जे देखें, त्यही लेखें
गाउँमा बिताएका बाल्यकालका स्मरणमध्ये एउटा कुराले अहिले पनि मेरो मगज खलबली रहन्छ। म बसेको गाउँमा अत्यधिक चोरी हुन्थ्यो तर चोर हत्तपत्त समातिँदैनथ्यो। कसै कहाँ चोर आएको थाहा पाएमा टच बालेर कराएपछि गाउँले सबै टच बाल्दै चिच्याएर चोर खोज्न र खेद्न बाहिर निस्कन्थे। सबैको हातमा टच अनि चोर–चोर भन्दै चिच्याएर दौडिँदा रातको समयमा खेतबारी झिलिमिली देखिन्थ्यो। आखिर चोर भेटिँदैनथ्यो।
बिहान उठ्दा सबैका बाली कुल्चिएर, माडिएर थामिनसक्नु नोक्सान भएको देखिन्थ्यो। वर्षौंदेखि चोरी हुने, चोर खेद्ने तर चोर नभेटिने क्रम बढ्दै गएपछि बल्ल रहस्य खुल्थ्योः चोर अन्तको नभएर त्यही गाउँकै रहेछ, चोर आफैं ‘चोर–चोर’ भन्दै टच बालेर गाउँलेकै भीडमा दौडिँदो रहेछ। त्यसपछि गाउँले चनाखो भएर चोर खोज्न थाले, चोर पनि समातियो र चोरी पनि रोकियो। यो अनुभवसँगै हाम्रा अग्रजहरूले सिर्जना गरेको उखान ‘जो चोर उसकै ठूलो स्वर’लाई जोडेर समीक्षा गर्ने गर्छु।
बाल्यकालमा अनुभव गरेको त्यो यथार्थ र सिंगो देशको यथार्थ लगभग उस्तैउस्तै छ। को सज्जन या सत्यवादी हो छुट्ट्याउन नसक्ने अवस्था छ। जो बेइमानी हो र नैतिकहीन हो, ऊ नै सज्जन र सत्यवादीको पारा देखाउँदै सत्य र निष्ठाको नारा घन्काउँदै हिँडेपछि इमान र बेइमान छुट्ट्याउनै नसकिने अवस्था छ। परिस्थिति बनाइदिएर मनस्थिति बदलिदिने खेल र झेल दुवैले प्राथमिकता पाएको छ। पीडित पीडा भोग्न बाध्य भएर चिच्याइरहन्छन् तर पीडक नैतिकताको पाठ पढाएको बहानामा चिच्याएर हिँडिरहेका छन्।
अन्याय र अत्याचारमा पर्नेहरू घुन पिसिए झैं पिसिएका छन्। त्यही मौकामा धुत्र्याइँ गरेर उनीहरूकै बीचमा गोहीका आँसु चुहाउँदै मिसिएका छन्। समाजमा रैंदालो मच्चिएको छ। एउटा वर्ग बाध्यतामा पिल्सिएको छ। अर्को वर्ग त्यही बाध्यताभित्र मानवीय संवेदनालाई नै भजाउन पल्किएको छ। जबसम्म समाजको यो विचित्र रूपलाई फर्किएर हेर्ने दृष्टि हामीमा आउँदैन, तबसम्म यो समाजले नै कष्टबाट मुक्ति पाउँदैन। बाल्यकालमा भोगेको ‘चोरको चलाखीको रहस्य’ जस्तै हो अहिलेको समाजको जड अर्थात् जरो र त्यसले निम्त्याएको ज्वरो।
जहाँ निष्ठा हुन्छ, त्यहाँ नैतिकताको पनि महŒव झल्किन्छ। जहाँ थिति हुन्छ, त्यहाँ नीति पनि गतिलो हुन्छ। निष्ठा र थिति नभएको समाजमा अराजकता मैलाउँछ। जहाँ धर्म हराउँछ, त्यहाँ मर्म पनि हराउँछ। धर्म र मर्म बुझ्ने नहुँदा लाज अर्थात् शर्मको इज्जत हुँदैन। आज हाम्रो परिस्थिति र परिवेश त्यस्तै हुँदै गएको छ। नेतृत्वमा व्यक्ति पुगेको छ तर व्यक्तित्व पुगेको अनुभूति हुन सकेको छैन।
