हिउँ परेन, पुसमै फुल्यो गुराँस
जाजरकोट : बाह्रैमहिना सेताम्य हुने हिमालमा पुस अन्त्य हुन लाग्यो हिउँ छैन । हिमाल कालापत्थर देखिन थालेका छन् भने अन्य समय फागुन–चैत्रमा फुल्ने लालीगुराँस जाजरकोटमा पुसमै फुलेको छ । स्थानीयका अनुसार केही वर्षयता मंसिर पुसमै लालीगुराँस फुल्न थालेका छन् ।
यसअघि यसरी हिउँदमै लालीगुराँस फुलेको कहिल्यै थाहा नपाएको भेरी नगरपालिका—२ तिमिलेका ९२ वर्षीय कर्णबहादुर वलीले बताए । उनले केही वर्षयता हिमालमा हिउँ पनि देखिन छाडेको बताए । लालीगुराँस फुल्ने भेरी नगरपालिकाका तिमिले, डिगाँ, राङ्सी, मछाइना, कुशेका पाँचकाटिया, समाइला, नलगाडका लहाँ, करुवा, डाँडागाउँ, बारेकोटका रामीडाँडालगायतका गाउँमा प्रशस्त मात्रामा लालीगुराँस फुल्ने गरेका छन् ।
सबै लालीगुराँस नफुले पनि फाट्टफुट्ट रूपमा जंगलमा लालीगुराँस फुलेको देख्न सकिने भेरी नगरपालिका— ४ का ७७ वर्षीय खम्बजंग शाहले बताए । ‘पहिले यस्तो हुँदैनथ्यो । अहिले हिउँ पर्न पनि छोड्यो । लालीगुराँस पनि पुसमै फुल्न थालेको छ । बाह्रैमहिना सेताम्य हुने जाजरकोटका हिमालहरूमा पनि हिउँ देखिन छोडेको छ’, उनले भने ।
जाजरकोटका कुशेपाटन, कराँचुली, जलजला, बारेपाटनलगायतका हिमालमा अहिले हिउँ देखिन छोडेको उनले बताए । अहिले हिउँ परेको बेलामात्र हिमाल सेता देखिन्छन् अरू बेला कालापत्थर देखिन थालेका छन् । उनले भने, ‘जसका कारण हिउँचितुवा, कस्तुरी, डाँफे, मुनाललगायतका जंगली पशुपन्छी लोप हुन थालेका छन् । चिसो र गर्मी अत्यधिक बढ्न थालेको छ ।’