त्रिवि रेकर्डको अन्तर्य
नेपालीमा उखान छ, सुतेको मानिसलाई जगाउन सकिन्छ तर सुतेको जस्तै बहाना गर्नेलाई जगाउन सकिँदैन। यही उखानसँग मिल्दोजुल्दो व्यवहार नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)को देखिएको छ। पछिल्लो समय त्रिविमा बेथिति मौलाएको भनेर चौतर्फी आलोचना भइरहेका बखत यसको न्यूनीकरणका लागि कदम चाल्नुपर्नेमा त्रिविको ध्यान भने अर्कैतर्फ मोडिएको देखिन्छ। हालै सम्पन्न त्रिविको ४९औं दीक्षान्त समारोहमा सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर विश्व रेकर्ड कायम गरेको दाबी गरिएको छ। ‘अफिसियल वल्र्ड रेकर्ड’ नामक संस्थाले त्रिविलाई विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरेको जनाइएको छ। त्यही प्रमाणपत्रका आधारमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दाबी गर्ने त्रिविका अधिकारीहरूले जनाएका छन्।
तर, त्रिविको निमन्त्रणामा आएको ‘अफिसियल वल्र्ड रेकर्ड’ नामक संस्थाको आधिकारिकतामा भने धेरैले शंका व्यक्त गरेका छन्। यसअघि कतै नामसमेत नसुनिएको उक्त संस्थाले प्रदान गरेको प्रमाणपत्रलाई आधार बनाएर त्रिविले कतै आफ्ना कमजोरी ढाकछोप गर्ने तिकडम त रचेको होइन ? आशंका उब्जिएको छ। दीक्षान्तमा त्रिवि धेरै विद्यार्थी अध्ययन गर्ने र दीक्षित हुने विश्वविद्यालयका रूपमा विश्व कीर्तिमान कायम गरेको बताइएको हो। त्रिविले ५ अध्ययन संस्थान र ४ संकायका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसबाट पढाइ पूरा गरेका ७३ हजार ७ सय ४९ विद्यार्थीलाई दीक्षित गरेको जनाएको हो। दीक्षान्त समारोहमा करिब १२ हजार ४ सय १५ विद्यार्थी दीक्षित भएका छन्। यसैबीच ‘अफिसियल वल्र्ड रेकर्ड’ नामक युरोपियन गैरसरकारी संस्थाले २६ हजारभन्दा बढी मानिसको भौतिक उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न गरेको भन्दै त्रिविलाई विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरेको छ। गत वर्षहरूमा पनि त्रिविले ६० देखि ७० हजारको हाराहारीमा वार्षिक रूपमा विद्यार्थी दीक्षित गर्दै आएको थियो। जब कि यसै वर्ष टाइम्स हायर एजुकेसनले सार्वजिक गरेको विश्वभरका विश्वविद्यालयको वरीयतामा त्रिविको स्थान खस्किएर १२ सयदेखि १५ सयको सूचीमा परेको थियो। विश्व वरीयतामा पाँच वर्षयता ८ सयदेखि १ हजारभित्रको सूचीमा पर्दै आएको त्रिविको वरीयता अहिले कमजोर बनेको हो। त्रिवि भने यसलाई मान्न तयार देखिएन। विभिन्न वहाना बनाएर अब्बल रहेको भन्दै विज्ञप्तिसमेत जारी गरेको थियो।
