वैदेशिक रोजगारीका नाममा बिचल्ली पारिन्छन् महिला
सिन्धुपाल्चोक :
- घरायसी कामका लागि दलालीमार्फत १२ लाख खर्च गरेर युरोप हिँडेकी ३२ वर्षीया डिकी शेर्पालाई दलालीले दुबईमा पुर्याइदियो। अहिले उनी दुबईमा अलपत्र छिन्। उनलाई नेपाल ल्याउन प्रयास गरिरहेको उनकी दिदी फुर्वा शेर्पा बताउँछिन्।
- कुबेतमा मानसिक सन्तुलन गुमाएर बेवारिसे भएकी भोटेकोशी गाउँपालिकाको मार्मिङकी अनिशा विक केही उपचार गरेर नेपाल फर्किइन्। विभिन्न संस्था र दूतावासको पहलमा सात वर्षपछि नेपाल फर्केकी थिइन्। राम्रो उपचार गर्न नपाउँदा अन्ततः उनले संसार त्यागिन्।
- वैदेशिक रोजगारीका क्रममा दुबई पुगेकी पाँचपोखरी थाङ्पाल गाउँपालिका, भोताङकी लप्साङ तामाङको उतै मृत्यु भयो। उनको शव परिवारले नेपाल ल्याउन सकेन।
वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुक पुगेर दुःख भोगेका सिन्धुपाल्चोकका महिला र उनीहरूका परिवारका यी प्रतिनिधि घटना मात्रै हुन्। असुरक्षित रूपमा विदेश जाँदा यी र यस्ता धेरै घटनाले नेपाली महिलालाई समस्यामा मात्रै पारेको छैन, धेरैले विदेशी भूमिमै ज्यान गुमाउनुपरेका उदाहरण छन्।
सिन्धुपाल्चोकमा पछिल्लोपटक १६ देखि ४५ वर्षका विदेश जाने महिलाहरूको संख्या ह्वात्तै बढेको छ। चालू आर्थिक वर्षको मंसिरसम्ममा १ हजार ७५ जना श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन्। साउनमा २ सय ६२ जना, भदौमा २ सय १ जना, असोजमा २ सय ४४ जना, कात्तिकमा १ सय ५९ जना र मंसिरमा २ सय ९ जना श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गएको सरकारी तथ्यांकले देखाउँछ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जाने महिला कामदारमध्ये सिन्धुपाल्चोक दोस्रो नम्बरमा रहेको छ। विभागका अनुसार पछिल्लो ५ वर्षमा सिन्धुपाल्चोकबाट बिदेसिने महिलाको संख्यामा वृद्धि भएको छ। आर्थिक वर्ष २०७९/८० मा २ हजार ५ सय ८३, २०७८/७९ मा २ हजार १ सय ७७, २०७७/७८ मा ६ सय ८, २०७६/७७ मा १ हजार ४ सय २२ र आव २०७५/७६ मा २ हजार १ सय २३ जना वैदेशिक रोजगारका लागि बिदेसिएका छन्।
हालसम्म सिन्धुपाल्चोकका १८ हजार ५ सय जना महिला वैदेशिक रोजगारीका लागि बिदेसिएको सरकारी तथ्यांक छ। गरिबी, बेरोजगारी र देखासिकीको भरमा महिला कामदार कुबेत, बहराइन, साउदी अरेबियालगायतका मुलुकमा जाने गरेको विभागको तथ्यांकमा उल्लेख छ। भोटेकोशी गाउँपालिकाको मार्मिङबाट एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको माइती नेपालको तथ्यांक छ। मार्मिङबाट १ सय ६१ जना महिला भारतको बाटो भएर इराक पुगेका छन्।
