कहाँ–कहाँ लगानी गर्छन् जीवन बिमा कम्पनी ?

कहाँ–कहाँ लगानी गर्छन् जीवन बिमा कम्पनी ?

काठमाडौं : नेपालको बीमा क्षेत्र तथा बीमा कम्पनी कति बलिया र सुरक्षित छन् भनेर अनुमान गर्ने धेरै आधार मध्ये एउटा हो, उनीहरूले गर्ने लगानी। बिमितबाट संकलित शुल्कबाट ती कम्पनीहरूले गर्ने लगानीको स्थितिलाई हेरेर पनि आकलन गर्न सकिन्छ, उनीहरूको वास्तविक स्थिति।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक तथ्यांकलाई नै आधार मान्दा पनि बिमा कम्पनीहरूको लगानीको रोजाई जोखिमयुक्तमा क्षेत्र नभई सुरक्षित क्षेत्र देखिन्छ। प्राधिकरणले लगानीको सीमा तोके पनि बीमा कम्पनीहरूको लगानीको रोजाई बैंक तथा वित्तीय संस्थामा राखिने मुद्दती निक्षेप रहेको पाइन्छ। उनीहरूले गर्ने कुल लगानीको हिस्सामा मुद्दती निक्षेपकै अंश बढी छ।

हाल १४ जीवन बिमा कम्पनी र १४ वटै निर्जीवन बिमा सञ्चालनमा छन्। धितोपत्रको दोस्रो बजारमा किनबेच हुने बिमा कम्पनीको सेयर मूल्यका आधार उनीहरूले दिने प्रतिफल, सेयरको आपूर्ति आदि भएपनि बिमा कम्पनीले कुन क्षेत्रमा लगानी गरेर नाफा आर्जन गर्छन् भन्ने बुझ्न पनि उत्तिकै जरुरी रहन्छ। सामान्यतया, बैंकहरू, जलविद्युत कम्पनीको तुलनामा बीमा कम्पनीको सेयर मुल्य उच्च नै देखिन्छ। ती कम्पनी भित्रि रुपमा कत्तिको बलिया छन् भन्ने एउटा आधार उनीहरूको लगानी कुन क्षेत्रमा छ भन्ने हुन सक्छ।

सरकारी ऋणपत्रमा लगानी न्यून

नेपाल बिमा प्राधिकरणले जीवन बिमकको लगानी निर्देशन– २०७९ अनुसार गर्न सीमा तोकिदिएको छ। सोही आधारमा रहेर बिमा कम्पनीले न्यूनतमदेखि अधिकतम लगानीको दायरा बढाउन पाउने छन्। जीवन बिमा कम्पनीहरूले नेपाल सरकार, प्रदेश र स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा न्यूनतम २५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ।

सोहीअनुसार यसमा सञ्चालनमा रहेका १४ बिमा कम्पनीमध्ये ५ वटाले मात्रै लगानी गरेका छन्। जसमा सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थान (हाल राष्ट्रिय जीवन बिमा कम्पनी) ले २५ करोड रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनले १ अर्ब ३७ करोड मेट लाइफले १ अर्ब ६८ करोड, एसियन लाइफले ६२ करोड, सन् नेपालले ७ करोड ८० लाख रुपैयाँ लगानी गरेका छन्। तर यसबाहेकका ९ जीवन बिमा कम्पनीहरूले भने कुनै पनि सरकारी ऋणपत्र तथा बचतपत्रमा लगानी गरेका छैनन्। जबकि यस्ता ऋणपत्रको लगानी भने सुरक्षित मानिन्छ।

मुद्दती निक्षेपमै ढुक्क बिमा कम्पनीहरू

बिमा कम्पनीहरूले बढी सुरक्षित ठान्ने वाणिज्य बैंकको मुद्दती निक्षेपमा भने आकर्षण छ। सबै जीवन बिमा कम्पनीले यसमा अधिकतम सीमासम्म लगानी गरेका छन्। प्राधिकरणले मुद्दती निक्षेपको लगानी न्यूनतम ३० प्रतिशतसम्म अनिवार्य गरेको छ तर अधिकतम नतोकेकाले यसमा अधिक आकर्षण छ। सबै कम्पनीबाट वाणिज्य बैंक र पूर्वाधार विकास बैंकमा कुल ४ खर्ब १९ अर्ब ६ करोड ९५ लाख रुपैयाँ रकम मुद्दती निक्षेपमा लगानीमा छ। यस्तै, विकास बैंकमा पनि बिमा कम्पनीले ३९ अर्ब ३६ करोड ७४ लाख र वित्त कम्पनीहरूमा ६ अर्ब ९१ करोड २२ लाख रुपैयाँबराबर मुद्दती निक्षेपमा लगानी गरेका छन्।

