कोरला सडकको खर्च ७ अर्ब

कोरला सडकको खर्च ७ अर्ब
सुन्नुहोस्

जोमसोम : राष्ट्रिय गौरवको उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनामा हालसम्म ६ अर्ब ८३ करोड रुपैयाँ खर्च भएको छ। आर्थिक वर्ष २०७३/०७४ सालदेखि निर्माणाधीन सडकको ३७ योजनामा उक्त बजेट खर्च भइसकेको आयोजनाले जनाएको छ।

कोरला सडक राजमार्गअन्तर्गत सडक तथा पुलपुलेसाका लागि विभिन्न चरणमा १० अर्ब ८८ करोड रुपैयाँ लागत इस्टमेट गरिएको थियो। जसअन्तर्गत विभिन्न निर्माण कम्पनीसँग ७ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो। आयोजना सुरु भएको ६ वर्षमा कुल ठेक्का सम्झौता रकमको ७५ प्रतिशत वित्तीय खर्च भएको आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईंले जानकारी दिए।

भारतले नाकाबन्दी गरेपछि २०७३/०७४ सालमा उत्तरी चीन जोड्ने आयोजना सुरु गरिएको थियो। सुरुवाती चरणमा कोरला सडकअन्तर्गत बेनी—जोमसोम ७६ किमि कालोपत्रे सडक ४ खण्ड र जोमसोम—कोरला १ सय १० किमि ग्राभेल सडक ७ खण्डमा सडक स्तरोन्नति सुरु गरेको छ। जसका लागि झन्डै ६ अर्ब बजेट विनियोजन भएको थियो। आयोजना सुरुदेखि हालसम्म कोरला सडकअन्तर्गत ३७ योजनाको पूर्वाधार कार्यान्वयनमा आएको छ।

आयोजनाअन्तर्गत हालसम्म २१ पुलपुलेसा, ८ सडक कालोपत्रे, ७ ग्राभेल र १ कन्ट्रक्सन अफ फेन्सिङ एट मार्फा योजना कार्यान्वयनमा आएको आयोजनाका सूचना अधिकारी चापागाईंले बताए। उनका अनुसार आयोजनाअन्तर्गत ठेक्का सम्झौता भई कार्यान्वयनमा आइसकेको मुस्ताङको कार्इंको खोलापुल र लार्जुङ खोलापुलको ठेक्का निर्माण कम्पनीसँग तोडिइसकेको छ। यसैगरी प्राकृतिक विपद्का कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका—३ रूपसे खोलापुल र मुस्ताङको खहरे खोलापुल निर्माणाधीन अवस्थामै बाढीले क्षतिग्रस्त तुल्याएको थियो।

कोरला सडकअन्तर्गतका २१ पुलपुलेसामध्ये मुस्ताङको स्याङखोला पुल, लुप्रा—पान्डाखोला पुल र उपल्लो मुस्ताङमा निर्माणाधीन लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्माखोला पुल निर्माण भइसकेका छन्। यसैगरी म्याग्दीको राहुघाट खोलापुल, म्याग्दीको बेनीमा एक बेलीब्रिज र म्याग्दी दानाको खट्टेखोला पुलनिर्माण भइसकेको आयोजनाले उल्लेख गरेको छ।

आयोजनाको म्याग्दी बेगखोलामा निर्माणाधीन पुल, छात्ताङ खोलापुल र नरसिंह खोलामा निर्माणाधीन पुलनिर्माण अन्तिम चरणमा रहेको आयोजनाका सूचना अधिकारी चापागाईंले बताए। गत साउन २८ गतेको बाढीले क्षति भएको कागबेनी पुलमा अर्को पुल निर्माण गर्न डिजाइन रिभ्युको अध्ययन भइरहेको बताइएको छ।

राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत आठ सडक कालोपत्रे योजना सञ्चालन भएकोमा बेनी—जोमसोम तेस्रो खण्डअन्तर्गत मुस्ताङको कैकु खोलादेखि कोवाङसम्मको १६ किमि कालोपत्रे सडक र म्याग्दीको बेनी—गलेश्वर ३ किमि कालोपत्रे सडक कालीगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ। बाँकी पर्वतको मालढुङ्गा बेनी १३ किमि सडक, बेनी—जोमसोम ३ खण्ड कालोपत्रे सडक र जोमसोम—कागबेनी १३ किमि कालोपत्रे सडक निर्माणाधीन अवस्थामा छन्। यहाँ कागबेनीदेखि छुसाङसम्मको सडकमा थप कालोपत्रे योजना अघि बढाउनसमेत माग गरिसकेको छ। यस्तै, जोमसोम—कोरला १ सय १० किमि ग्राभेल सडकमध्ये ६ ग्रोभल सडक कालीगण्डकी करिडोर बेनी—जोमसोम—कोरला सडकलाई हस्तान्तरण भइसकेको छ। यहाँ उपल्लो मुस्ताङको चराङ—छुसाङ २५ किमि ग्राभेल सडक अन्तिम चरणमा छ। यहाँ निर्माण कम्पनीको ढिलासुस्तीले सडक निर्माणको बाँकी काम रोकिएको जनाइएको छ।

कोरला सडक आयोजनाका लागि चालू आर्थिक वर्ष ७२ करोड ८२ लाख रुपैयाँ विनियोजन भएको छ। चालू वर्षको विनियोजित बजेटमध्ये ६ महिनाको अवधिमा २४ करोड १० लाख रुपैयाँ अर्थात् ३५ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले उल्लेख गरे। चालू वर्ष सडकतर्फ ७० करोड विनियोजन भएकोमा २२ करोड ४० लाख रुपैयाँ अर्थात् ३२ प्रतिशत वित्तीय प्रगति देखिन्छ। पुलपुलेसातर्फ २ करोड ८२ लाख बजेट विनियोजन भएकोमा १ करोड ५० लाख रुपैयाँ अर्थात् ५३ प्रतिशत वित्तीय प्रगति भएको हो।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा कोरला सडक आयोजनालाई सडक तथा पुलपुलेसातर्फ १ अर्ब १० करोड बजेट विनियोजन भएकोमा ५५ करोड रुपैयाँ बजेट अर्थात् कुल बजेटको ५० प्रतिशतमात्र वित्तीय प्रगति भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.