भिमाद जीप दुर्घटना :मृतक र घाइतेको पहिचान खुल्यो
स्याङ्जा : पोखराबाट रामपुरतर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जीप बुधबार भिमाद नगरपालिका ३ बराली थुम्कामा भएको दुर्घटनामा परी मृत्यु हुने र घाइते सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलका अनुसार मृत्यु हुनेमा नवलपुर बौदीकाली गाउँपालिका २ का ४२ वर्षीय रुमबहादुर बि.क. सोही स्थानका ५५ वर्षीय जेमलाल दरै रहेका छन्।
यसैगरी नवलपुर वौदिकाली गाउँपालिका २ का ४० वर्षीय हरी ओझा, पाल्पा निस्ति गाउँपालिका १ का ६६ वर्षीय ज्ञानबहादुर राना, स्याङजा चापाकोट नगरपालिका ७ का ४६ वर्षीय दिनानाथ कँडेल, पाल्पा रामपुर नगरपालिका ७ का ३१ वर्षीय लक्ष्मण पंगेनीको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र तनहुँमा उपचारत छन्।
यस्तै, प्रादेशिक अस्पताल गण्डकी पोखरामा उपचारार्थ घाइतेहरुमा स्याङजा चापाकोट नगरपालिका ६ का ३२ वर्षीया रेनु थापा र ६ वर्षीया रनीसा थापा, तनहुँ शुक्लागण्डकी नगरपालिका का ४८ वर्षीय सेतु कार्की, भिमाद नगरपालिका ३ का ६२ वर्षीय दण्डपाणी रिजाल, घिरिङ गाउँपालिका ४ का ५० वर्षीय तिखे थापा र पाल्पा निस्ति गाउँपालिका २ का २७ वर्षीया पुजा सारु रहेको प्रमुख पौडेलले जानकारी दिए।
बुधबार बिहान जीप दुर्घटना हुँदा घटनास्थलमा २ जनाको मृत्यु र ९ जना घाइते भएका थिए ।