भारतसँग भएका सम्झौताबारे जानकारी लिन कानुन समितिले प्रधानमन्त्रीलाई बोलाउने
काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले भारतसँग भएको सम्झौताका बारेमा प्रधानमन्त्रीसँग जानकारी लिने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा भएको सहमति र सम्झौताका विषयमा जानकारी लिन प्रधानमन्त्रीलाई समितिमा बोलाउने निर्णय गरेको हो ।
बैठकमा केहि समिति सदस्यहरुले नेपाल र भारतबीच भएका केहि सम्झौता मुलुकको हितविपरित हुनसक्ने भएकाले सरकारसँग जानकारी माग गर्नुपर्ने धारणा राखेका थिए । सांसदहरुको माग पछि समिति सभापति बिमला सुवेदीले सम्झौताका विषय समितिको पनि क्षेत्राधिकार भएकाले यस विषयमा प्रधानमन्त्रीलाई समितिमा बोलाएर जानकारी लिने निर्णय गरेको बताए।
बैठकमा समिति सदस्य महेश बर्तौलाले नेपाल र भारतकाबीच भएको सम्झौतामाथि विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको बताए । उनले समानान्तर सरकारको अभ्यास गर्ने गरि भारतलाई अधिकार दिएको भन्ने कुरा पनि आएकाले सम्झौताका बारेमा प्रधानमन्त्रीले समितिमा जानकारी गराउन माग गरे।
त्यस्तै समिति सदस्य सन्तोष परियारले अन्तराष्ट्रिय सहमति सम्झौता समितिको कार्यक्षेत्रभित्र पर्ने भएकाले भारतसंग भएका सहमतिबारे जानकारी लिनुपर्ने बताए। उनले सरकारले राज्यलाई लामो समयसम्म असर पर्ने कुनै पनि सन्धी सम्झौता गर्न नहुने उल्लेख गरे।