६२ वर्षीय तुलसीकुमार गुरुङको रोमाञ्चक आत्मकथा हो, ‘तुलसी’। जुन आत्मकथामा विशेषतः खेल क्षेत्रका विविध आयामका थुप्रै रोमाञ्चक अनुभूति छन्।
तेक्वान्दो र समाजसेवामा स्थापित नाम हो, तुलसीकुमार गुरुङ। उनी हुन्, ८ डिग्री हाई डान ग्रान्ड मास्टर तहमा पुग्ने पहिलो नेपाली। त्यही एक जीवन तर अनेक आयाम बनाएका गुरुङको जीवनयात्रा ग्रन्थ हो, ‘तुलसी’। जसमा उनको बाल्यकालदेखि उपल्लो सिँढी चढ्दाका उपलब्धि समावेश छन्।
६२ वर्षीय गुरुङको रोमाञ्चक आत्मकथा हो, ‘तुलसी’। जुन आत्मकथामा विशेषतः खेल क्षेत्रका विविध आयामका थुप्रै रोमाञ्चक अनुभूति छन्। उनले खेल यात्रामा राष्ट्रिय÷अन्तर्राष्टिय तेक्वान्दो च्याम्पियन र स्विमिङ च्याम्पियन बनेर थुप्रै पदक बटुले। तेक्वान्दोको ८ डान उनी यसै विधामा हङकङ सरकारका प्रमुख प्रशिक्षक बने। अन्तर्राष्ट्रिय रेफ्री भए। विश्वभर सैनिक एवं गैरसैनिकलाई तालिम दिए। तेक्वान्दोमा पुर्याएको योगदानको उच्च मूल्यांकन स्वरूप क्रोएसियामा गरिमामय ‘हल अफ फेम’समेत पाए। खेल र सामाजिक क्षेत्रमा योगदानको कदरस्वरूप गुरुङलाई नेपाल सरकारले पनि प्रबल जनसेवा श्री पदकद्वारा विभूषित गर्यो। यसबाहेक उनको अर्को पहिचान हो, परोपकार।
तुलसीकुमारको भैंसी आहाल बस्ने पोखरीमा पौडी खेल्दादेखि खेलकुदको माथिल्लो सिँढी चढ्दाको उपलब्धिको यात्रा वर्णन हो यो पुस्तक। पतिराम र काली गुरुङको कोखबाट जन्मेका गुरुङ पौरखी एवम् प्रेरणादायी नेपाली हुन्। गुरुङ जातिको पुस्तौनी पहिचान हो, लाहुरे। लाहुरे हुनु जातीय स्वाभिमानसँगै अहम् र अभिमान पनि हो। बुवा लाहुरे, दाइ पनि लाहुरे। सिंगो गुरुङ परिवारलाई लाहुरे परिवारभन्दा पनि फरक पर्दैन। तर, कास्कीको साइमाराङमा जन्मेका तुलसीको स्वभाव अलि फरक थियो। उनको बाल्यकाल हाइसुखको थिएन।
परिवारमा माइला छोरा तुलसी पढाइमा मध्यम थिए। पढाइमा जेठो हुन मन कहिल्यै लागेन। लड्ने भिड्नेमा कसैले जितेन। जोरी खोज्नेले कि जम्बो किक पाउँथ्यो कि भाले किक भेट्थ्यो। लडाइँ गर्न वा कुस्ती खेल्न पर्यो भने जेठो नै हुन्थे। कक्षा ९ मा पढ्न वार्चोकबाट पोखरा झरे। गाउँघरमा तुला नामले परिचित थिए। जुन नाम उनलाई फिटिक्कै मन परेको थिएन। नामलाई परिमार्जित गर्दै तुलसी बनाए। जिन्दगी लक्ष्यविहीन थियो। जे हुन्छ ठीकै हुन्छ भन्ने सोच थियो। कक्षा १० मा पढ्दै गर्दा सहपाठीको लहैलहैमा लागे। १६ वर्ष कट्दा नकट्दै ब्रिटिस लाहुरे भर्ना छनोटस्थलतर्फ सोझिए। १८ वर्ष नपुग्दै २०३४ माघ ४ गते उनी छानिए। लाहुरबाट छुट्टीमा घर आएको बखत प्रेममा बाँधिए। २१ वर्षको चञ्चले उमेरमै बाबा बने।
त्यसबेला हङकङ ब्रिटिस कोलोनी थियो। उनी हङकङको ब्रिटिस लाहुरे। पल्टनमा पुगेर न्वाला परेड खेल्न थाले। जीटीआर अर्थात् गोर्खा टान्सपोर्ट रेजिमेन्टमा रहेर ड्राइभरको जिन्दगी बिताउन पर्दा झ्याउ लाग्यो। सोही क्रममा एआईपीटी अर्थात् एसिस्टेन्ट इन्स्ट्रक्टर अफ फिजिकल ट्रेनिङ कोर्समा उनी पहिलो भए। ट्रेनिङमा सर्वोत्कृष्ट भएका कारण बेलायतमा आर्मी फिजिकल टे«निङ इन्स्ट्रक्टर (एपीटीआई) कोर्स गर्ने अवसर पाए। यो अवसर पाउने उनी पहिलो नेपाली हुन्। अत्यन्त कष्टकर यो कोर्स पूरा गरेपछि बढुवा भए। सार्जेन्ट अर्थात् हबल्दारमा बढुवा भएपछि परिवारलाई उतै झिकाए।
