रघुगंगामा करिब पाँच करोड थप बजेट विनियोजन
बेनी : म्याग्दीको रघुगंगा गाउँपालिकाले करिब पाँच करोड रुपैयाँ थप बजेट बाँडफाँट गरेको छ। मौवाफाँटमा मंगलवार सम्पन्न १६ औँ गाउँसभाले गाउँपालिकाको मौज्दात रहेको ४ करोड ९५ लाख ५१ हजार ८२६ रकम विभिन्न ८२ वटा योजनामा विनियोजन गरेको हो।
गत असारको गाउँसभामा बाँडफाँड नभएको बजेटलाई गाउँसभामार्फत् विकास निर्माणका पूर्वाधार निर्माणको क्षेत्रलाई प्राथमिकता दिएर बाँडफाँड गरिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार गाउँपालिकाभित्र अधुरा रहेका योजना, सडक मर्मत, विद्यालय पूर्वाधार निर्माण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ। गत असारमा सम्पन्न १५ औँ गाउँसभाले रघुगंगामा चालु आर्थिक बर्ष २०८०-०८१ का लागी ४३ करोड ५७ लाख ८७ हजार ६०० रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको थियो।
गाउँसभाबाट गाउँपालिकाको आर्थिक ऐन समेत संसोधन गरिएको छ। सभालाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले विकास निर्माणका योजनालाई सम्झौता र कार्यान्वयनमा जुट्न कर्मचारी, वडाका जनप्रतिनिधि र उपभोक्ताहरु सक्रिय हुन निर्देशन दिए। गाउँपालिकाले चालु आर्थिक बर्षको हालसम्म कुल बजेटको १९ प्रतिशत बजेट खर्च गरेको छ। पुँजीगततर्फ ३ प्रतिशत र चालुतर्फ २३ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाका लेखा अधिकृत खगराज सुवेदीले जानकारी दिए।
उपभोक्ता समितिमार्फत कार्यान्वनय हुने योजनाहरुको लगत स्टिमेट तयार गरि धमाधम सम्झौताको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बताए।
कार्यक्रममा रघुगंगा गाउँपालिकाले एसइइ परीक्षा २०७९ मा औसत जिपिएका आधारमा २.७७ जिपिएसहित गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याएकोमा ज्ञानोदय माविलाई सम्मान गरिएको छ। उक्त अवसरमा हालै गाउँपालिकाको चौथो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको मैत्रीपूर्ण भलिबल खेलमा बिजेता बनेको जनप्रतिनिधिको समूहले बिजेता बापतको नगद पुरस्कार रु ७ हजार ५ सय रकम ज्ञानोदय माविको दृष्टिविहिन स्रोत कक्षाको लागि सहयोग गरिएको थियो।