मनास्लु क्षेत्रमा पुगे ९,००० बढी विदेशी पर्यटक

मनास्लु क्षेत्रमा पुगे ९,००० बढी विदेशी पर्यटक
विश्वको आठौं अग्लो मनास्लु हिमाल आरोहण गर्न पुगेका विदेशी पर्यटक।
सुन्नुहोस्

गोरखा : गोरखाको मनास्लु क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै  ९ हजार १ सय ७७ जना विदेशी पर्यटक पुगेका छन्। यसअघि सबैभन्दा धेरै पर्यटक आएको भनिएको सन् २०१७ सालमा भन्दा सन् २०२३ मा १ हजार ५ सय जनाले धेरै पर्यटक आएका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ।

छ वर्षअघि सन् २०१७ मा ७ हजार ६ सय ५५ जना विदेशी पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरेका थिए। सन् २०२३ मा ९ हजार १ सय ७७ जना विदेशी पर्यटकले भ्रमण गरेको एमक्यापका प्रमुख सन्तोष शेरचनले बताए। ‘यसबर्ष पर्यटकको आवागमन हेर्दा साह्रै सुखद देखिन्छ’, शेरचनले भने, ‘आउँदो असारसम्म १२ हजार पर्यटकले भ्रमण गर्ने हाम्रो अनुमान छ।’ विगत चार वर्षमा कोभिडका कारण पर्यटकको संख्या ज्यादै न्यून थियो। आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा कम अर्थात् जम्मा १ सय ९४ जनामात्र पर्यटक सो क्षेत्रमा पुगेका उनले जानकारी दिए।

गतबर्ष सबैभन्दा धेरै अक्टोबर महिनामा पर्यटकले भ्रमण गरेका हुन्। सो महिनामा सो क्षेत्रमा ३ हजार ३ सय ५ जना पर्यटक पुगेका थिए। 

मनास्लु क्षेत्रमा सन् २०२२ मा ६ हजार १ सय २ विदेशी पर्यटकले भ्रमण गरेका थिए भने, कोभिड–१९ महामारी मच्चिरहेको २०२१ मा ९ सय २५ जनाले भ्रमण गरेका थिए। त्यस्तै २०२० मा ३ सय ७४, २०१९ मा ७ हजार ५ सय ५५ जनाले र सन् २०१८ मा ७ हजार ६ सय ५५ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए। स्थानीय तह, प्रदेश तथा संघ सरकारले विस्तृत रूपमा योजना बनाएर लाग्ने हो भने मनास्लु क्षेत्र पर्यटक आकर्षित गर्नेमा विश्व नम्बर एक गन्तव्य बन्न सक्ने एमक्याप प्रमुख सन्तोष शेरचनले बताए। ‘सडकको साँटो केबलकारको व्यवस्था गर्ने, इको टुरिज्म विकास गर्ने हो भने मनास्लु क्षेत्र विश्व नम्बर वान बन्न सक्छ’, उनले भने, ‘त्यसका लागि अहिले झैँ सडक निर्माण नगरी यातायातका लागि केवलकार निर्माण गर्ने, वातावरण मैत्री संरचना बनाउनुपर्छ।’ 

एमक्यापमा आउने पर्यटकलाई सहजताका लागि विभिन्न पदमार्गको खोजी गर्ने, आवश्यक सूचनाहरू दिन सूचना केन्द्र निर्माण गर्ने जस्ता पूर्वधारहरू बनाएको उनले बताए। यसले आगामि दिनमा मनास्लु क्षेत्रमा आउने पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ। साथै एमक्यापलाई अभैmे लोकप्रिय बनाउन स्थानीय तह, पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, टानजस्ता सम्बन्धित निकायहरूले विभिन्न प्याकेजहरू ल्याउनुपर्नेमा उनले जोड दिए।

सो क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति १ हजार र अन्य राष्ट्रका पर्यटकले ३ हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ। पर्यटकले काठमाडौंको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा प्रवेशदस्तुर बुझाउनुपर्ने व्यवस्था छ। यी दुवै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने एमक्याप प्रमुख शेरचनले बताए।

निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान छ। विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक हप्ताका लागि अनुमति दिने गर्दछ। सो अबधिको भ्रमणका लागि पर्यटकले चुमभ्यालीका लागि सिजनमा प्रतिब्यक्ति ५० डलर र बेसिजनमा २५ र नुब्री भ्यालीका लागि प्रतिव्यक्ति सिजनमा ७० र बेसिजनमा ३५ डलर विभागमा बुझाउनुपर्नेछ।

एकहप्ताबाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउन पर्नेछ। मनास्लु क्षेत्रअन्तर्गत चुमनुब्री गाउँपालिकाको ७ वटा वडा पर्छन्। साविकका सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ। जसमध्ये साविकका सामागाउँ, ल्हो, प्रोक र बिही गाविस नुब्री उपत्यकाका रूपमा चिनिन्छ भने चुम्चेत र छेकम्पार गाविस चुम उपत्यकाका रुपमा चिनिन्छ।

सो क्षेत्रमा बसोबास गर्ने तिब्बती(भोटे) समुदायको धार्मिक तथा सास्ंकृतिक अबस्था अध्ययन गर्न, प्राकृतिक दृश्याबलोकन, मनास्लु हिमाल आरोहणका लागि पर्यटकहरू आउने गरेका एम क्यापका प्रमुख शेरचनले जानकारी दिए। यस क्षेत्रमा विश्वको आठौं अग्लो मनास्लु हिमाल, ५ हजार १ सय ६ मिटर अग्लो लार्केपास, कालताल, वीरेन्द्रताल, अहिंसा क्षेत्र चुम उपत्यका, नुब्री उपत्यका आदिको अवलोकन गर्न पर्यटक जाने गर्छन्। सन् १९९५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुला गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.