वैदेशिक रोजगारीमा जानेलाई परामर्श गरिरहेको सुरक्षित आप्रवास कार्यक्रम (सामी) को तथ्यांकअनुसार एक वर्षभित्र सिन्धुपाल्चोकमा वैदेशिक रोजगारीसम्बन्धी परेको ४७ उजुरीमध्ये २२ वटा महिलाको रहेको छ। जसमध्ये १९ वटा वैदेशिक रोजगारीसम्बन्धी ठगीको उजुरी रहेको सामीले जनाएको छ। सरकारले औपचारिक रूपमा जाने महिलाको रेकर्ड राखेपछि अनौपचारिक रूपमा गएर जोखिममा परेका महिलाको संख्या अझ बढी रहेको श्रमविज्ञहरू बताउँछन्।
औपचारिक रूपबाट भन्दा दोब्बर बढी अनौपचारिक रूपमा नेपाली महिला वैदेशिक रोजगारीमा गएको श्रमविज्ञ सरु जोशी बताउँछिन्। ‘दलालमार्फत कति जना महिला रोजगारीमा गए, त्यसको सरकारकासँग तथ्यांक नै छैन। गएकामध्ये कतिको मृत्यु भयो, कति जेलमा छन्, कति बेपत्ता छन्। सरकारसँग यसको तथ्यांक नै छैन,’ उनले भनिन् ।
परिवारले नै स्वीकार्दैनन्
कुनै बेला चेलीबेटी बेचबिखनको जिल्लाको रूपमा चिनिएको सिन्धुपाल्चोक पछिल्लो समय महिला आप्रवासनका लागि चिनिन थालेको छ। पैसा कमाउने, धनी बन्ने र आनन्ददायी जीवन बिताउने सपना बोकेर बर्सेनि धेरै महिला खाडीमुलुक पुग्छन्। यसरी खाडी पुग्ने केहीले सपना पूरा पनि गर्छन्। केही दुःख, पीडाको पोको बोकेर निराश हुँदै स्वदेश फर्कन्छन्। कति त उतै बेपत्ता हुन्छन्। विदेशमा सास्ती खेपेर फर्केको, श्रम शोषण, घरेलु हिंसादेखि बलात्कारको सिकारसम्म भएको कुमारी चेलीले नासोमा बच्चा लिएर फर्केको, मानसिक सन्तुलन गुमाएको घटनाहरू बढिरहेको छ।
‘वैदेशिक रोजगार कहाँ सहज छ र ? आफ्नो कोही हुन्न मालिकको निर्देशन, निगाहामा दैनिकी गुजार्नुपर्छ’ कुराकानीको सिलसिलामा वैदेशिक रोजगारबाट फर्केकी निशा (नाम परिवर्तन) ले भनिन्, ‘कति त शारीरिक शोषणा हुने काममा बेचिन्छन् त कोही श्रमिकको रूपमा बेचिन्छ।’ दिनदिनै आफूमाथि कुटपिट गर्ने श्रीमान्को कुटाइ खान नसकेर घरेलु कामदारको रूपमा कुबेत उडेकी थिइन्।
उनी उता काम गर्न गएकै मौका पारेर श्रीमान्ले भने यता दोस्रो विवाह गरे। यो खबर पाएपछि उनी नेपाल फर्किइन्। दोस्रो विवाह गरेका श्रीमान्ले नै उनलाई विदेशमा परपुरुषसँग अनैतिक सम्बन्ध राखेको आरोप लगाए। उनलाई न परिवारले स्विकार गर्यो, न त समाजले नै। समाजले वैदेशिक रोजगारीमा गएकी महिला भनेर बहिष्कार गर्दा उनी बिचलित भइन्।
अहिले आफ्नो सन्तानको जिम्मेवारी धानेर बसिरहेकी उनी भन्छिन्, ‘वैदेशिक रोजगारीमा जाने महिलालाई हाम्रो समाजले र घरपरिवारले हेर्ने दृष्टिकोण निकै खराब रहेछ। एक हिसाबले उनीहरू समाजबाट बहिष्कार नै हुनुपर्ने अवस्था छ। देशमा त हामी महिलाहरूलाई काम गरेर खाने वातावरण छैन नै, विदेशमा काम गरेर फर्कियो, समाज र हाम्रो घर परिवारलाई लाग्छ कि हामीले ठूलो पाप गरेर फर्कियौं।’
