आपराधिक पृष्ठभूमि भएका व्यक्ति मोटरसाइकल चोरीमा संलग्न

आपराधिक पृष्ठभूमि भएका व्यक्ति मोटरसाइकल चोरीमा संलग्न

विराटनगर : आपराधिक पृष्ठभूमि भएका व्यक्तिले संगठित गिरोह नै खडा गरेर मोरङ र सुनसरीमा मोटरसाइकल चोरी गर्ने धन्दा चलाइरहेको पत्ता लागेको छ। 

मोरङ र सुनसरीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर भारतमा पुर्‍याई बिक्री गर्ने समूहको नेतृत्वकर्तासहित दुई जनालाई पक्राउ गरेर मोरङ प्रहरीले अनुसन्धान गर्दा उक्त कुरा खुलेको हो। पक्राउ परेकाले एक सयभन्दा बढी मोटरसाइकल चोरी गरेको अनुसन्धानबाट थाहा भएको छ। 

चोरीमा संलग्न सुनसरीको हरिनगरा गाउँपालिका– ६ का ४० वर्षीय नजाम अन्सारी र भोक्राहानरसिंह गाउँपालिका–२ का २३ वर्षीय निकाइल अन्सारीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। 

उनका अनुसार दुवै जनालाई गत मंसिर २९ गते विराटनगरबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमध्ये नजामको साथबाट १.३ ग्राम लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको दाहालले बताए। दुवै जनाले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको देखिने सीसी क्यामेरा फुटेजसमेत प्राप्त भएको उनको भनाइ छ। 

विराटनगर महानगरपालिका–२ बन्जरा चोकबाट गत भदौ १० गते को २६ प ७७७६, विराटनगर–४ नोबेल अस्पताल परिसरबाट असोज १५ गते को ४३ प ४८०४, विराटनगर–७ सेन्ट्रल मलको अण्डर ग्राउण्ड पार्किङबाट मंसिर ६ गते को १० प ९५६६ र विराटनगर–९ गुद्री बजारबाट मंसिर ८ गते को २८ प ७८१५ नम्बरको मोटरसाइकल चोरी भएको थियो। 

त्यस्तै, विराटनगर–७ कोशी अस्पताल परिसरबाट मंसिर ९ गते को २५ प १८११, नोबेल अस्पतालको पार्किङबाट मंसिर २२ गते को २९ प ५५४ तथा विराटनगर–६ भाटभटेनी सुपरपार्केको पार्किङस्थलबाट मंसिर २७ गते को २१ प ५८९४ नम्बरको मोटरसाइकल चोरी भयो। 

‘पीडितबाट जाहेरी लिएर अनुसन्धान सुरु गर्दा संगठित गिरोहले मोरङ र सुनसरीका विभिन्न स्थानबाट सयभन्दा बढी मोटरसाइकल चोरी गरेको पत्ता लाग्यो,’ डीएसपी दाहालले भने, ‘चोरी गरिएको मोटरसाइकल जोगवनी, फारवेसगन्ज र फुल्काहालगायतका भारतीय बजारमा पुर्‍याएर बिक्री गर्ने गरेको खुलेको छ।’ मोटरसाइकल चोरीमा संलग्न दुवै जनाविरुद्धको अनुसन्धान सकेर प्रहरीले सोमबार सरकारी वकिल कार्यालय मोरङमा मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएको छ। 

नजाम र निकाइलविरुद्ध चोरीको कसुरमा ७ वटा तथा नजामविरुद्ध भने लागूऔषध ऐनअन्तर्गतको समेत मुद्दा चलाउनुपर्ने रायसहितको मिसिल प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको हो। अनुसन्धानबाट प्राप्त प्रमाण र तथ्यसहितको मिसिलका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै अभियुक्तविरुद्ध अदालतमा मुद्दा दायर गर्नेछ। 

प्रहरीबाट प्राप्त भएको मिसिल अध्ययन गर्ने काम भइरहेको र त्यसका आधारमा अभियोगपत्र तयार पारेर अभियुक्तविरुद्ध मुद्दा दायर गरिने वकिल कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मंगलबार वा बुधबार मुद्दा दर्ता हुन्छ। 

