‘छोपा बामरे’ हिमालको पहिलो आरोहण सफल
दोलखा : दोलखाको बिगु गाउँपालिका–१ लप्चीमा रहेको ‘छोपा बामरे’ हिमालको पहिलो आरोहण सफल भएको छ। बिगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीसहित ६ जनाको टिमले आफ्नै पालिकाभित्र रहेको भर्जिन ‘छोपा बामरे’ हिमालको पुस १५ गते आइतबार बिहान ९ः४० बजे सफल आरोहण गरेका हुन्। २०७९ सालमा बिगु गाउँपालिका समेतको आग्रहमा सरकारले गत वर्षमात्र पालिकाभित्र रहेको ‘छोपा बामरे’ र ‘आमा बेग्मरे’ हिमाल आरोहण खुला गरेको बिगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले बताए।
सगरमाथा आरोही लीलाबहादुर बस्नेतको नेतृत्वमा बिगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओली, निमा ग्याल्जेन शेर्पा, फुर्वा थिले शेर्पा, भवीन्द्र खड्का र लाक्पागेली शेर्पाले लप्चीमा रहेको ६ हजार १ सय ९ मीटर अग्लो ‘छोपा बामरे’ हिमालको सफल आरोहण गरेका हुन्। पुस ९ गते पालिका कार्यालयबाट हिँडेका १० जनाको टोली पुस १३ गते बेसक्याम्प पुगेका थिए। बेसक्याम्पबाट ६ जनाको टोली राति
२: ३० बजे अघि बढेको थियो। टोलीमा संलग्न उपप्रमुख देविका थामी, प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठ, वडा अध्यक्ष मेम्बा तामाङलगायतले ६ जना सफल आरोहीलाई बेसक्याम्पबाट बिदाइ गरेका थिए।
आफ्नो पालिकामा रहेको हिमाल आरोहणको लागि बिगु गाउँपालिकाले १५ लाख रुपैयाँ छुट्ट्याएको थियो। उक्त रकम टेक्नीकल टिमको खर्चका लागि निमा शेर्पाको डोल्मा एक्सपिडिसनलाई दिईएको र अन्य खर्च आरोहीहरूले व्यक्तिगत रूपमा गरेको पालिका प्रमुख ओलीले बताए।
हिमाली जिल्ला दोलखामा आरोहण अनुमति भएका हिमालको प्रचार– प्रसार गर्न सकिए पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र दोलखाको समृद्धि सम्भव हुने अध्यक्ष ओलीको भनाइ छ। ६ हजारमाथिका हिमालहरू अहिलेसम्म कोही नचढेको र पर्यटन मन्त्रालयले चढ्न मिल्ने लिस्टमा राखिदिएपछि हिमाल चढ्न सुरु गरेको ओलीले बताए। लप्चीसम्मको बाटोको विस्तार हुँदै गरेको अवस्थामा पूर्वाधारको तयारी स्वरूप आरोहण गरेको उनले बताए।