उनीजस्तै जुगल गाउँपालिकाकी मनमाया तामाङ काठमाडौं कपनको फुटपाथमा कपडा व्यापार गर्थिन्। व्यापारको क्रममा हेटौंडाका एक पुरुषसँग चिनजान भयो। चिनजान मायामा परिणत भयो र २ वर्षपछि विवाहमा। विवाह गरेको ५ वर्षमा उनीहरूको २ सन्तान भए। ती २ सन्तानको राम्रा शिक्षा र सिंगो परिवारको भविष्य सुखद् बनाउने सपना सजाउँदै उनी साउदी पुगिन्।
तर, सपना सजाएजस्तो राम्रो भएन, घरेलु कामदारका लागि गएकी उनलाई श्रम मात्रै हैन मालिकले शारीरिक शोषण पनि गर्न थाले। उनले आफ्नो पीडा श्रीमान्लाई सुनाइन् तर परपुरुषले छोएको भन्दै श्रीमतीको रूपमा श्रीमान्ले स्वीकार गरेनन्। परिवारको सुखद् भविष्यका लागि विदेश गएकी उनी धेरै दुःख र हन्डर खेपेर फर्कंदा परिवारकै साथ पाइनन्। सामाजिक संस्थाको सहयोगमा नेपाल फर्केकी उनले श्रीमान्को घर प्रवेश नपाएपछि अन्ततः माइतीघर नै फर्किइन्।
विदेशमा समस्या भोगेर आएका महिलाहरूलाई परिवार र समाजका पुनस्र्थापना हुन प्रश्नहरूको ताँती लाग्ने गर्छन्। ‘घरमा आयो प्रश्नै प्रश्नले अठ्याउँछन्’ तामाङले भनिन्। वैदेशिक रोजगारबाट विभिन्न समयमा फर्किएका महिलाका लागि समाजमा पुनस्र्थापनामा समस्या हुने गरेको छ। लामो समय वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा रहेर काम गरी फर्किएका महिलालाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक हुने भएकाले समाजमा स्थापित हुन असहजता हुने गरेको उनको भनाइ छ।
एउटै गाउँबाट १६१ जना महिला इराक पुगेको भोटेकोशी गाउँपालिका–५ मामिङ गाउँ ।
वैदेशिक रोजगारीमा जाने पुरुषको तुलनामा महिला झनै जोखिममा पर्ने गरेको इन्सेक प्रतिनिधि नातिबाबु धिताल बताउँछन्। ‘महिलामैत्री नीति–नियम निर्माणमा न त नेपाल स्वयं आफैंले पहल गरेको छ, न त गन्तव्य मुलुकलाई जिम्मेवार बनाउन सकेको छ,’ उनले भने। त्यति मात्रै होइन, वैदेशिक रोजगारीबाट फर्केको अधिकांश महिला घर, परिवार र समाजमा पुनस्र्थापित हुन नसकिरहेको उनको भनाइ छ।
विवाह गर्दै, विदेश पठाउँदै
सिन्धुपाल्चोकमा वैदेशिक रोजगारीभित्र लुकेको एउटा रोचक तथ्य छ– विवाह गर्ने र विदेश पठाउने। जिल्लाकै दुर्गम गाउँपालिका भनेर चिनिने जुगल, इन्द्रावती, भोटेकोशी, हेलम्बुलगायतका गाउँपालिकामा विवाह गर्दै श्रीमतीलाई वैदेशिक रोजगारीमा पठाउने क्रम बढेको छ। ‘हामीले यो विषयमा सुन्दै त आएका छौं तर ठ्याक्कै यति नै संख्यामा विवाह गर्ने र विदेश पठाउने कार्य भएको छ भन्ने तथ्यांकचाहिँ छैन’, जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले भने।