null

यो पोर्टफोलियोमा जोखिम कम भएको र निश्चित रूपमा निक्षेपबापतको ब्याज नियमित आउने भएकाले यसमा बढी लगानी गरेको पाइन्छ। जसअन्तर्गत वाणिज्य बैंकहरूमा मात्रै राष्ट्रिय बिमा संस्थानले ३ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ। यसैगरी नेसनल लाइफले ४४ अर्ब ४ करोड ६७ लाख, नेपाल लाइफले १ खर्ब २४ अर्ब ९५ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले ७१ अर्ब १० करोड, मेट लाइफले २४ अर्ब ६८ करोड, एसियन लाइफले २३ अर्ब ४९ करोड, आईएमई लाइफले ८ अर्ब १४ करोड ७५ लाख, सन नेपालले ६ अर्ब ६१ करोड, रिलायबल नेपालले  ८ अर्ब ४४ करोड,  सिटिजन्स लाइफले १० अर्ब ११ करोड, सूर्यज्योतिले १८ अर्ब ४२ करोड २६ लाख, सानिमा रिलायन्सले ९ अर्ब ५५ करोड ८५ लाख, हिमालयन लाइफले ३५ अर्ब ८७ करोड र प्रभु महालक्ष्मी लाइफले ८ अर्ब ४ करोड रुपैयाँबराबरको वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपको रूपमा लगानी गरेका छन्। यससँगै केही बिमा कम्पनीहरूले पूर्वाधार बैंकको मुद्दती निक्षेपमा समेत लगानी गरेका छन्।

यससँगै बिमा कम्पनीहरूले विकास बैंक तथा वित्तीय संस्थाको मुद्दती  निक्षेपमा अधिकतम १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ। यसबाहेक ‘ग’ वर्गको वित्तीय संस्थाको मुद्दती निक्षेपमा पनि बिमा कम्पनीहरूले अधिकतम ५ प्रतिशतसम्म लगानी गर्न पाउँछन्। तथ्यांक हेर्दा बिमा कम्पनीहरूले मुद्दती निक्षेपको लगानीलाई सुरक्षित ठानेर अधिकतम सीमासम्मको लगानी गरेका छन्।

बिमा कम्पनीको घरजग्गामा लगानी शून्य

जीवन बिमा कम्पनीहरूले घर जग्गामा बढीमा १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउँछन्। तर यो क्षेत्र बढी जोखिमयुक्त भएकाले जीवन बिमा कम्पनीहरू लगानी गर्न हच्किएका छन्। प्राधिकरणको चालू आवको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार घरजग्गामा जीवन बिमा कम्पनीको लगानी शून्य छ। 

यस्तै, बिमा कम्पनीहरूले लगानीको अधिकतम १० प्रतिशतसम्म सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा गर्न पाइने व्यवस्था छ। यसमा पनि बिमा कम्पनीहरूले भरपूर लगानी गरेका छन्। यद्यपि चालू आवको असोजसम्ममा १३ कम्पनीले यसमा लगानी गरिरहँदा मेट लाइफले भने गरेको छैन। यस्तै बिमा कम्पनीहरूले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा  अधिकतम ३० प्रतिशतसमम लगानी गर्न सक्छन्। यसमा पाँच कम्पनीको भने लगानी गरेका छैनन्। जसमा नेसनल लाइफ, नेपाल लाइफ, मेट लाइफ, एसियन लाइफ र आईएमई लाइफले उक्त क्षेत्रमा लगानी गरेका छैनन्। तर राष्ट्रिय बिमा संस्थानले मात्रै ५ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ लगानी गरेको छ।

यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले १२ अर्ब १५ करोड ५५ लाख, सन् नेपालले ७८ करोड ७० लाख रुपैयाँ, रिलायवल नेपालले  १ अर्ब ८५ करोड, सिटिजन्स लाइफले ४ अर्ब ४ करोड, सूर्यज्योतिले ५ अर्ब ३९ करोड ८१ लाख, सानिमा रिलायन्सले २ अर्ब ९४ करोड ७३ लाख, हिमालयन लाइफको  ९ अर्ब ७६ करोड र प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४७ करोड ८९ लाख रुपैयाँबराबरको लगानी भएको छ। 

यसैगरी, बिमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको बोन्ड, डिबेन्चर र ऋणपत्रमा बढीमा २० प्रतिशतसम्म लगानी गर्न पाउँछन्। यस्तो लगानीमा चार कम्पनीको मात्रै लगानी गरेका छन्। यसमा नेसनल लाइफले ७ अर्ब ७४ करोड ६३ लाख, नेपाल लाइफले ४ अर्ब ५३ करोड ४९ लाख, एसियन लाइफ ६ अर्ब ३२ करोड र आईएमई लाइफले २ अर्ब ४१ करोड बराबरको लगानी गरेका छन्। यसबाहेकका १० कम्पनीको लगानी भने यस्ता ऋणपत्रमा छैन।

