हाटबजार र एग्रोभेटबाट बीउ बीजन जफत
परासी : कृषि ज्ञान केन्द्र नवलपरासीको अनुगमन टोलीले अनुमति नलिएका एग्रोभेटबाट बीउ बीजन जफत गरेको छ।
जिल्लामा सञ्चालित सहकारी, एग्रोभेटलगायत कृषि सामग्री बिक्रेता पसलहरूको अनुगमन गर्न सोमबार पुगेको ज्ञानकेन्द्रसहित कृषि सामग्री कम्पनी, बीउ बीजन प्रयोगशाला भैरहवा लगातको टोलीले साप्ताहिक हाटबजार र एग्रोभेटबाट बीउ बीजन जफत गरेको हो।
सुनवलका २ एग्रोभेट र रामग्राम नगरपालिका–१२ पटखौलीमा लाग्ने साप्ताहिक हाटबजारबाट विभिन्न जातका बीउ बीजन जफत गरिएको ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले जानकारी दिए।
अनुगमनका क्रममा हाटबजारहरूमा खुला रुपमा बीउ बीजन बिक्री हुँदै आए पनि वास्ता नगरको भन्दै एग्रोभेटहरूले गुनासो गरेपछि अनुगमन टोलीले हाटबजारमा पुगेर बीउ बीजन जफत गरेको हो। हाटबजारमा राखेका ३ वटा पसलबाट बीउ बीजन जफत गरिएको हो।
उनीहरूले भारतबाट आएर हाटबजारमा बीउ बेच्दै आएका थिए। जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजारमा त्यसरी भारतीय व्यापारीहरू पुगेर बीउ बीजन बिक्री गर्ने गरेका छन्। ज्ञान केन्द्रले अब हाटबजारलाई लक्षितगर्दै अनुगमन कार्यलाई तीव्रता दिइने डा. चौबेले बताए। जफत गरिएका बीउ बीजनलाई सोमबार नै नष्ट गरिएको ज्ञान केन्द्रले जनाएको छ।
जिल्लाको सुनवल र रामग्राम नगरपालिका क्षेत्रका २ सहकारीसहित ८ वटा पसलका अनुगमन गरिएको थियो। अनुगमनका क्रममा केही एग्रोभेटहरूले पसल नवीकरण नगराएको, कारोबार अनुमति नलिएई कृषि सामग्री बिक्री गर्ने गरेको, एउटा उद्देश्यको दर्ताले अन्य सामग्रीहरू बिक्री गर्ने गरेको, स्थायी लेखा नम्बर(पान नम्बर) नलिएको लगायतका त्रुटिहरू पाइएको ज्ञान केन्द्रले जनाएको छ। जिल्लामा १९ वटा एग्रोभेट दर्तामा रहेको बताइएको छ।