दुर्गम बस्तीहरूमा सानै उमेरमा विद्यालय छोडेर विवाह गर्ने, श्रीमतीलाई विवाह गरेर विदेश पठाउने अनि फेरि अर्को विवाह गर्ने, पालैपालो श्रीमती विदेश पठाउने र स्वदेश झिकाउने प्रचलन रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। दुर्गम गाउँका दलित र जनजाति समुदायमा यस्तो प्रवृत्ति बढेको पाइएपछि नागरिकता र राहदानी बनाउन कडाई गरेको प्रशासनले जनाएको छ।
‘दैनिक ३५ देखि ४० जनाले राहदानी बनाउन फारम लिएर आउने गरेका छन्’, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रवीन्द्र मानन्धर भन्छन्, ‘उनीहरूलाई सोधपुछ र परामर्शपछि मात्रै राहदानीका लागि स्वीकृति दिने गरिएको छ।’ राहदानी लिन आउनेमा किशोरीहरू र महिला बढी रहेको उनले बताए। पछिल्लो तीन महिनामा १ हजार ८ सय ७८ जनाले राहदानी लिएको प्रशासन कार्यालयको तथ्यांक छ। ७० प्रतिशतभन्दा बढीले वैदेशिक रोजगारीमा जान राहदानी बनाउने गरेको प्रशासन कार्यलयले जनाएको छ।
सम्बन्ध विच्छेद बढ्दो
सिन्धुपाल्चोक जिल्ला अदालतमा दैनिक ५ देखि ८ वटासम्म सम्बन्ध विच्छेदका उजुरी पर्ने गरेको छ। श्रीमान् अथवा श्रीमती वैदेशिक रोजगारीमा गएपछि उत्पन्न परिस्थितिकै कारण सम्बन्ध विच्छेदका उजुरी पर्ने गरेको अदालतले जनाएको छ। विदेश गएपछि नेपालमै रहनेले दोस्रो विवाह गर्ने वा अवैध सम्बन्ध राखेकै कारण विदेशबाट फर्किएपछि यस्ता मुद्दा दर्ता हुने गरेको अदालतका ठम्याइ छ।
‘वैदेशिक रोजगारी नै सम्बन्ध विच्छेदको मूल कारण देखिन्छ’, सिन्धुपाल्चोक जिल्ला अदालतका सूचना अधिकारी अक्षयकुमार दनुवारले भने, ‘वैदेशिक रोजगारीकै कारण बहुविवाह बढेको छ र यसकै कारण सम्बन्ध विच्छेदका उजुरी पनि बढेको हामीले पाएका छौं।’ यही कारणले पारिवारिक मनमुटाव बढ्ने गरेको र त्यो सम्बन्ध विच्छेदसम्म पुगेको उनले बताए।
विदेश जानेले परिवारको ख्याल नगर्ने, उतै अर्को सम्बन्ध बनाउने गरेको पनि देखिएको दनुवारले बताए। विदेशमा दुःखले कमाएको रकम घरमा बस्नेले मनलाग्दी खर्च गरिदिएका कारण पनि यस्ता घटना बढेको उनको ठम्याइ छ। चालू आर्थिक वर्षको तीन महिनामा ५२ वटा सम्बन्ध विच्छेदका उजुरी दर्ता भएको छ। तीमध्ये २४ फछ्र्यौटसमेत भइसकेका छन्।
पाइलापाइलामा ठगी
चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेकी सविना लामाले संयुक्त अरब इमिरेट्स जान दलाललाई १ लाख रुपैयाँ दिइन्। सामान्य लेखपढ मात्र जानेकी उनले गाउँकै चिनेजानेका साथीको लहलहैमा लागेर दलाललाई रकम बुझाएकी उनी ठगिएको कारण विदेश जान पाइनन्।
‘पैसा लिनुअघि दलालले सिनामंगलमा रहेको एउटा मेनपावर कम्पनी आफ्नो हो भनेर देखाएको थियो। तर, त्यो त उसको रहनेछ’, उनले भनिन्, ‘पैसा लिने व्यक्ति फरार भएपछि सोधीखोजी गर्दै काठमाडौंसम्म आएँ। तर, अहिलेसम्म दलाल फेला परेको छैन। नबुझिकन रकम बुझाउँदा एकातिर विदेश जाने सपना चकनाचुर त भयो नै साथै बडो मुस्किलले जम्मा गरेको रकम पनि गायब भयो।’
