैयाँ प्रदान गरिएको छ। थप पाँच लाख उपलब्ध गराउन मन्त्रालयमा पत्राचार गरेका छौं। नाम भएर पनि रकम नपाएका १० जना छन्। छुट भएका भनेर स्थानीय तहको सिफारिसमा १७२ जना सहिदको नाम पनि केन्द्रमा पठाइएको छ।’ 

नेपाल सरकारको राजपत्रका आधारमा लुम्बिनी प्रदेशमा सहिद हुनेमा एक नम्बरमा रोल्पा पर्छ। प्रदेशका १२ जिल्लामा गरी दुई हजार २०८ जना सहिद भएकोमा एकतिहाइ बढी अर्थात् ३४.१० प्रतिशत त रोल्पाका मात्र छन्। रोल्पामा सहिदभन्दा बेपत्ताको संख्या निकै कम छ। ४ चैत २०७६ मा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका २ हजार ५ सय ६ जनाको नाम सार्वजनिक गरेको थियोे। जसमा रोल्पाका बेपत्ताको संख्या ९७ रहेको उल्लेख छ। आयोगको तथ्यांकमा लुम्बिनी प्रदेशमा बढी बेपत्ता हुने जिल्लामा रोल्पा चौथो नम्बरमा पर्छ। लुम्बिनी प्रदेशमा ७ सय ६८ जना बेपत्ता छन्। जसमध्ये रोल्पाका १२.६३ प्रतिशत छन्।

आयोगले सूचना नै प्रकाशित गरेर बेपत्ता पारिएका व्यक्तिको दर्ता भएका उजुरीका आधारमा नाम सार्वजनिक गरेको जनाएको थियो। जबकी रेडक्रस सोसाइटीको अन्तर्राष्ट्रिय समिति –आईसीआरसी)ले सार्वजनिक गरेको बेपत्ताको सूचीमा रोल्पामा बेपत्ताको संख्या ६५ मात्र रहेको छ। स्थानीय शान्ति समिति रोल्पाका तत्कालीन संयोजक खेम बुढा मगर रोल्पामा ३३ जना बेपत्ता भएको बताउँछन्।

राज्यले सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका सबै ब्यक्तिलाई सहिद घोषणा गरेर सहिद परिवारलाई जनही १० लाख रुपैयाँ दिन थालेपछि जिल्लाका ३२ जना बेपत्ताका परिवारले पनि सहिदमा नाम दर्ज गराउँदा बेपत्ताको संख्या घटेको देखिन्छ। जिल्लामा बेपत्ता परिवारको नाममा ३३ परिवारले जनही १० लाखका दरले रकम बुझेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे बताउँछन्। रोल्पामा राजनीतिक पहुँच नभएका कारण अझै पनि मृतक र बेपत्तामा नाम लेखाउन नसकेका पीडित पनि छन्।  

रोल्पाका १० स्थानीय तहमध्ये सातवटामा नेकपा (माओवादी केन्द्र)ले जितेको छ। रोल्पा नगरपालिका सुनील स्मृति गाउँपालिका, लुंग्री गाउँपालिका, सुनछहरी गाउँपालिका, थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिका र माडी गाउँपालिकामा माओवादी जितेको छ। रुन्टीगढी र गंगादेव गाउँपालिकामा नेपाली कांग्रेस र त्रिवेणी गाउँपालिकामा नेकपा (एमाले)ले जितेको छ।

सुनछहारी, रोल्पा र सुनील स्मृति, थवाङमा द्वन्द्वपीडित लक्षित केही कामहरू भए पनि पर्याप्त छैनन्। अन्य स्थानीय तहले त द्वन्द्वपीडितका लागि नीति, योजना र कार्यक्रम नै ल्याउन नसकेको पीडितको आरोप छ। सामाजिक अभियन्ता डाँगी टिप्पणी गर्छन्, ‘स्थानीय सरकारले द्वन्द्वपीडितको घाउमा मल्हम लगाउन सक्थ्यो। द्वन्द्वपीडितहरू स्थानीय सरकारको प्राथमिकतामा परेका छैनन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.