भारतीय विदेशमन्त्रीको भ्रमणबाट १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेण्टी भयो : प्रधानमन्त्री
रामेछाप : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणबाट १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेण्टी भएको बताएका छन्। बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता दिवस, शहिद स्तम्भ उद्घाटन तथा शहिद परिवार सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएपछि यस्तो बताएका हुन्।
बिहीबार दिउँसो सिंहदरबारमा ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका थिए।
प्रधानमन्त्री दाहालले भने, 'भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेण्टी भएको छ। सम्झौता नेपाल - भारत र बंगलादेशसँग पनि विद्युत् व्यापार गर्न कोशेढुङ्गा सावित हुनेछ।'
प्रधानमन्त्री दाहाल गत जेठमा भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा सहमति भएको थियो ।
रामेछाप जानुअघि प्रधानमन्त्री दाहाल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेट भएको थियो। भेटका क्रममा उनीहरूबीच द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैगरी प्रधानमन्त्री दाहालले जनयुद्धको शान्तिपूर्ण शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताएका थिए। कार्यक्रममा प्रधानमन्त्रीले भने,'जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोह थियो। त्यतिबेला हामीसँग ठूलो शक्ति थिएन,तर महान् विचार थियो,ऐतिहासिक लक्ष्य थियो। त्यसका आधारमा नेपालको क्रान्तिले गुणात्मक उचाइ प्राप्त गर्यो। त्यसले नै देशमा महान् परिवर्तन सम्भव भएको हो।'
प्रधानमन्त्रीले वर्तमान सरकार देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको उनको भनाइ छ।