जेएन.१ भेरियन्टबारे बेखबर, नाकामा छैन सतर्कता
छिमेकी भारतमा फैलिएको ओमिक्रोनको नयाँ रूप (जेएन.१ भेरियन्ट)को संक्रमण नेपालमा पनि देखा परेको छ । तर, भारतसँगको खुला सीमा नाकामा यसबारे कुनै सतर्कता अपनाइएको छैन । आवातजावत निर्वाध छ । स्वास्थ्य परीक्षण छैन । परीक्षणका लागि आवश्यक किट पनि नभएको स्वाथ्यकर्मीहरू बताउँछन् । मास्क लगाउने, दूरी कायम राख्ने, सेनिटाइजर लगाउने, हात धुनेजस्ता स्वास्थ्य सतर्कता अपनाउने काम पनि भएका छैनन् ।
भारतमा जेएन–१ भेरियन्टको कोरोना बढिरहेको बेला नेपालगञ्जको जमुनाहा नाकामा न स्वास्थ्य परीक्षण गरिन्छ, न त स्वास्थ्यसम्बन्धी कुनै सतर्कता नै अपनाइएको छ । यसलाई भित्रिन नदिन के गर्ने भन्नेमा अझै अन्यौलता छ । हेल्थ डेस्कमा कार्यरत अहेव सावित्री शर्माले कोरोनाको नयाँ भेरियन्टबारे के गर्ने, के नगर्ने भन्नेबारे माथिबाट कुनै नीति, योजना र कार्यक्रम नआएको बताइन् । ‘गएको १० असोज यता कोरोना परीक्षण पनि भएको छैन । हामीसँग त्यो समयपछि किट नै आएको छैन’, उनले भनिन्, ‘हेल्थ डेस्कमा मलेरिया, टिबी र एचआईभी एड्सको मात्रै परीक्षण मात्र भइरहेको छ ।’
मुलुकमा कोरोना महामारीका बेला संघीय सरकारको स्वास्थ्य विभागले सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट आउने व्यक्तिको अनिवार्य कोरोना परीक्षण गरेको थियो । कोरोना पुष्टि भएका व्यक्तिलाई आइसोेलेसनमा राखेर पठाइन्थ्यो । कोरोनाकाल भरी हेल्थ डेस्क प्रभावकारी पनि भए ।
हेल्थ डेस्कलाई नेपालगन्ज उपमहानगरपालिकाले पनि स्वास्थ्यकर्मी सहयोग गरेको थियो । अहिले नगरले पनि सहयोग छोडेको छ । यो हेल्थ डेस्क अब लुम्बिनी प्रदेश सरकार मातहत भएको छ ।
सुदूरपश्चिममा भित्रिए कोभिडका बिरामी
पुसको ४ र ११ गते भारतको राजधानी नयाँ दिल्लीसहित चेन्नई, बेंगलोर र हैदराबादबाट आएका नेपालीहरूमा कोरोना पोजेटिभ देखिएको थियो । भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि बिरामीहरू बढ्न थालेका छन् । सीमा नाकाहरूमा गरिएको एन्टिजेन परीक्षणमा, कैलालीको त्रिनगर नाकामा मात्रै पुसयता ९ जनामा कोरोना पुष्टि भएको सीमा नाकामा रहेको हेल्थ डेस्कले जनाएको छ । झन्डै ७ सय ३५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले भारतमा भेटिएको जेएन.१ नामको भेरियन्ट त्यति खतरनाक नरहेको बताए । ‘खतरनाक त त्यति छैन, तर हामीले सजगता भने अपनाउनुपर्छ । हामीले सबै सीमा नाकामा एन्टिजेन परीक्षणको निर्देशन दिएका छौं’, डा. जोशीले भने ।
सीमा नाकामा पोजेटिभ देखिएकाहरू सबैलाई घर पठाइएको छ । लक्षण देखिएका बिरामीहरूलाई घरमै आइसोलेसनमा बस्न भनिएको छ । तर, घर जानेहरूले लापरबाही गरे गाउँघरमा पनि कोरोनाका बिरामी बढ्ने जोखिम भने कायमै रहेको उनले बताए ।
वीरगन्जमा बढाइयो निगरानी
नेपाल प्रवेश गर्ने मुख्यस्थल नाका वीरगन्जमा स्वास्थ्य सतर्कता र निगरानी बढाइएको छ । पछिल्लो एक महिनायता भारतको गोवा, महाराष्ट्र, कर्नाटक, केरला, तेलांगना र तमिलनाडु राज्यमा पुनः कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि बिहारसँग खुला सीमा जोडिएको वीरगन्ज नाकामा स्वास्थ्य सतर्कता र निगरानी बढाइएको हो ।