नियमले सैनिक क्याम्प बाहिर निस्कन मिल्दैन। मनमा गढेको खेल थियो, तेक्वान्दो। त्यसैले उनले पल्टनको समय चोरेरै भए पनि तेक्वान्दो सिक्ने योजना बनाए। तत्कालीन हाकिमसाबहरूलाई रिझाए। २०३७ सालमा तेक्वान्दो सिक्न सैनिक क्याम्प बाहिर निस्के। सानैदेखिको सपनाको रोजाइलाई पछ्याएको तेक्वान्दो सुरु गरेको एक वर्षमै ब्ल्याकबेल्ट पाए। पल्टनमा हरेक वर्ष स्विमिङ च्याम्पियनसिप हुन्थ्यो। वार्चोकको भैंसी आहाल बस्ने हिलाम्मे पोखरीमा पौडी खेल्दै हुर्केका उनी पानीमा छिर्न र डुब्न माहिर थिए। पल्टनमा हुने स्विमिङ च्याम्पियनमा ब्रिटिस फोर्सेस हङकङ च्याम्पियन भयो।
संयोगवश उता पदक थापेर बिदामा नेपाल आएका थिए। राष्ट्रिय खेलकुदको पहिलो संस्करण २०३८ भदौ २७ गतेदेखि असोज ४ गतेसम्म काठमाडौंमा आयोेजनाको तयारी भइरहेको थियो। उनले गण्डकी अञ्चलका तर्फबाट पौडी खेलमा नाम दर्ता गराए। भाग्यवश, सय मिटर र दुई सय मिटरमा नेसनल च्याम्पियन भएर गलामा दुई स्वर्ण पदक भिरे। सैनिक जीवनमा उनको फरक करिअर थपियो, पौडी। उनले धेरैलाई पौडी सिकाए। कयौं पौडीबाज उत्पादन गरे।
२०४० सालमा त उनी हङकङको तेक्वान्दोमा नेसनल च्याम्पियन नै भए। २०४२ सालमा बिदामा घर आए। नेपालमा तेस्रो राष्ट्रिय खेलकुद, २०४२ को माहोल थियो। उनले गण्डकी अञ्चलबाट मार्सल आर्टस्मा भाग लिए। मार्सल आर्टस् नाममा कराँते र तेक्वान्दोको मिश्रित खेल भएको थियो। उनी नेसनल च्याम्पियन भए। तेक्वान्दोमा एकतमासको लगाव थियो।
आफूलाई निखार्दै र तिखार्दै लगेका गुरुङ पल्टनका नियमहरू धेरै पटक उल्लंघन गरे। जसका कारण कतिपल्ट अतिरिक्त ड्युटीमा परे। कतिपटक निश्चित दिनका लागि बाहिर निस्कन नपाउने गरी प्रतिबन्ध खेपे। तर, पनि अटेर गरेर लुकीलुकी निस्कन्थे। तेक्वान्दोप्रतिको अमीट चाहना पूरा गरेरै छोड्थे। हङकङमा दुई पटक नेसनल च्याम्पियन भएपछि बल्ल चर्चा चुलियो। पल्टनमा उनीभित्रको क्षमताको पहिचान बढ्दै गयो। ब्रिटिस गोर्खा पल्टनमा विभिन्न किसिमका क्लोज कम्ब्याट ट्रेनिङ गराए।
२०४३ सालतिर एसिएन तेक्वान्दो युनियनको रेफ्री तालिम लिन पुगे। २०४४ मै नेपालमा भएको एसियन तेक्वान्दो च्याम्पियनसिपमा पहिलोपटक रेफ्री बने। २०४७ सालमा फिलिपिन्सको मनिलामा एकहप्ते तेक्वान्दो इन्टरनेसनल रेफ्री कोर्स गरे। त्यही आधारमा उनी क्वालिफाइड इन्टरनेसल रेफ्री बन्ने मौका पाए। यसरी मकाउ, थाइल्यान्ड, अमेरिकामा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायक बने।
हङकङको स्वामित्व बेलायतले चीनलाई सुम्पेपछि उनले ब्रिटिस आर्मीको जागिर छाडे। २०५३ सालदेखि बडीगार्ड टे«नरका रूपमा नयाँ काम सुरु गरे। तेक्वान्दोका ५ डान गुरुङले क्लब दर्ता गरे। नेपाली समुदायलाई तेक्वान्दोमा संगठित गरे। कोच बन्न प्रस्ताव गर्यो। अफिसियल कोचमा नियुक्त भए। २०६९ सालमा उनलाई हङकङ तेक्वान्दो एसोसिएसनको हेड कोचको घोषणा गर्यो। जुन उनको जीवनको माथिल्लो उपलब्धि हो।