सकारात्मक कुराभन्दा नकारात्मक कुरा बढी बिकाउ भएको छ। तर सबै बिकाउ कुरा टिकाउ हुँदैनन् भन्ने बुझेर पनि बुझ पचाइएको अवस्था छ। गज्जबको कुरा त हामी ‘देशभित्र देश हरायो भनेर देश नै खोजिरहेका छौं’। मानवले नै मानवता हरायो भन्दै आफैंलाई गिज्याइरहेका छौं। चोर औंलाले अरूलाई औंल्याउँदा बाँकी औंलाले आफैंलाई देखाइरहेको छ भन्ने हेक्का हुन छाडेको छ। यो आजको यथार्थ र हामी बाँचेको समाजको धरातल हो।
एकैछिन आत्मसमीक्षा गरौं। आफ्नै देश र परिवेशकै कुरा हेरौं। नागरिकले नेतृत्व र नेतृत्वले नागरिकको सद्भाव र सम्बन्ध धमिलो र अमिलो बनाउँदै लागेको अवस्था छ। अधिकांश नागरिक तहमा राजनीतिक गतिविधिले असन्तुष्टि जन्माउँदै गएको छ। राजनीतिक दलप्रतिको अरुचि बढेको छ। दलहरू आफ्नै व्यवहार र चरित्रले आफैं दलदलमा फस्दै गएका छन्। अवस्थालाई रोगसँग चित्रण गर्ने हो भने ग्यास्टिक हुँदै अल्सर भएर क्यान्सरको पनि चरणबद्ध भोगाइमा प्रवेश गरिसकेको अवस्था छ।
राजनीतिक परिवर्तनपछि पनि शासकीय पद्धति र प्रक्रियाको अवरोधले रोग निको हुन सकेन भनेर भ्रम फाल्यौं तर रोग आफैंले ढाकछोप गरेर पाल्यौं। नीति नियम र पद्धतिको सुधार गर्नुपर्ने चटारोको बहानाले हामीलाई वर्षौं रोग टाल्न पुग्यो। हिजो रोग टालिएको थियो, फालिएको थिएन। हिजो दबाई खाएर दबाइएको थियो, खास उपचार भएको थिएन। हिजो रोगलाई हामीले छल्यौं होला। आज फेरि रोगले हामीलाई गालेको छ। आफ्नै व्यवहार र कर्म हामी आफ्नै लागि प्रत्युत्पादक बन्दै गएको छ। अरूलाई पुर्न खनेको खाडलमा आफैं पुरिनुपर्ने अवस्थाको चित्र देखिँदै छ।
कुकर्म र पाप एउटा समयसम्म त हाम्रो गर्जन र चिच्याहटले डराउँछ तर पाप र कुकर्मको हद पनि नाघ्न थाल्यौं भने एकदिन धुरीबाटै कराउँछ। गाउँमा वर्षौं पल्किएको चोरले आफूलाई पनि साधु बनाएर चोर खेद्ने अभियानमा आफूलाई त सरिक गरायो बाल्यकालमा जस्तै। अरू जस्तै उसले पनि ‘चोर–चोर’ भन्दै त करायो तर एकदिन रहस्य खुल्यो।
गलत पात्र र प्रवृत्तिका कारण हामीले भोगिरहेको नियति विस्तारै उत्कर्षमा पुग्दै गरेको अवस्था छ। हिजो अन्माइएको विद्रोह आज आफैं जन्माइएको अवस्था छ। हिजो उपचारले रोग चिनेको थियो, आज रोगले उपचार। राजनीतिक, आर्थिक र सामाजिक पीडाको चीत्कारले न्याय पाउने आशा गर्न सकिने अवस्था छ। आउनुहोस्– अरूतिर फर्किएर होइन, आफैंतिर फर्किएर विद्रोह गरौं। आफ्नै कमजोरीलाई आफैं औल्याऔं। प्रवृत्ति बदलियो भने पात्र आफैं बदलिन्छ। प्रवृत्ति सुध्रियो भने पात्र आफैं सुध्रिन सक्छ। अन्यथा नहोस् है– ‘जे देखें, त्यही लेखें।’