८.७१ अंकले घटेर बन्द भयो सेयर बजार : कसले कमाए,कसले गुमाए ?
काठमाडौं :अघिल्लो सेयर कारोबार दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज एकल अंकले ओरालो लागेको छ। परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ विन्दुमा कायम भयो। बुधबार नेप्से परिसूचक ७.९० अंकले बढेर २०५८.०० विन्दुमा बन्द भएको थियो।
सेन्सेटिभ इण्डेक्स ५.१२ अंकले घटेर ३७९.१६ विन्दुमा झरेको छ। नेप्से घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। यसदिन ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता खरिदबिक्री हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८०४ रुपैयाँको कारोबार भयो। बुधबार ४ अर्ब बढी मूल्यको सेयर कारोबार भएको थियो।
साताको पहिलो कारोबार दिन आइतबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। सोमबार ८.७५ अंकले ओरालो लागेको नेप्से मंगलबार १.४ प्रतिशतले घटेर २०३०.१० विन्दुमा पुगेको थियो।
चार कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर मूल्य ६.५६ प्रतिशतले घट्यो।
कालिका पावर,सिंगटी हाइड्रो इनर्जी,नेपाल वारहाउस कम्पनी,मुक्तिनाथ कृषि र बिन्धाबासिनी हाइड्रोपावर कमाउने पाँच शीर्षभित्र परे। कारोबार रकमका आधारमा सोनापुर मिनरल्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ३३ करोड बढी मूल्यको सेयर कारोबार भयो।
यसैगरी शिवम् सिमेन्टको १९ करोड,माउन्टेन इनर्जीको १८,एनआरएन इन्फ्रास्टक्चरको १६ करोड र युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरको १५ करोड बढी मूल्यको सेयर कारोबार भयो।
कारोबारमा आएका ३०३ स्क्रिप्टमध्ये ११३ को मूल्य बढ्दा १२८ को घट्यो भने ५ को मूल्य स्थिर रह्यो। चार उपसमूहको सूचक पोजिटिभ देखिँदा नौं वटाको सूचक भने नकारात्मक देखिए।