सोही ठाउँकी ४५ वर्षीया कमला तामाङ कम्पनीमार्फत नै जोर्डन पुगेकी थिइन्। कम्पनीमा काम भनिए पनि सप्लाइमा परेकी उनले तीन महिनापछि काम पाइनन् र फर्किन् बाध्य भइन्। घरायसी कामका लागि गएकी उनलाई दिनरात नै काम लगाइन्थ्यो। तीन महिनापछि मेनपावरले अर्को साहुकोमा काम लगाइदिन खोजे पनि उनी फर्किएकी हुन्। भाषाको समस्याका कारण काम गर्न धेरै गाह्रो हुने उनको भनाइ छ। जतिखेर पनि काम लगाउने र आराम गर्ने फुर्सद् नै नहुने उनको अनुभव छ।
स्वभावले नै सोझो र अरूलाई छिट्टै विश्वास गरिहाल्ने प्रकृतिका कारण पनि महिलाहरू वैदेशिक रोजगारीको क्रममा बढी ठगिने सुरक्षित आप्रवासन कार्यक्रम सामीका जिल्ला संयोजक अरुण पौडेल बताउँछन्। अधिकांश महिला घरायसी कामकै लागि विदेश जाने गरेको र भाषा, शिक्षा, सीपबिना जाँदा उनीहरू ठगिने गरेको उनको बुझाइ छ।
पछिल्लो समयमा श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या घट्दै गएपछि मेनपावर र दलालको ध्यान महिलातिर तानिएको छ। अशिक्षा, चेतना, चरम बेरोजगारी र गरिबीको कारण महिलाहरू उहिले रोजगारीको नाममा बेचबिखनमा पर्थे भने अहिले वैदेशिक रोजगारीका नाममा दुःख पाइराखेको मानव अधिकार मञ्चकी कर्मचारी कृति गोलेले बताउँछिन्।
‘चोरीको बाटो हुँदै महिलालाई वैदेशिक रोजगारीमा पठाउँदा निकै जोखिम हुन्छ भनेर जानकारी दिइरहेका छौं,’ गोले भन्छिन्, ‘तैपनि महिलालाई बाहिर पठाउने गिरोह सक्रिय भइरहेको छ। यसको रोकथामका लागि सबैको सहयोग आवश्यक छ।’
दलालले बढीमा एसएलसीसम्म अध्ययन गरेका, विवाहित त्यसमा पनि पति र घरपरिवारसँग राम्रो सम्बन्ध नभएका महिलाहरूलाई झुक्याएर वैदेशिक रोजगारीमा पठाउने गरेको उनले बताइन्। गाउँमा सामान्य जीवन बिताइरहेका युवतीसँग सुरुमा मायाप्रेमको नाटक गर्ने र विस्तारै उनीहरूको रकम कुम्ल्याउन दलालले वैदेशिक रोजगारीका लागि चोरीको बाटो प्रयोग गर्ने गरेका छन्। झुक्याएर महिलालाई वैदेशिक रोजगारीमा पठाउने धेरैजसो दलालले भारतीय बाटो प्रयोग गर्ने गरेको पाइएको उनको भनाइ छ।
इज्जतको डरले रोज्दैनन् कानुनी बाटो
वैदेशिक रोजगारको क्रममा ठगिएका तथा विभिन्न शोषणमा परेका महिलाहरू ठूलो संघर्षपछि नेपाल फर्केर पनि कानुनी रूपमा क्षतिपूर्ति लिने बाटो रोज्दैनन्। कतिपयलाई कानुनी अधिकारबारे थाहै नभएको बताउँछन्। कतिपय चाहिँ आफ्नो विगतबारे समाजमा सबैलाई जानकारी होला र इज्जत जाला भनेर विगत लुकाएर नयाँ बिहानी कोर्न चाहन्छन्।