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले मोटरसाइकल चोरी नियन्त्रण गर्न तथा चोरीमा संलग्न गिरोह पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन ‘विशेष अप्रेशन’ चलाएका थिए। ‘मोटरसाइकल चोरी हुने क्रम बढ्दै गयो। यसमा संगठित गिरोह नै संलग्न रहेको हाम्रो अनुमान थियो,’ पोखरेलले भने, ‘यसमा संलग्नको खोजतलास एवं मोटरसाइकल चोरी नियन्त्रणका लागि ‘विशेष अप्रेशन’ चलाइएको हो। दुई जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा चोरीमा आपराधिक पृष्ठभूमि भएका व्यक्तिको संगठित गिरोह संलग्न रहेको पत्ता लाग्यो।’

नजाम नेतृत्वको गिरोहमा अन्य व्यक्ति पनि संलग्न रहेको प्रहरीको भनाइ छ। ‘दुई जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा सयभन्दा बढी मोटरसाइकल चोरी गरिसकेको खुलेको छ,’ पोखरेलले भने, ‘ठूलो मिहिनेत गरेर गिरोहका नाइकेसहितलाई समात्न प्रहरी सफल भएको हो।’ उनका अनुसार नेपालबाट चोरेर भारतीय बजारमा बिक्री गरिएका मोटरसाइकल नेपालका सीमावर्ती क्षेत्रबाट भारतीय बजार कटियारतर्फ अवैध घरेलु मदिरा ओसारपसारमा प्रयोग हुने गरेको पाइएको छ। 

गिरोहका नाइकेसहित दुई जना पक्राउ परेपछि लगभग तीन सातायता मोटरसाइकल चोरीको घटनामा कमी आएको जानकारी एसपी पोखरेलले दिए। ‘मुख्य गिरोहका नाइकेसहित पक्राउ परेपछि पछिल्लो समय मोटरसाइकल चोरीमा कमी आएको छ,’ उनले भने, ‘चोरी नियन्त्रणका लागि शंकास्पद स्थानलाई प्रहरीले उच्च निगरानीमा राखेको छ।’ 

पछिल्लो समय मोटरसाइकल चोरीका घटनामा वृद्धि भइरहेको बताउँदै उनले चोरीमा संलग्न गिरोहको जालो तोड्न प्रहरी सक्रियता बढाइएको जानकारी दिए। 

यस्तो छ नजामको आपराधिक पृष्ठभूमि 

मोटरसाइकल चोरीका मुख्य नाइके नजाम अन्सारी आपराधिक पृष्ठभूमिका व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ। विगतका अपराधमा संलग्न उनीविरुद्ध यसअघि विभिन्न कसुरमा ५ वटा मुद्दा चलेको खुलेको छ। यसअघि उनीविरुद्ध जबरजस्ती करणी, बैंकिङ कसुर, चोरी र सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दा दर्ता भएको थियो। आपराधिक विगत बोकेका नजाम पछिल्लो समय गिरोह खडा गरेर मोटरसाइकल चोरी गर्ने धन्दामा सक्रिय रहेको पत्ता लागेको हो। 

मोरङ प्रहरीमा उनीविरुद्ध पहिलोपटक २०५९ साल मंसिर ८ गते चोरी मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा मंसिर ३० गते मोरङ अदालतले उनीसँग ५ हजार रुपैयाँ धरौटी मागेको थियो। धरौटीवापतको रकम तिर्न नसक्दा नजाम कारागार चलान भएका थिए। 

सुनसरी प्रहरीमा उनीविरुद्ध २०६७ पुस २० गते सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालय सुनसरीले उनीसँग धरौटीवापत ९ हजार रुपैयाँ मागेको थियो। पुनः २०७२ जेठ २७ गते सुनसरी प्रहरीमा सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दा दर्ता भयो। असार ७ गते जिल्ला प्रशासन कार्यालयले धरौटीवापत ३ हजार मागेको थियो। 

नजामविरुद्ध २०७६ माघ २० गते मोरङ प्रहरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो। मोरङ प्रहरीमा नै २०७९ कात्तिक १५ गते बैंकिङ कसुरको मुद्दा उनीविरुद्ध दर्ता भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.