पुल निर्माणको माग गर्दै सरोकारवालाको मन्त्री ज्वालालाई ध्यानाकर्षण
काठमाडौं : उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा बाढीले बगाएको शिवाई पुल निर्माणको काम सुरु गर्न माग गर्दै उदयपुरका राजनीतिक दलहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएका छन् ।
अलपत्र अवस्थामा रहेर १२ वर्षअघि निर्माण सुरु भएको पुल दुई वर्षअघि अन्तिम चरणमा रहेका बेला बाढीले बगाएको थियो । त्यसपछि उक्त पुलको निर्माण कार्य अघि नबढेकोको भन्दै सरोकारवालाले मन्त्री ज्वालाको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले उक्त पुल निर्माणको काम अघि बढ्ने प्रतिवद्धता नआएसम्म उदयपुर नफर्कने जनाएका छन् । उदयपुरका संघीय सांसद नारायण खड्काले उक्त पुल अघि बढाउने आश्वासन पटक पटक आएपनि सुरु हुन नसकेको भन्दै पुल बनाउने वातावरण बनाउनुपर्ने बताए । उनले विभिन्न बहानामा जिम्मेवारीबाट पन्छिएर पुन नवनाउन खोजिएको तर्क गरे।
मन्त्री ज्वालाले उक्त पुल निर्माणका लागि आफू निरन्तर छलफलमा रहेको भन्दै पुल बन्नुपर्छ भन्नेमा बिमति नरहको बताए । आयोजना प्रमुख नयाँ आएकाले पुल सम्बन्धमा अध्ययनको समय माग गरेकाले केहि ढिलाई भएको उनको भनाइ छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाका पूर्वमेयर खगेन्द्र राईले लामो समय हुँदा पनि पुल निर्माण कार्य सुरु नभएपछि मन्त्री ज्वालाको ध्यानाकर्षण गराएको बताए । उनले अब पनि पुल निर्माणमा ढिलाई भए दबाबका कार्यक्रमसम्म गर्ने वा स्थानीय स्रोत साधनबाट बनाउने भन्नेबारे छलफल गर्ने उल्लेख गरे।
उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा ननीको निर्माणधीन मोटेरेबल पक्की पुल १९ असार २०७८ मा आएको बाढीले बगाएको हो । ३ सय ७ मिटर लम्बाइ रहेको १२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको दक्षिण पश्चिम क्षेत्र शिवाई पट्टी रहेको पहिलो र दोस्रो पिल्लर नदीमा भाँसिएको थियो ।