विश्वव्यापी आर्थिक संकटका बाछिटा

विश्वव्यापी आर्थिक संकटका बाछिटा

आँकलनअनुसार हालको मन्दीले फक्रँदै गएका बजार र विकासशील अर्थतन्त्रलाई दूरगामी प्रभाव पार्नेछ।

विश्वको आर्थिक वृद्धि सन् २०२४ मा २.२ प्रतिशत रहने देखिएको छ। जुन गत वर्षको प्रक्षेपणभन्दा ०.१ प्रतिशतले कम हो। यो भनेको ‘दि इकोनोमिस्ट’को प्रकाशक ‘इकोनोमिक इन्टेलिजेन्स युनिट’ले सन् २०२३ को तेस्रो त्रैमासिकमा गरेको ‘विश्व आर्थिक परिदृश्य’को प्रक्षेपण हो। भनिएको छ– ‘खास रूपमा यसले युरोपको बजारलाई सीधा प्रभाव पार्नेछ। चीनको बजारमा मध्यम प्रभावसहित आर्थिक वृद्धि यथावत् कायम रहनेछ।’

यसमा इजरायल–हमास युद्ध दायरा फराकिलो बन्नु, युक्रेन–रुस युद्ध लम्बिनु, अमेरिका–चीन दूरी बढ्नुजस्ता सामरिक कारणलाई ठोस आधार मानिएको छ। विश्वव्यापी आर्थिक संकट निम्त्याउन सक्ने जोखिमलाई दृष्टिगत गर्दा राजनैतिक, आर्थिक, वातावरणीय तथा सैनिकीयलाई प्रमुख मानिन्छ। अझ निर्णायक त राजनीतिक पक्ष नै हो। जहाँबाट विकासजन्य कायान्तरणको आधारशिला तय हुन्छ।

अर्थात्, राजनीतिक स्थिरता रहनु अति उत्तम। स्पष्ट आर्थिक नीतिसहितको कार्यगत एकरूपता धिमा गतिमा चलाउन सकियो भने पनि आर्थिक परिवर्तन सम्भव छ। यसै भनाइलाई एक अंग्रेजी वाक्यांशले अझ प्रस्ट पार्छ– धिमाहा तर दिगोले दौड जित्छ (स्लो एन्ड स्टिडी विन दि रेस)। हो, हामीले आर्थिक विकासमा यही रणनीति तय गर्नु बेस हुन्छ। जुन कुरा सिंगापुरमा ली क्वान यूले ६५ वर्षअघि तटस्थ कूटनीतिको आडमा रहेर तय गरेका थिए। दिगोपनाकै जगमा रहेर।

के बाछिटा परेकै हो ?

अमेरिकाका दुई बैंक सिलिकन भ्याली र सिग्नेचर गत २०२३ मार्चमा बन्द भए। ऋण असुलीमा व्यवधान भएर हैन, ब्याजदर वृद्धिका कारण ऋणपत्रको मूल्यमा गिरावट भएर। कतिले त यसलाई सन् २००७–०९ को विश्वव्यापी आर्थिक मन्दीको धङधङ्गीसमेत भनेका छन्। प्रथम विश्वव्यापी बाछिटाका रूपमा कोभिडलाई लिन सकिन्छ। जसको आर्थिक क्षयको लेखाजोखा यकिन गर्न सकिएको छैन। भनिन्छ, कोभिडको समयमा नेपालका बंैकहरू इतिहासमै सबैभन्दा बढी तरल भएका थिए। विश्व बैंक तथा नेपाल सरकारले समेत यस महामारीलाई एक कारकका रूपमा लिएका छन्, आर्थिक विकासको। विश्व र नेपाली आर्थिक बजारमा यसको असर कहिलेसम्म परिरहने हो ? त्यो पनि अनुमान गर्न कठिन छ।

