राष्ट्रियसभा निर्वाचन : सबै प्रदेशमा उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचन : सबै प्रदेशमा उम्मेदवारी दर्ता
सुन्नुहोस्

राष्ट्रियसभा निर्वाचनका लागि सोमबार ५२ जनाले उम्मेदवारी दिएका छन्। सातवटै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका अनुसार कोशीमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८, लुम्बिनीमा ७, कर्णालीमा ६ र सुदूरपश्चिममा ६ जनाले उम्मेदवारी दिएका छन्।

कोशीमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी दल नेकपा एमालेबाट २/२ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एउटा उम्मेदवारी दर्ता भएको छ। सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा ५ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिए। राष्ट्रियसभामा कोशीबाट अन्य र महिला समूहबाट रिक्त रहेको पदमा निर्वाचन हुँदै छ। फागुन २१ गते रिक्त हुने कांग्रेसका रमेशजंग रायमाझी र माओवादी केन्द्रकी बिना पोखरेलको पदावधि सकिने भएकाले सो पदमा निर्वाचन हुन आँटेको हो। राष्ट्रियसभाका लागि कोशी प्रदेशमा दुई सिटमा मात्र प्रतिस्पर्धा हुने भए पनि पाँच जना चुनावी मैदानमा उत्रिएका हुन्।

कोशीमा सत्तारूढ गठबन्धन आबद्ध दलकै सिट खाली हुन लागेको छ। यसअघि नै घोषणा गरेअनुरूप गठबन्धन दलले साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक–एक पद लिने तयारी गरेका हुन्। सत्तारूढ गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मनोनयन दर्ता गराएका छन्। कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा ३ बाट पराजय बेहोरेका थिए। 

मधेस प्रदेशमा राष्ट्रियसभा सदस्यको २ पदका लागि ५ जनाले मनोनयन दर्ता गराएका छन्। मधेस प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीबाट पूजा चौधरीले महिला समूहतर्फ मनोनयन दर्ता गराएका हुन्। त्यस्तै एमालेबाट विजेता झा र उषादेवी थरुनीले उम्मेदवारी दर्ता गराएका छन्। सत्ता गठबन्धनमै रहेको जनमत पार्टीबाट रामशंकर महासेठले समेत राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

बागमती प्रदेशमा ४ सिटका लागी १५ जनाले मनोनयन दर्ता गरेका छन्। बागमतीमा चार सिटका लागि निर्वाचन हुँदै छ। ४ का लागि १५ जनाको उम्मेदवारीले रोचक चुनावी भिडन्त हुने देखिएको छ। जसमध्ये दलितबाट १ पदका लागि ३ जनाको उम्मेदवारी परेको छ भने महिला, अपांग र अन्य कोटाबाट १–१ पदका लागि ४–४ जनाको उम्मेदवारी परेको छ। राप्रपाले दलित कोटामा उम्मेदवार बनाएन।

गण्डकीमा गठबन्धन, एमाले र राप्रपाले मनोनयन दर्ता गरेका छन्। गठबन्धनबाट नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ र अपांगता कोटामा नेपाली कांग्रेसकै पदम परियार (तनहुँ) र माओवादीबाट महिला कोटामा पर्वतकी मनरूपा शर्मा उम्मेदवार छन्। 

लुम्बिनी प्रदेशबाट ७ जनाको उम्मेदवारी परेको छ। महिला र अन्यमा एक/एक सिटका लागि महिलातर्फ ३ र अन्यतर्फ ४ जनाको उम्मेदवारी दर्ता भएको हो। एमालेबाट पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्री अन्य र दाङकी तुलसाकुमारी केसीले महिला कोटाबाट आफ्नो उम्मेदवारी दिएका छन्। सत्तारुढ गठबन्धनले माओवादी र कांग्रेसलाई १/१ कोटा बाढेका छन्। 

कर्णालीमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ। कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार सत्ता गठबन्धनका ३ र एमालेका ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्। कर्णालीमा अन्य, दलित र महिला क्लस्टर गरी ३ पदका लागि निर्वाचन हुँदैछ। जसका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १/१ सिटमा उम्मेदवारी दिएका हुन्। 

सुदूरपश्चिममा सत्ता गठबन्धनबाट ३ र नेकपा एमालेबाट ३ जना गरी ६ जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनबाट महिला कोटामा नेकपा माओवादी केन्द्रकी रेनु चन्दले मनोनयन दर्ता गरकि छन्। उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री गीता देवी मालको प्रस्ताव र प्रदेशसभा सदस्य जानकी देवी कुँवरको समर्थनमा चन्दले मनोनयन दर्ता गरेकी हुन्।

शिवराज भट्ट/धनगढी
ललितबहादुर बुढा/सुर्खेत
लक्ष्मण पोखरेल/बुटवल
कृष्णमणि बराल/पोखरा
गोविन्द महतो/जनकपुरधाम
सरोज पौडेल/हेटौंडा
माधव काफ्ले/विराटनगर


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.