रोजगारीको क्रममा चरम लैंगिक हिंसामा परेर फर्किएका महिलाहरू धेरैजसो त आफ्नो पुरानो समाज र परिवेशमा फर्कन नै नचाहने गरेको अधिकारकर्मीहरू बताउँछन्। खाडी मुलुकमा कामका लागि जाने गरेका महिला सामान्य लेखपढ गरेका हुने भएकाले घरायसी सहयोगीका रूपमा गई हिंसामा परी नेपाल फर्कने अधिक भए पनि न्यायको लडाइँमा उत्रनै नचाहने गरेको शक्ति समूहकी केश मेनेजर लक्ष्मी तामाङ बताउँछिन्।
‘कतिपयलाई समाजमा पुरानै हैसियतमा स्थापित हुन नसकेपछि अन्ततः महिलाहरू कि त फेरि वैदेशिक रोजगर कि त अन्यत्र बसाइँ सर्ने गरेका छन्। विदेशमा हुने गरेको मानसिक तनाव बिर्सनका लागि आफ्नै देशमा फर्केर आउँदा उनीहरू गाउँमा आफ्नोपन आभाष गर्न पाइरहेका हुँदैनन्’, उनले भनिन्, ‘खाडीमुलुकमा घरेलु कामका लागि जाने गरेका महिला सामान्य लेखपढ गरेका वा अनपढ हुने भएकाले पनि न्यायको लागि लड्ने र सम्बन्धित निकायमा उजुरी दिने काम गर्लैनन्।’
वैदेशिक रोजगारीमा गएर समस्यामा परेर स्वदेश फर्केका प्रभावित क्षेत्रहरूमा चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने, आयआर्जनका आधारहरू पहिचान गरी त्यसलाई क्रमिक रूपमा कार्यान्वयन गर्दै लैजानेजस्ता केही उपायहरू तत्काल अवलम्बन नगरे महिलाहरू विदेशमा गएर समस्यामा पर्ने क्रम नरोकिने सुरक्षित आप्रवासन कार्यक्रम सामीका मनोसामाजिक परामर्शकर्ता निर्मला श्रेष्ठ बताउँछिन्।
औपचारिक रूपबाट भन्दा दोब्बर बढी अनौपचारिक रूपमा नेपाली महिला वैदेशिक रोजगारीमा गएको देखिन्छ। दलालमार्फत कति जना महिला रोजगारीमा गए, त्यसको सरकारसँग तथ्यांक नै छैन। गएकामध्ये कतिको मृत्यु भयो, कति जेलमा छन्, कति बेपत्ता छन्। सरकारसँग यसको तथ्यांक नै छैन।
सरु जोशी, श्रमविज्ञ
कतिपयलाई समाजमा पुरानै हैसियतमा स्थापित हुन नसकेपछि अन्ततः महिलाहरू कि त फेरि वैदेशिक रोजगर कि त अन्यत्र बसाइँ सर्ने गरेका छन्। विदेशमा हुने गरेको मानसिक तनाव बिर्सनका लागि आफ्नै देशमा फर्केर आउँदा उनीहरू गाउँमा आफ्नोपन आभाष गर्न पाइरहेका छैनन्।
लक्ष्मी तामाङ, केश मेनेजर, शक्ति समूह
कुटेर काम लगाउँथे, बाँचेर फर्किएँ |
- गोरी तामाङ, हेलम्बु गाउँपालिका–६, सिन्धुपाल्चोक
गाउँका दिदीबहिनी, साथी–संगी सबै विदेश गएको देख्दा मलाई पनि बिदेसिने रहर लागिरहेको थियो। विदेश लैजाने गाउँ आउने एकजना दाइ चिनेको थिएँ। उनलाई म पनि विदेश जान्छु भने। उनले हुन्छ पासपोर्ट बनाएर राख भने। मैले सदरमुकाम गएर पासपोर्ट बनाएँ अनि उनैलाई दिए। उनले म एक महिनापछि लिन आउँछु भने। पैसा ठीक पारेर राख भने। मैले सरसापट र घरमा भएको बाख्रा बेचेर २ लाख ठीका पारेँ।
उनी एक महिना नबित्तै आए। उनले अनि म तिमीलाई कुवेत लैजान्छु भने। म उनैको पछि लागेँ। यो २०६९ सालको कुरा हो। म कुवेत पुगेँ। त्यहाँ एउटा घरमा पुर्याएर यहीँ हो तिम्ले काम गर्ने ठाउँ भनेर उनी फर्किए। सुरुमा त ठीकै जस्तो लागेको थियो। म गाउँको मान्छे, उनीहरूको कुरै नबुझिने। बिस्तारै उनीहरूले मलाई जे कुरामा पनि गाली गर्ने, पिट्ने गर्न थाले।