विप्रेषणमुखी अर्थव्यवस्था नेपालको अर्को गतिशील र ठोस चुनौती हो। तथ्यांकअनुशार गत असोजमा विप्रेषण सबैभन्दा बढी वा १३६.९७ अर्ब भित्रियो। यो भनेको गत वर्षभन्दा १६.८ प्रतिशतले बढी हो। यो रेकर्ड ‘ब्रेक’ हुने सम्भावना हाल बिदेसिने नेपालीको संख्याले इंगित गर्दछ। यसलाई ‘मास एक्जोडस’भन्दा पनि फरक नपर्ला। विप्रेषणले नै मुलुकको समग्र वैयक्तिक र समष्टिगत अर्थव्यवस्थामा प्रभाव पार्नु स्वाभाविक रूपमा लाजमर्दाे कुरा हो।

सबैभन्दा प्रभावयोग्य संशाधन भनेको विवेकशील तथा दूरदर्शी नेता हुन्।

दोस्रो कुरा, प्राप्त विप्रेषण पनि अनुत्पादक क्षेत्रमा लगानी हुनु झन् दुर्भाग्य हो। विश्वमा सबैभन्दा बढी विप्रेषण भित्त्याउने मुलुक भारत हो। उसको पनि अर्थव्यवस्था कृषिमा आधारित छ। दुर्भाग्य, कृषिबाट हामी जानुपर्ने औद्योगिकीकरणतर्फ तर लाग्यौं विप्रेषणमुखी अर्थव्यवस्थातर्फ। कृषिजन्य परनिर्भरता चुलिनु अर्थतन्त्र मापक संयन्त्रमा ‘झन् खस्कँदो’ भन्ने बुझिन्छ। किनकि विश्वमा बढ्दो अर्थतन्त्र भएका मुलुक (टाइगर इकोनोमिज)मा कुल गार्हस्थ्य उत्पादनको सबैभन्दा ठूलो हिस्सा कृषिले ओगटेको पाइन्छ।

उच्च आयात पनि अर्थतन्त्रको सबलतालाई निर्धारण गर्ने एक तत्त्व हो। जसकारण व्यापार घाटाको अवस्था आउँछ। सोही कारण विदेशी विनिमय सञ्चितिको मात्रामा घटोत्तरी हुदाँ स्वदेशी बजारमा आन्तरिक प्रतिस्पर्धा हुँदैन। तसर्थ, समग्र अर्थतन्त्रमा असन्तुलन पैदा हुन्छ। स्वदेशी बजारमा आन्तरिक प्रतिस्पर्धा नहुनु भनेको हामीले अन्य मुलुकको सेवा या वस्तु खपत गर्नु हो। यो प्रक्रिया लामो हो जसको प्रभाव कालान्तरमा देखिन थाल्छ। जहाँ नेपालले भारत, चीन, संयुक्त अरब इमिरेट्स, अर्जेन्टिना र इन्डोनेसियाबाट अधिक आयात गर्दछ। जसको सबैभन्दा ठूलो हिस्सा भारतले ओगट्छ। अझ मनन्योग्य त यो छ कि नेपालले सबैभन्दा बढी निर्यात भारतमै गर्छ। सबैभन्दा बढी आयात पनि भारतबाट नै गर्छ। अर्थात्, नेपालको भुक्तानी सन्तुलन गरिदिने ठूलो बजार भारतीय बजार हो। हामीले अब आजको वैश्वीकरणको समयमा खुला बजार नीतिको आडमा विश्वबजारमा भारतको विकल्प खोज्नु जरुरी छ।

विश्वले सन् २००७ देखि २००९ सम्म ठूलो आर्थिक मन्दीको सामना गर्‍यो। जसमा विश्व बजारको व्यापार करिब १५ प्रतिशतभन्दा बढीले खुम्चियो। कुनै पनि मुलुकहरू अछुतो रहन सकेनन्। जसको ठूलो मारमा स्टोनिया पर्‍यो भनिन्छ। त्यसको धङधङ्गी स्टोनियाले व्यहोरिरहेको छ। तर, आकलनअनुसार हालको मन्दीले फक्रँदै गएका बजार र विकासशील अर्थतन्त्रलाई दूरगामी प्रभाव पार्नेछ।

बाछिटा पर्छ किन ?

