चालु आर्थिक वर्षभित्रै भेरीकरिडोर कालोपत्रेका लागि ठेक्का खुलाइने
डोल्पा : भेरी करिडोर सडकको तल्नु-दुनै हुँदै ल्यासीक्यापसम्म कालोपत्रेका लागि दुई अर्ब बजेटको स्रोत सुनिश्चितता अन्तिम चरणमा पुगेको छ। चालु आर्थिक वर्षभित्रमा ठेक्का खुलाउने गरी अर्थ मन्त्रालयले उक्त रकम बराबरको स्रोत सुनिश्चित गर्न लागेको हो।
डोल्पाली जनताको भविष्य रेखासँग जोडिएको भेरी करिडोर कालोपत्रेका लागि सम्पूर्ण पहल भइसकेकाले आगामी माघ महिनाभित्र स्रोत सुनिश्चित हुने सांसद धनबहादुर बुढाले बताए। यस विषयमा सांसद बुढा र भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुजन अधिकारीसँग काठमाडौंमा छलफल समेत भएको छ।
स्रोत सुनिश्चित हुने बित्तिकै ठेक्का खुलाएर कालोपत्रेको काम सुरु हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए। प्रत्येक वर्षमा चरणबद्ध रूपमा काम हुने भएकाले उक्त रकमबाट तल्नुदेखि त्रिपुराकोटसम्म कालोपत्रे गर्न पुग्ने उनको भनाइ छ।
तल्नुबगरदेखि दुनैसम्म वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा पुग्नुको साथै चुँ गार्डदेखि त्रिपुराकोटसम्मको दुई किलोमिटर सडक शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले त्यसका लागि पनि राष्ट्रिय निकुञ्ज विभागको सहमति आवश्यक रहेको अधिकारीले बताए।स्रोत सुनिश्चित भएर काम सुरु भएको चार वर्षभित्रमा दुनैसम्म सडक कालोपत्रे लक्ष्य राखिएको उनको भनाइ छ।