न्यून रोजाइमा उत्पादनमूलक क्षेत्र

बिमा कम्पनीहरूले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत्, सौर्य ऊर्जा, विकीरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत् प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अधिकतम १० प्रतिशतसम्म लगानी गर्न पाउँछन्। तर यस्ता लगानीमा पनि बिमा कम्पनीहरूको खासै रोजाइ पर्न सकेको देखिँदैन। यद्यपि ६ वटा जीवन बिमा कम्पनीहरूले भने थोरबहुत लगानी गरेका छन्।

राष्ट्रिय बिमा संस्थान, एसियन लाइफ, सन् नेपाल सिटिजन्स लाइफ, सानिमा रिलायन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लगानीमा चासो देखाएका छन्। यी ६ वटा कम्पनीले सो क्षेत्रमा ७ अर्ब ९ करोड ७० लाख ६९ हजार रुपैयाँबराबरको मात्रै लगानी गरेका छन्। 

यता नागरिक लगानी कोष र म्युचुअल फन्डमा बिमा कम्पनीहरूले बढीमा पाँच प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ। यसमा भने जीवन बिमा कम्पनीहरूको लगानी आकर्षण छ। मेट लाइफबाहेकका सबै कम्पनीले अधिकतम सीमा आसपासमा रहेर टम्मै लगानी गरेका छन्। जसले गर्दा १३ कम्पनीबाट नागरिक लगानी कोष र म्युचुअल फन्डमा १ अर्ब ७६ करोड ५ लाख ४२ हजार रुपैयाँबराबरको लगानी रहेको छ।

यससँगै इन्भेस्टमेन्ट कम्पनीहरूको सेयर पनि अधिकतम ५ प्रतिशतसम्म किन्न पाइने व्यवस्था छ। तर यसमा हिमालयन लाइफ इन्स्योरेन्सबाहेकका अन्य कम्पनीले लगानी गर्न रुचि देखाएका छैनन्।

विविधीकरण गर्ने कम्पनीको लगानीमा जोखिम कम

कम्पनीहरूले जोखिमरहित लगानीको विविधीकरण गरेका छन् भने ती कम्पनी जोखिमरहित हुने नेपाल बिमा प्राधिकरणका कानुन शाखा प्रमुख शाम्भराज लामिछाने बताउँछन्। यद्यपि प्राधिकरणले बिमकको लगानीसम्बन्धी निर्देशिकाले लगानीको सीमा तोकेको छ। वास्तवमा कम्पनीले लगानी एउटै क्षेत्रमा मात्रै बढी केन्द्रित भएर गर्न नहुने उनको भनाइ छ।

‘लगानी विविधीकरण गर्दा एउटै बास्केटमा धेरै हाल्नु हुँदैन। लगानी तोकिएका विभिन्न क्षेत्रमा बाँड्नु पर्छ। साथै लगानी गरेको क्षेत्र पनि कत्तिको उचित छ भनेर लगानीकर्ताले हेर्दा भविष्यलाई राम्रै हुन्छ,’ लामिछानेले अन्नपूर्ण पोस्टसँग भने, ‘बीमा कम्पनीले सरकारको बचतपत्रमा गरेको लगानी शतप्रतिशत सुरक्षित हुन्छ।

यस्तै, बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानीको रूपमा राखेको छ भने पनि धेरै नै सुरक्षित मानिन्छ। तर रियल स्टेट (घर जग्गामा) पनि लगानी गरेका छन् यो भने अलि जोखिमयुक्त मानिन्छ।’ उनका अनुसार यससँगै निजी कम्पनीहरूमा पनि बिमा संस्थाहरूले लगानी गरेकाले यसलाई अलि जोखिमको रूपमा लिइन्छ।

‘अहिले बिमा प्राधिकरणले हवाईजस्ता सेवा क्षेत्रमा पनि लगानी गर्न दिएको छ। जस्तै एसियन लाइफ इन्स्योरेन्सले यती एयरलाइन्समा लगानी गरेको छ। यो क्षेत्रमा गरेको लगानी पनि अलि जोखिम नै ठानिन्छ। नेपालका लागि एयरलाइन्सको बिजनेस अलि मुस्किल नै छ,’ उनले थपे। एउटा लगानीकर्ताले इन्स्योरेन्सको जोखिम क्षेत्रमा कत्तिको लगानी गरेका छन् र सुरक्षित छन् भनेर हेर्न सकिने उनले सुझाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.