जाजरकोट भूकम्पको २ महिना : पहिलो किस्ता धमाधम, अस्थायी आवास सुस्त
रुकुमपश्चिम : जाजरकोट भूकम्पको २ महिना पूरा भए पनि रुकुमपश्चिमवासीले भने त्रिपालमै रात कटाउनु परेको छ। गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर भूकम्प गएको दुई महिना बित्दासम्म पनि अस्थायी आवास निर्माणको काम सुस्त देखिएको छ।
अधिकांशका अस्थायी आवास पनि बन्न सकेका छैनन्। हालसम्म २६.४ प्रतिशत अर्थात् ७ हजार ७९ अस्थायी आवास मात्र बनेका छन्। जिल्ला प्रशासनको यस तथ्यांक हेर्दा तीन चौथाइ पीडितका अस्थायी आवास निर्माण नभएको प्रस्ट हुन्छ। यद्यपि अस्थायी आवास निर्माण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले भने पहिलो किस्ताको रकम धमाधम पठाइरहेको छ।
हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट २३ हजार ६ सय ८ लाभग्राहीलाई पहिलो किस्ताबापत २५ हजार रुपैयाँका दरले स्थानीय तह विपद् कोषमा ५९ करोड २ लाख रुपैयाँ पठाइएको छ। तीमध्ये हालसम्म जिल्लाको ६ वटै स्थानीय तहमा कुल १९ हजार ७ सय १७ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत ४९ करोड २९ लाख २५ हजार रकम प्राप्त गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए।
उनका अनुसार जिल्लाभर हालसम्म कुल २६ हजार ८ सय ५ घर बस्नै नमिल्ने गरी भत्किएको प्रहरी लगत संकलन भएको छ। सोही लगतअनुसार जिल्लामा अझै ७३.६० प्रतिशत अर्थात् १९ हजार ७ सय २९ अस्थायी आवास बनाउनुपर्ने देखिन्छ। जिल्ल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार हालसम्म सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा ३ हजार ४२ अस्थायी आवास निर्माण भएका छन्।
सबैभन्दा कम मुसिकोट नगरपालिकामा २४ वटा अस्थायी आवास बनेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिए। त्यस्तै चौरजहारी नगरपालिकामा २ सय ६४, आठबीसकोट नगरपालिकामा ३ हजार १४, त्रिवेणी गाउँपालिकामा ६ सय १७ र बाँफिकोट गाउँपालिकामा १ सय १७ अस्थायी आवास निर्माण भएका छन्। त्यस्तै जिल्लाभर ९ हजार ३ सय ४१ अस्थायी आवास निर्माणको चरणमा छन्।
‘अस्थायी आवास निर्माणको काम सुस्त भएको साँचो हो, जति छिटो हुनुपर्ने थियो, त्यति हुन सकेको छैन’, प्रक्रियागत झनझटिलोपनका कारण पनि अस्थायी आवास निर्माणले गति लिन नसकेको सहायक प्रजिअ बढुवालको भनाइ छ। ‘भत्किएको घर हटाउनुपर्ने, जग्गा खोज्जुपर्ने लगायतका कार्यविधि पूरा गर्दा समय लाग्ने भएकाले पनि अस्थायी आवास निर्माणको काम ढिला भएको छ। यद्यपि अस्थायी आवास निर्माण तीव्र रूपमा नहुँदा सन्तुष्ट हुने अवस्था भने छैन’, उनले भने।
जिल्लामा अस्थायी आवास निर्माणको लागि ८४ करोड रुपैयाँ प्राप्त भएको र दोस्रो किस्तालाई पुग्ने गरी थप ६८ करोड माग गरी पठाएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए। लाभग्राहीको विवरण संकलनको काम जारी रहेकाले लाभग्राहीको संख्या साढे ३० हजार पुग्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ। पहिलो किस्ता प्राप्त गर्न समय लागेकाले अस्थायी आवास निर्माण गर्न समय लागेको सानीभेरी गाउँपालिकाका–४ भलाचौरका भुवन ओली बताउँछन्। ‘पहिलो किस्ता प्राप्त गरेको ४ दिन भयो, रकम नहुँदा अस्थायी आवास निर्माण गर्न सकिएको थिएन।
अब रकम प्राप्त भएको छ, जस्तापाता लगायत अन्य आवश्यक पर्ने सामग्री खरिद गर्न सजिलो भएको छ। अबको एक हप्तामा अस्थायी आवास निर्माण सक्ने गरी काम गरिरहेका छौं’, उनले भने।