वीरगन्ज नाकामा सञ्चालित हेल्थ डेस्कमा गत तीन साता यतादेखि भारतबाट आउनेहरूको स्वास्थ्य जाँच गर्न थालिएको छ । भारतबाट रेल, बस र निजी सवारीमा लामो यात्रा गरेर आउनेहरूलाई वीरगन्ज नाकामा हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गरेपछि मात्रै भित्रिन दिने गरेका छन् । वीरगन्ज महानगरपालिकाद्वारा सञ्चालित हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार भारतबाट लामो यात्रा गरेर आउनेहरूलाई नाकामा रोकेर सुरुमा स्क्रिनिङ गरिन्छ । त्यसक्रममा ज्वरो वा खोकीको लक्षण देखिएकाहरूको एन्टिजेन परीक्षण गरिन्छ ।
महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले भारतमा पुनः संक्रमण बढेपछि नाकामा निगरानी र सतर्कता बढाइएको बताए । भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा लामो यात्रा गरेर आउनेहरूको मात्र स्क्रिनिङ गर्ने गरिएको उनले जानकारी दिए ।
एन्टिजेन परीक्षणमा कोभिडको संक्रमण देखिएमा लक्षण नभएकाहरूको हकमा होम आइसोेलेसनमा पठाउने र लक्षण देखिएकाहरूको जिन सिक्वेन्सिङका लागि व्यवस्थापन गर्न स्वास्थ्य महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट निर्देशन आएको ठाकुरले बताए ।
विराटनगर–१० मलाया रोडस्थित नेसनल ट्रेडिङको रिक्त संरचनामा ०७७ चैत २१ गतेदेखि कोशी प्रदेश सरकारले कोभिड अस्पताल सञ्चालन गरेको थियो । त्यतिबेला १० वटा भेन्टिलेटरसहित ५० शय्याको कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा आएको थियो । प्रदेशको राजधानी विराटनगरमा अर्बौं रुपैयाँको लगानीमा बनेको सो कोभिड उपचार केन्द्र अहिले प्रयोगविहीन बनेको छ ।
कोरोनाका बिरामीहरू आउन छोडेपछि त्यसलाई संक्रामक रोग तथा सघन उपचार केन्द्र बनाइएको थियो । २०७९ असोज ५ गतेदेखि सरकारले उक्त अस्पताललाई संक्रामक रोग तथा सघन केन्द्र बनाएर ओपीडीसमेत सञ्चालनमा ल्याएको थियो । तर, वैकल्पिक रूपमा प्रयोग नहुँदा प्रयोगविहीन अवस्थामा पुगेको अस्पताललाई अब हृयदरोग केन्द्र बनाइँदै छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयले सो अस्पताललाई हृदयरोग केन्द्रमा रूपान्तरण गर्ने योजना अगाडि सारेको जनाएको छ । मन्त्रालयकी सचिव सुधा देवकोटाले संरचना प्रयोगविहीन बनेपछि त्यसलाई हृदयरोग केन्द्र बनाउने तयारी थालेको जानकारी दिइन् ।
सघन उपचार केन्द्रको १८ भेन्टिलेटरसहित २१ शय्याको आईसीयू र ४७ वटा एचडीयू प्रयोगविहीन बनेका छन् । संरक्षण नहुँदा अस्पतालका उपकरण काम नलाग्ने अवस्थामा पुगेका छन् ।
प्रदेश सरकारले करिब १ करोड रुपैयाँ खर्चेर कोभिड अस्पताल निर्माण गरेको थियो । स्विस सरकारको ४ करोड रुपैयाँ सहयोगमा सहरी विकास तथा भवन निर्माण एकाइले अस्पतालमा थप संरचना निर्माण गरेको थियो ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा कोभिड–१९ उपचार केन्द्रलाई प्रादेशिक सरुवा अस्पतालका रूपमा स्तरोन्नति गर्ने घोषणा गर्दै भौतिक पूर्वाधार विकास र स्वास्थ्य उपकरण खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको थियो ।
कोशी प्रदेश, स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले उपचारका लागि किनिएका भेन्टिलेटर, आईसीयू बेडलगायत स्वास्थ्य उपकरण हाल प्रयोगमा ल्याउन नसकिएको सुनाए । स्वास्थ्य मन्त्रालयले बेलैमा यो अस्पताललाई वैकल्पिक रूपमा प्रयोगमा ल्याउन नसके नागरिकस्तर र दातृ निकायको सहयोगमा लाखौं खर्च गरेर किनिएका स्वास्थ्य उपकरण बिग्रने निश्चित छ ।
- शंकरप्रसाद खनाल/नेपालगन्ज , शिवराज भट्ट/धनगढी,क्रान्ति शाह/वीरगन्ज,माधव काफ्ले /विराटनगर