मन्त्री निवासलाई खेलाडी आवास बनाउन प्रस्ताव
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्ले पुल्चोकस्थित हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवास बनाउन प्रस्ताव गरेको छ।
हरिहर भवनस्थित मन्त्री निवास ललितपुरको भैसेपाटीमा निर्मित भवनमा स्थानान्तरणपश्चात् खेलाडी आवासमा रूपान्तरण गर्न प्रस्ताव गर्ने निर्णय परिषद्को कार्यकारी समितिले गरेको हो। परिषद्का सदस्य–सचिव एवं समितिका संयोजक टंकलाल घिसिडको अध्यक्षतामा बैठक बसेको थियो। राज्यले नेपालमा आयोजित अन्तर्राष्ट्रिय तथा नेपालले भाग लिएका विभिन्न प्रतियोगितामा बन्द प्रशिक्षणका दौरान होटल तथा बसोबास खर्चबापत ठूलो धनराशि खर्च गदै आएको छ। उक्त बाध्यात्मक अवस्था अन्त्य गर्न यो निर्णय गरिएको सदस्य–सचिव घिसिङले बताए।
‘अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी प्रशिक्षणका लागि विगतमा राज्यको ठूलो धनराशि खर्च हुने गरेको थियो’, उनले भने, ‘खेलाडीलाई कम खर्चमा गुणस्तरीय प्रशिक्षण सञ्चालन गर्दै राम्रो नतिजा हासिल गर्न पनि सहयोग पुग्ने भएको हुँदा हामीले मन्त्री निवासलाई खेलाडी आवासमा विकास गर्न प्रस्ताव गरेका हौं।’ १९ औं एसियाली खेलकुदको प्रशिक्षणका लागि सात महिनामा १२ करोड ३८ लाख खर्च भएको थियो। १३ औ दक्षिण एसियाली खेलकुदको तयारीका लागि सात महिनाकै अवधिमा ४३ करोड खर्च भएको थियो। ‘यो राज्यलाई ठूलै भार हो। यसलाई कम गर्न सकिन्छ’, उनले भने, ‘त्यसैले हालको मन्त्री निवासलाई खेलाडी आवासका रुपमा विकास गर्न सके राज्य, खेलाडी र समग्र खेलक्षेत्रलाई फाइदा हुन्छ।’
घिसिङले मन्त्री निवासलाई खेलाडी आवासमा विकास गर्न सके विभिन्न खेलका खेलाडीको बन्द प्रशिक्षणका बेला एउटै होटलमा खेलाडीलाई राख्न नसक्ने अवस्थाको अन्त्य हुने बताए। सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई समानस्तरको बसोवास तथा खानपानको व्यवस्थासहित आवासको व्यवस्था गर्न सके नतिजा पनि राम्रो आउने उनको भनाइ छ।
उनका अनुसार यो प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भयो भने खेलाडीलाई उच्च प्राथमिकता दिएको सन्देश जाने र खेलाडी पनि उत्साहित हुनेछन्। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले यो प्रस्तावलाई तदारुकता साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको सदस्य–सचिव घिसिङले सुनाए।