तेक्वान्दोप्रतिको लगाव यथावत् थियो। २०७१ सालमा क्रोएसियामा उनलाई तेक्वान्दोको हल अफ फेमसमेत प्रदान गरिएको थियो। सोही वर्ष उनी कोरिया पुगे। ८ डिग्री ब्ल्याकबेल्टको कोर्स पूरा गरे। यसलाई हाई डानसमेत भनिन्छ। ८ डानको कोर्समा प्रयोगात्मक र सैद्धान्तिक दुवै खाले परीक्षा हुन्छ। थेसिससमेत लेख्नुपर्छ। अब उनको धोको छ, ९ डान लिने।
खेलाडी, रेफ्री, कोच सबै भूमिका निर्वाह गरेका गुरुङको अर्को पाटो परोपकार पनि हो। हङकङ नेप्लिज तेक्वान्दो एसोसिएसनको अध्यक्षको भूमिका निर्वाह गर्दाको कमाइलाई प्रेसिडेन्ट फन्डमा राखेका छन्। त्यो कोष हङकङमा नेपाली तेक्वान्दोको हित र प्रवद्र्धनमा खर्च गर्छन्। नेपाली तेक्वान्दोलाई शिखरमा पुर्याउन कसैका ठोस परियोजनामा होस्टे हैंसे गर्न उनी इच्छुक छन्। भन्छन्, ‘आफूले पुर्याउन नसकेको गन्तव्यमा कसैलाई पुर्याउन लौरो बनिदिन लालायित छु। चाहे त्यो हङकङमा होस् वा नेपालमा। सधैं साथमा छु। ‘ग्रान्ड मास्टर’को सीप हातमा बोकेर बसेको छु। आउनुहोस्। कोही अघि सर्नुहोस्।’
गुरुङको सफलता जन्मस्थान वार्चोक गाउँको चुचुरो लम्तरीभन्दा होचो छैन। खेल क्षेत्रमा उनी रोलमोडल बनेका छन्। तेक्वान्दोमा च्याम्पियन हुने क्रममा ‘फादर च्याम्पियन’ वा ‘हस्बेन्ड च्याम्पियन’ बन्ने सुवर्ण अवसर गुमाएकोमा भने थकथकी व्यक्त गर्छन्। गुरुङको यो सारा जीवनयात्रा समेटिएको पुस्तकमा उनका अनेक व्यक्तित्व छताछुल्ल छन्। भिन्नभिन्न अवतारले पाठकलाई रोमाञ्चित गराउँछ। बाल्यकालको छुल्याहा स्वभाव, गाउँघरमा खेलिने छेलोदेखि स्विमिङ च्याम्पियन बन्दाका अनुभूति रोचक छन्। ‘दादागिरी देखाउँदा लभ परेको’ जस्ता घटनाक्रमले पुस्तकलाई रोचक बनाउँछ। आमा, श्रीमती, छोरासँगै अन्य व्यक्तिको गुरुङप्रतिको दृष्टिकोण पनि पुस्तकमा छ।
खेल क्षेत्रमा हुने नकारात्मक प्रवृत्तिप्रति गुरुङले चिन्ता व्यक्त गरेका छन्। आनिबानी, ब्रिटिस गोर्खा सैनिकमा भर्ना भएपछिका दुःख, सुख र हण्डरहरू रोचक छन्। अनेकौं प्रसंगले खेलकुदका विविध पक्षबारे बहसका लागि मनग्गे खुराक दिएका छन्। पुस्तक तीन खण्डमा विभाजित छ। पहिलो खण्डमा आफ्नो कथामा तुलसीकै अभिव्यक्ति छ। दोस्रो खण्डमा तुलसीको सफलताकी प्रेरक पत्नी गंगाको अनुभूति छ। तेस्रो खण्डमा उनलाई नजिकबाट नियालेका व्यक्तिहरूको भनाइ छ।
तुलसीको जीवनलाई शब्दमा उतार्ने सम्पादक अखण्ड भण्डारीको भाषामाथि दक्खल देखिन्छ। भाषिक कौशलताले गर्दा पुस्तक सनातनी लेखाइ र शैलीभन्दा पृथक् छ। जसका कारण पुस्तकको प्रस्तुतिदेखि अन्त्यसम्म रोचक छ। छरितो भाषाशैलीले गर्दा पठनमा जो कोहीलाई तान्छ। पुस्तकले सचेतना जगाउँछ, प्रेरणा दिन्छ। समाजसेवाप्रति प्रेरित गर्छ। पठन प्रवाहमा उतारचढाव ल्याउँछ, पाठकलाई सोच्ने ठाउँ दिँदै विष्मय र कौतुहलबीच उद्वेलित गराइराख्छ।
वि विल राइज फाउन्डेसनले पुस्तक प्रकाशन गरेको हो। पुस्तकबाट प्राप्त हुने सम्पूर्ण आम्दानी सामाजिक कार्यमा उपयोग गर्नेगरी फाउन्डेसनलाई प्रदान गर्ने घोषणा गरेका छन्।