पानी पर्दा स्वाभाविक रूपमा बाछिटा पर्छ नै। फरक पार्छ पानी पराईको मात्राले। ऊ बेला वा सन् २००७–०९ ताकाको आर्थिक मन्दीको बाछिटा नेपालको बजारमा नपरेको त हैन। तर कम पर्‍यो। यस मानेमा कम कि हामी कम आयातले धान्ने अवस्थामा थियांै। तर अहिले परिस्थिति ठ्याक्कै उल्टो छ। अर्कोतर्फ कोभिडको प्रकोपले हाम्रो निर्वाहमुखी अर्थतन्त्रलाई झन् थिलथिलो बनाइदियो। विश्वलाई एकै झट्कामा शिथिल बनाइदिने कोभिडको एक मसिनो बाछिटा नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकमा काफी हुन्थ्यो। सोही प्रकारको बाछिटा नेपाली बजारले झेल्नु पनि दुर्भाग्यसमेत थियो।

उच्च ब्याजदरलाई पनि यस्ता मन्दीका कारक तत्त्वका रूपमा लिइन्छ। जहाँ लगानीकर्ता उच्च ब्याजदरका कारण लगानी गर्न उत्सुक हुँदैनन्। बजारमा लगानीमैत्री रकम खपत नहुनु भनेको पुँजी बजारमा पैसाको व्यापार नहुनु हो भन्ने बुझिन्छ। लगानीका निमित्त रकम खपत नहुँदा रोजगारीमा घटोत्तरी हुनु स्वाभाविक हो। तसर्थ, उच्च ब्याजदरका कारण लगानीमा रकमको अचलायमानता मन्दीको कारक तत्त्व हो।

विश्व व्यापारको चलायमानताको आपूर्ति शृंखला अवरुद्ध हँुदा या सो को मात्रा कम हुँदा यस्ता मन्दी आउनु स्वाभाविक हो। विश्वमा यस्ता आर्थिक अवरुद्धता प्राकृतिक प्रकोप, विश्वव्यापी महामारी, राजनीतिक अस्थिरताजस्ता कारणले हुने गर्छन्। अर्थशास्त्रको भाषामा आपूर्ति शृंखला यस्तो पद्धति हो जसमा सेवा वा वस्तुको वहाव अन्तिम उपभोक्तासम्म पुग्ने गर्दछ। व्यापारिक हिसाबले विश्व बजारमा यसको ठूलो महत्त्व छ।

बाछिटा कम गर्न सकिन्छ त ?

यस्तो बेला विकसित अर्थव्यवस्था भएका मुुलुकले मौद्रिक नीतिलाई खुकुलो बनाउने गर्छन्। जसकारण ब्याजदरमा स्वतः गिरावट आउँछ। अर्थव्यवस्थामा ब्याजदर घट्नु भनेको लगानीमा प्रोत्साहन हुनु हो। ‘हेलिकप्टर मनी’को उपयोग पनि यस्ता मन्दीमा आवश्यक पर्छन्। ‘हेलिकप्टर मनी’ भन्नाले अर्थतन्त्रमा रकमको प्रवाह बढाउन प्रत्यक्ष रूपमा पैसा बाँड्ने विधि हो। तर, यो बढी काल्पनिक छ। यसको मूल उद्देश्य भनेको अर्थतन्त्रमा पर्याप्त मात्रामा रकमको प्रवाह गराएर मन्दीलाई कम गर्नु हो। यसो गर्दा मुद्रास्फीति दर उच्च हुने सम्भावना हुन्छ। यो अवधारणा सन् १९६९ तिर मिल्टन फ्रायडम्यानले ल्याएका हुन्।

अर्कोतर्फ विस्तारवादी वित्तीय नीति यस्ता मन्दीका औषधि सावित बन्न सक्छन्। यो भनेको खर्चमा बढोत्तरी गर्न सक्ने सरकारी संयन्त्र, जसको माध्यमवाट कुल मागलाई चलायमान बनाएर अर्थतन्त्र वृद्धि गर्न सकिन्छ। यसमा करको मात्रामा कम, उपभोग र आत्मविश्वासमा वृद्धि गर्नेजस्ता तत्त्व पर्छन्। सबैभन्दा प्रभावयोग्य संशाधन भनेको विवेकशील तथा दूरदर्शी नेता हुन्। जसले अर्थतन्त्रलाई देशको मेरुदण्डको रूपमा स्वीकार गरी समग्र आर्थिक विकासको खाका तय गर्दछ।
- पोखरेल, सिन्धुली बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.