प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरेन्द्रको परिवारलाई चौरपाटीले डेढलाख राहत दिने, पालिकामा बिहीबार शोक बिदा
अछाम : प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले डेढ लाख राहत दिने भएको छ।
गाउँकार्यपालिको बुधबार बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै मृतकको परिवारलाई डेढ लाख राहत दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले बताए। साउदका अनुसार मृतक वीरेन्द्रको शोकमा चौरपाटी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय र शैक्षिक संस्थाहरू बिहीबार बन्द रहनेछन्। चौरपाटी गाउँपालिका-१ सिउडी निवासी टेकबहादुर शाह र दुर्गा देवी शाहका वीरेन्द्र कान्छा सन्तान थिए।
पुस १३ गते कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै रोजगार अनुमति प्रणाली (इपीएस)को ग्वार्कोस्थित कार्यालय बाहिर युवाहरूले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर वीरेन्द्रको मृत्यु भएको थियो। प्रहरीको बल प्रयोगबाट दैलेखका सुजन रावतको मृत्यु भएको थियो। वीरेन्द्र र सुजनको दुवै जनाको हिजो मंगलबार गृह जिल्लामा अन्त्यष्टि गरिएको छ।