घरबाट हिँडेको छ महिना जति भएको हुँदो हो। अब त नेपाल फर्कन्छु यस्तो ठाउँमा बस्दिनँ भन्ने सोचेर घरमा दाइलाई फोन गरे। तर, साहुले बोल्दा बोल्दै फोन खोसिदिए। दाइले बाउ बिरामी छ जसरी नि घर आऊ भन्नुभएको थियो। राम्रोसँग बोल्न पनि दिएनन्। मलाई दिएको मोबाइल र सिम नै फुटाइदिए साहुले अनि कसरी फोन गर्नु ? दैनिकजसो उनीहरूले मलाई पिट्थे। रुन मन लाग्थ्यो। तर, रोएको देख्यो भने गाली गर्ने, किन रोएको भन्ने, साहुका बच्चाहरूसमेत कुट्थे। कहीँ जान पनि नदिने, जति बेला पनि घरभित्रै। मलाई के बार हो, कुन दिन हो, कुन महिना हो, नेपालमा के चाडबाड आयो भन्ने थाहै हुन छाडेको थियो।
त्यहाँ मेरो काम बालबच्चा हेर्ने, खान बनाउने र घरको सबै कामको जिम्मेवारी थियो। कहिलेकाहीँ साहुनीको माइतीघर साउदी लिएर जान्थिन्। तर, गाडीमा यात्रा गर्दा पनि बाहिर हेर्न दिँदैनथिन्। म त बन्दीजस्तै भएको थिएँ। घरको फोहोर फाल्न बाहिर निस्कने बेला मात्रै उज्यालो र हावाले छोएको अनुभव हुन्थ्यो। अरूबेला घर बाहिर निस्कनु अपराध गरेको जस्तै ठान्थे उनीहरूले।
म उनीहरूलाई मलाई घर जान देऊ भन्थेँ। उनीहरूले अहिले घर जाने समय भएकै छैन भन्थे। दाइलाई फोन गरिदेऊ भन्थेँ, नम्बर नै छैन भनेर टार्थे। कामको बोझले बिरामी भइरहन्थें। तर, जति दिन ज्वरो आओस्, जति दिन टाउको दुखोस्, चाहे ज्यान ओछ्यानमै परोस् तर काम गर्नुनै पथ्र्यो। अब म यतै मर्छु होलाजस्तो लाग्थ्यो।
यता नेपालबाट दाइले म कुवेत आएको पत्ता लगाएर नेपाल फर्काउन संघ–संस्थालाई गुहार्नुभए छ। एकदिन यताको दूतावासको मान्छे र दुईजना नेपाली मान्छे म काम गरेको घरमा आए। नेपाली देखेपछि रुन मन लाग्यो। मलाई यिनीहरूले मार्छन् नेपाल पुर्याइदिनुस् भन्दै बेस्सरी रोएँ। त्यसको दुई दिनपछि उनीहरूले मलाई नेपाल लिएर आए।
यहाँ आएपछि पो म कुवेत बसेको १० वर्ष भइसके छ भन्ने थाहा पाएँ। म २०७९ मंसिरमा घर आइपुगेँ। २०७२ सालको भुइँचालोमा बुबा बित्नु भएछ। त्यो पनि यहीँ आएर मात्र थाहा पाएँ। पैसा कमाएर बुवा आमालाई पठाउँला भन्ने लागेको थियो। ठूलो रहर लिएर बिदेसिएको थिएँ। तर, दुःखबाहेक केही पनि पाइन्। म त बाँचेर फेरि यहाँ आउला भन्ने नै लागेको थिएन। अहिले सोच्छु त्यसरी अरूको लहैलहैमा लागेर विदेश नगएको भए दुःख पाउनु पर्दैनथ्यो। अहिले गाउँका दिदीबहिनीहरूलाई सम्झाउने गरेको छु, विदेशमा यस्तो हुन्छ भनेर। पहिला त यहाँका दिदीबहिनीहरू घरैपिच्छेबाट विदेश गएका थिए। अहिले मैले पाएको दुःख देखेर पनि जाँदैनन्।