बंगलादेशमा आज आमनिर्वाचन हुँदै
एजेन्सी : बंगलादेशमा आज आम निर्वाचन भइरहेको छ। स्थानीय समयअनुसार बिहान ८ बजेदेखि मतदान सुरू भएको हो। मतदान बेलुका ५ बजेसम्म हुने जनाइएको छ।
संसदको ३०० निर्वाचन क्षेत्रमध्ये २९९ सिटका लागि आज मतदात भइरहेको हो। एक उम्मेदवारको मृत्यु भएकाले एक स्थानको मतदान स्थगित भएको छ।
निर्वाचनमा प्रधानमन्त्री शेख हसिना नेतृत्वको सत्तारुढ अवामी लिगले जित हासिल गर्ने करिब करिब पक्काजस्तै भएको छ। पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको प्रमुख प्रतिपक्ष दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का साथै केही राजनीतिक दलहरूले भने यो निर्वाचनलाई बहिष्कार गरेका छन्।
निर्वाचन बहिष्कार गरेका दलहरूले देशभर आमहड्ताल गर्ने चेतावनी दिएका छन्। निर्वाचन सुरू हुनुअघि आज बिहान बीएनपीका समर्थकहरूले केही स्थानहरूमा मार्चपास समेत गरेका छन्।
प्रधानमन्त्री हसिनाले राजधानी ढाकास्थित सिटी कलेज मतदान केन्द्रमा मतदान गरिसकेकी छन्। मतदानपछि प्रधानमन्त्री हसिनाले मतदान केन्द्र गएर मतदाताहरूलाई निर्धक्क भएर मतदान गर्न आग्रह गरेकी छन्।