डोल्पामा सडक पूर्वाधार र सञ्चारको विकास गर्न माग
डोल्पा : डोल्पाका सांसद धनबहादुर बुढा नेतृत्वको जनप्रतिनिधिको टोलीले जिल्लामा विकासको माग गरेका छन्। उपल्लो डोल्पाका जनप्रतिनिधि सहितको टोलीले सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाई भेटेर सडक पूर्वाधार र सञ्चार क्षेत्रको विकासको माग गरेका हुन्।
डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा नेपाल टेलिकमको फोरजी सेवा विस्तारका लागि माग गरिएको सांसद बुढाले बताए। सबैखाले विकासले पछि परेको उपल्लो डोल्पामा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा भएको समयमा टुजी टावर विस्तार गरिएको र अब तीनवटै पालिकामा रहेका टावरहरूमा फोरजी जोड्न माग गरिएको उनले जानकारी दिए।
आफूहरूले राखेको मागप्रति मन्त्री शर्मा सकारात्मक भएको उनको भनाइ छ। तल्लो डोल्पामा बाँकी रहेको केही ठाउँमा फोरजी विस्तार गर्न समेत आग्रह गरिएको उनले बताए।
त्यसैगरि टोलीले भौतिक पूर्वाधार मन्त्री ज्वालालाई भेटेर ल्यासीक्याप-शिसौल सडक सेनालाई यथाशीघ्र जिम्मा दिएर काम सुचारु गराउन तथा दुनै-ल्यासीक्याप-कागकोट-छार्का-मुस्ताङ जोड्ने सडकका लागि बजेट व्यवस्था गर्न माग गरिएको छ।
त्यसैगरी मौरे-त्रिपुराकोट-दुनै-फोक्सुन्डो हुँदै मोरिम्ला र क्याटो नाकासम्म सडक निर्माण गर्न समेत माग गरिएको सांसद बुढाले बताए। आफूहरूको मागप्रति मन्त्री ज्वाला सकारात्मक भएको समेत उनको भनाइ छ।
तल्नु-दुनै हुँदै ल्यासीक्यापसम्म सडक स्तरोन्नतिका लागि दुई अर्ब बजेट निकासा भइसकेको र अब केही महिनाभित्र ठेक्का खुल्ने भेरी करिडोरका कार्यालय प्रमुख सुजन अधिकारीले जानकारी दिए।