भगवान् बनाउन भ्याइनभ्याइ
विराटरनगर : विद्याकी देवी सरस्वतीको पूजा नजिकिदै जाँदा कालिगढ (मूर्तिकार)व्यवसायीहरू मूर्ति बनाउन व्यस्त भएका छन् । सरस्वती पूजा नजिकिदै गर्दा राम्रो आम्दानी लिन आकर्षक मूर्ति बनाउन उनीहरु व्यस्त भएका हुन् ।
परम्परा अनुसार माता सरस्वतीको पूजा हरेक विद्यालयमा मूर्तिको आवश्यक्ता पर्ने भएकाले विभिन्न ठाउमा सरस्वती माताको मूर्ति बनाउन अहिले कालिगढहरु लागिपरेका छन् ।
मूर्तिको आकार हेरेर २ हजार देखि १४ हजार सम्ममा बिक्री हुने गर्दछ ।
सरस्वती पूजाको समयमा करिब ८० हजार रुपैयाँसम्मको मूर्ति बिक्री हुने गरेको विराटनगर १३का मूर्तिकार बाबुराम महतोले बताए । दुईजना सहयोगी कालिगढ राखेर मूर्ति बनाउन लागेको उनले बताए । परम्परागत पेशा नभए पनि बुवा विजयप्रसाद महतोले गर्दै आएको काममा लागेर कालिगढ बनेका उनले विगत जस्तो मूर्ति बिक्री नहुने बताए ।
पहिला २ सय बढी सरस्वतीको मूर्ति बिक्री हुने गरेको बताउँदै उनले भने,'सयवटा पनि बिक्री हुँदैनन् । उनले वर्षभरी मूर्ति बेचेर वार्षिक तीन लाखसम्म आम्दानी गर्ने गरेको बताए ।
मूर्ति खासगरी कुमालहे जातीले बनाउने गर्दछ। तर, केहि समययता अन्य समुदायहरुले बनाउन लागेका छन् । सुनसरीको गढी गाउँपालिका ३ निवासी इन्द्रजित चौधरीले विराटनगर १३ मा मूर्ति बनाउन आएका छन् । प्रत्येक वर्षझैं यस वर्ष पनि सरस्वतीको मूर्ति बनाएर बेच्न उनी बिहान ८ बजेदेखि राति ११ सम्म काम गर्ने गरेको बताए ।
उनले आकर्षक मूर्ति नबनाए बिक्री नहुने भएकाले आकर्षक मूर्ति बनाउन लागेको बताए । आफूले बनाएको मूर्ति बथनाहा पुर्याउने गरेको उनले बताए । उनले मूर्ति बनाएर घरपरिवार चलाउन कुनै समस्या नहुने गरेको बताए ।
अधिकांश निजी तथा सामुदायिक विद्यालयले सरस्वती पूजाको दिनमा विद्यालयमा माता सरस्वतीको मूर्तिको प्रतिमा प्रतिस्थापन गरेर पूजा गर्ने गर्छन्। यसवर्ष सरस्वती पूजा फागुन २ गते परेको छ।
यता सरस्वती पूजाको नजिकिदै जाँदा विभिन्न विद्यालयमा विद्यार्थीले सडकमा रहेर चन्दा माग्न सुरु गरेका छन् ।
कारोनाकालमा भारतीय सिमावर्ती क्षेत्रलाई शिल गरेकाले बिक्रीमा समस्या भए पनि अघिल्लो वर्षदेखि भारत समेत सहज रुपमा मूर्ति जाने गरेकाले यस वर्ष गतको भन्दा बढी अर्डर आएको जहादा गाउँपालिका- २ का रघुनाथ मण्डलले जानकारी दिए । मंसिरदेखि बनाउन काम सरु गरेको बताउँदै उनले भने,‘बार्षिक २ लाख बराबरको आम्दनी हुने गरेको छ।'