त्रिविले कमजोरी स्वीकार्न नसके पनि यसलाई पुष्टि गर्ने आधार भने त्रिविसँग देखिँदैन। विगत वर्षहरूमा भन्दा त्रिविको स्तर दिन प्रतिदिन खस्किने क्रममा छ। नियमित पठनपाठन हुन नसक्नु, समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशित गर्न नसक्नु, अनुसन्धानात्मक क्रियाकलापमा ध्यान दिन नसक्नु, दक्ष एवं प्राविधिक जनशक्तिको उत्पादन गर्न नसक्नुका कारण यसप्रति विद्यार्थीको आकर्षण घट्दै गएको देखिन्छ। आर्थिक सर्वेक्षण २०७९/८० अनुसार देशभर सञ्चालित विभिन्न ११ विश्वविद्यालय र अन्तर्गतका क्याम्पसमा ६ लाख ८७ हजार ४ सय १ जना विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ। यसमध्ये त्रिवि र अन्य विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी संख्याको अनुपात क्रमशः ७८.२ र २१.८ प्रतिशत रहेको बताइएको छ।
सबैभन्दा बढी विद्यार्थी भएको भनिएको त्रिविमा पछिल्लो समय विद्यार्थीको संख्या घट्दै गएको छ। विश्वविद्यालयमा विद्यार्थी भर्ना भए पनि उनीहरूले पठनपाठनलाई निरन्तरता नदिएको पाइएको छ। यता त्रिविलाई भने आफ्ना विद्यार्थी कहाँ गए, के गर्दैछन् ? अत्तोपत्तो छैन। राजनीतिक हस्तक्षेप र भागबन्डाको खेलले त्रिवि राजनीतिक दलहरूको क्रीडा स्थल बनेको छ। उपकुलपति, रेक्टर, रजिस्ट्रार, क्याम्पस प्रमुख, विभागीय प्रमुखजस्ता नेतृत्वदायी पदहरूमा नियुक्ति गर्दा कार्यकुशलता र विज्ञतालाई भन्दा राजनीतिक आस्थालाई पहिलो प्राथमिकता दिएको पाइन्छ। यसको पछिल्लो उदाहरण त्रिवि उपकुलपतिविहीन हुनुलाई लिन सकिन्छ।
यसकारण त्रिविका आर्थिक, प्रशासनिक र शैक्षिक कार्यक्रमहरू संकटमा पर्न सक्ने भन्दै चिन्तासमेत व्यक्त गरिएको छ। त्रिविमा पूर्णकालीन उपकुलपति नियुक्ति हुन नसक्नुको एउटा मात्र कारण राजनीतिक भागबन्डा भएको जानकारहरू बताउँछन्। हाल त्रिविमा करिब ४ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। पछिल्लो समय त्रिवि बेरोजगार उत्पादन गर्ने कारखाना जस्तै बनेको छ। आफू कमजोर रहेको क्षेत्रमा आवश्यक सुधारका लागि नीति तथा कार्यक्रमहरूको तर्जुमा गरी अगाडि बढ्न तयार हुनुपर्ने देखिन्छ। यसका लागि त्रिविलाई सर्वप्रथम राजनैतिक हस्तक्षेपबाट टाढा राख्नु आवश्यक छ। त्रिविलाई राजनीतीकरणको चंगुलबाट निकालेर अनुसन्धान, सिर्जनशीलता, जीवनोपयोगी शिक्षासँग सम्बन्धित पक्षमा ध्यान दिन आवश्यक छ।
त्रिविका उच्च पदहरूमा दलीय भागबन्डामा नभई खुला प्रतिस्पर्धाबाट सक्षम र प्रतिभाशाली व्यक्तित्वलाई जिम्मेवारी दिनुपर्ने हुन्छ। विश्वविद्यालयले मुलुकको समग्र विकासका लागि दक्ष जनशक्तिको उत्पादन गर्न सक्नुपर्छ। जसले कुनै समस्याको विश्लेषण गर्ने, तर्क गर्ने, प्रस्तुत गर्ने र समाधान खोज्ने सामथ्र्य राखेको हुन्छ। अनि मात्र त्रिविको छवि मुलुक भित्रमात्र नभई अन्तर्राष्ट्रिय जगत्मा समेत सकारात्मक देखिनेछ। यसका लागि त्रिविले विगतका कमजोरीहरूलाई सच्याउँदै अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको छ।