बिहेको प्रलोभन देखाएर बालिकालाई बलात्कार गर्ने पक्राउ
विराटनगर : बिहे गर्ने प्रलोभन देखाएर बालिकालाई बलात्कार गरेको घटनामा संलग्न एक जनालाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको छ।
सुन्दरहरैँचा नगरपालिका–९ का २४ वर्षीय श्याम बर्देवालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार बर्देवाले बिहे गर्ने प्रलोभन देखाएर १४ वर्षीया बालिकालाई बारम्बार बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
इलाका प्रहरी कार्यालय विराटचोकबाट सइ (प्रहरी नायव निरीक्षक) नीरबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले बर्देवालाई सोमबार राति उनकै घरबाट पक्राउ गरेको हो। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको डीएसपी दाहालले बताए।
पीडितकी दिदीले घटनामा संलग्न बर्देवाविरुद्ध सोमबार प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। यस घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) तेजबहादुर दाहाल नेतृत्वको टोलीले गरिरहेको छ। बर्देवाले पछिल्लो पटक गत शुक्रबार साँझ बालिकालाई जबरजस्ती आफ्नै घरमा लगेर बलात्कार गरेको डीएसपी दाहालको भनाइ छ।
‘विवाह गर्ने प्रलोभन देखाएर बालिकालाई बलात्कार गरेको खुल्यो। प्रतिकार गर्दा कुटपिट गर्ने र यातना दिनेसम्मको हर्कत गर्ने गरेको पाइयो,’ उनले भने, ‘डर र धम्कीका कारण घटनाका बारेमा बालिकाले अभिभावकलाई समेत भन्न नसकेको खुलेको छ। अति नै भएपछि दिदीलाई सुनाएसँगै घटना प्रहरीसम्म आइपुगेको हो।’
दाहालका अनुसार बर्देवाले करिब ३ महिनादेखि बालिकालाई बारम्बार बलात्कार गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘विस्तृतमा अनुसन्धान गरेपछि मात्रै यस घटनासँग सम्बन्धित थप विषय पत्ता लाग्छ,’ उनले भने, ‘अहिले म्याद थप गरेर पीडकविरुद्ध अनुसन्धान अघि बढाइएको छ।’
बारम्बार बलात्कृत भएका कारण विक्षिप्त भएकी पीडितलाई पनि ‘काउन्सिलिङ’ गर्ने काम भइरहेको डीएसपी दाहालले बताए। ‘बिहे गर्ने प्रलोभन देखाएर बलात्कार गर्न खोज्दा बालिकाले प्रतिकार गरिछन्। प्रतिकार गर्दा बर्देवाले कुटपिट गर्ने र यातना दिने गरेको पाइयो,’ उनले भने, ‘यातना खेप्दै पटक–पटक बलात्कृत भएकी बालिका मानसिक रूपमा केही विक्षिप्त भएजस्तो देखिन्छिन्। पीडितलाई ‘काउन्सिलिङ’ गरेर पीडकलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले अनुसन्धानको प्रक्रिया अघि बढाएको छ।’