मनास्लु क्षेत्रमा ९ हजार बढी विदेशी पर्यटक
गोरखा : गोरखाको मनास्लु क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै ९ हजार १७७ जना विदेशी पर्यटक पुगेका छन्। यसअघि सबैभन्दा धेरै पर्यटक आएको भनिएको सन् २०१७ सालमा भन्दा सन् २०२३ मा एक हजार पाँचसय जनाले धेरै पर्यटक आएका मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जनाएको छ।
छ वर्षअघि सन् २०१७ मा सातहजार छ सय ५५ जना विदेशी पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरेका थिए। सन् २०२३ मा नौ हजार १७७ जना विदेशी पर्यटकले भ्रमण गरेको एमक्यापका प्रमुख सन्तोष शेरचनले बताए। ‘यस वर्ष पर्यटकको आवागमन हेर्दा साह्रै सुखद देखिन्छ। आउँदो असारसम्म १२ हजार पर्यटकले भ्रमण गर्ने हाम्रो अनुमान छ,' शेरचनले भने। विगत चार वर्षमा कोभिडका कारण पर्यटकको संख्या ज्यादै न्यून थियो। आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा कम अर्थात जम्मा एक सय ९४ जनामात्र पर्यटक सो क्षेत्रमा पुगेका उनले जानकारी दिए।
गत वर्ष सबैभन्दा धेरै अक्टोबर महिनामा पर्यटकले भ्रमण गरेका हुन्। सो महिनामा सो क्षेत्रमा तीन हजार ३०५ जना पर्यटक पुगेका थिए। मनास्लु क्षेत्रमा सन् २०२२ मा छहजार १०२ विदेशी पर्यटकले भ्रमण गरेका थिए भने, कोभिड १९ महामारी मच्चिरहेको २०२१ मा ९२५ जनाले भ्रमण गरेका थिए। त्यस्तै २०२० मा ३७४, २०१९ मा सातहजार ५५५ जनाले र सन् २०१८ मा सातहजार ६५५ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए।
स्थानीय तह, प्रदेश तथा संघ सरकारले विस्तृतरूपमा योजना बनाएर लाग्ने हो भने मनास्लु क्षेत्र पर्यटक आकर्षित गर्नेमा विश्व नम्बर एक गन्तव्य बन्न सक्ने एमक्याप प्रमुख सन्तोष शेरचनले बताए। ‘सडकको साँटो केवलकारको व्यवस्था गर्ने, इको टुरिज्म विकास गर्ने हो भने मनास्लु क्षेत्र विश्व नम्बर वान बन्नसक्छ,' उनले भने, 'त्यसका लागि अहिले झैं सडक निर्माण नगरी यातायातका लागि केवलकार निर्माण गर्ने, वातावरणमैत्री संरचना बनाउनुपर्छ।’
एमक्यापमा आउने पर्यटकलाई सहजताका लागि विभिन्न पदमार्गको खोजी गर्ने, आवश्यक सूचनाहरु दिन सूचना केन्द्र निर्माण गर्नेजस्ता पूर्वधारहरू बनाएको उनले बताए। यसले आगामि दिनमा मनास्लु क्षेत्रमा आउने पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ। एमक्यापलाई अझै लोकप्रिय बनाउन स्थानीय तह, पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, टानजस्ता सम्बन्धित निकायहरुले विभिन्न प्याकेजहरु ल्याउनु पर्नेमा उनले जोड दिए।
सो क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिब्यक्ति एक हजार र अन्य राष्ट्रका पर्यटकले तीन हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ। पर्यटकले काठमाडौंको भृकुटीमण्डप र पोखराको ड्यामसाईटस्थित काउन्टरमा प्रवेशदस्तुर बुझाउनुपर्ने व्यवस्था छ। यी दुबै ठाउँमा प्रबेश दस्तुर शुल्क नबुझाएका पर्यटकले एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने एमक्याप प्रमुख शेरचनले बताए।
निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान छ। विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक हप्ताका लागि अनुमति दिने गर्छ। सो अबधिको भ्रमणका लागि पर्यटकले चुमभ्यालीका लागि सिजनमा प्रतिब्यक्ति ५० डलर र बेसिजनमा २५ र नुब्री भ्यालीका लागि प्रतिब्यक्ति सिजनमा ७० र बेसिजनमा ३५ डलर विभागमा बुझाउनुपर्ने छ।
एक हप्ताबाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउनुपर्ने छ। मनास्लु क्षेत्रअन्तर्गत चुमनुब्री गाउँपालिकाको ७ वटा वडा पर्छन्। साविकका सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ। जसमध्ये साविकका सामागाउँ, ल्हो, प्रोक र बिही गाविस नुब्री उपत्यकाका रुपमा चिनिन्छ भने चुम्चेत र छेकम्पार गाविस चुम उपत्यकाका रुपमा चिनिन्छ।
सो क्षेत्रमा बसोबास गर्ने तिब्बती(भोटे) समुदायको धार्मिक तथा सास्ंकृतिक अबस्था अध्ययन गर्न, प्राकृतिक दृश्यावलोकन, मनास्लु हिमाल आरोहणका लागि पर्यटकहरू आउने गरेका एम क्यापका प्रमुख शेरचनले जानकारी दिए। यस क्षेत्रमा विश्वको आठौं अग्लो मनास्लु हिमाल, ५ हजार एकसय ६ मिटर अग्लो लार्केपास, कालताल, वीरेन्द्रताल, अहिंसा क्षेत्र चुम उपत्यका, नुब्री उपत्यका आदिको अवलोकन गर्न पर्यटक जाने गर्छन्। सन् १९९५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुल्ला गरिएको हो।