मौसम प्रतिकूल हुँदा धनगढीका लागि उडेका जहाज सुर्खेत 'डाइभर्ट'
धनगढी : अचानक मौसममा परिवर्तन आएपछि सुदूरपश्चिमको हवाई सेवा प्रभावित भएको छ। हवाई सेवा प्रभावित भएपछि काठमाडौंबाट धनगढीका लागि उडेका बुद्ध एयर र श्रीएयरका जहाजहरू सुर्खेत डाइभर्ट गरिएको धनगढी विमानस्थलले जनाएको छ।
काठमाडौंबाट बुधबार बिहान ९:४० बजे धनगढीका लागि उडेको बुद्ध एयरको उडान संख्या २५१ को जहाज र ९:४२ बजे उडेको उडान संख्या २२१ को श्री एयरलाइन्सको जहाज अचानक मौसममा परिवर्तन आएपछि सुर्खेत डाइभर्ट गरिएका थिए ।
पश्चिमी वायुको प्रभावले एकै छिनमा हुस्सु आउने र जाने भएपछि हवाई सेवा प्रभावित भएको हो। आज बिहान खुलिसकेको धनगढी विमानस्थल अचानक हुस्सुले छोपेपछि भिजिबिलिटी कम हुँदा दुबै जहाजलाई सुर्खेत डाइभर्ट गरिएको धनगढी विमानस्थलका प्रमुख गणेशबहादुर सिंहले बताए ।
विमानस्थल बन्द भएपछि सुर्खेत डाइभर्ट गरिएका बुद्ध एयर र श्रीएयरका जहाजहरू अहिले धनगढी फर्केका छन् । दुबै जहाजहरु धनगढी ल्याण्ड भइसकेको धनगढी विमानस्थलले जनाएको छ ।
सामान्यतया विमानस्थलमा जहाज अवतरणका लागि ५ हजार मिटरको आँखाले देखिने ‘भीजिविलिटि’चाहिन्छ । तर धनगढी विमानस्थलमा गतवर्ष नै भिओआरडिएमई नामक उपकरण जडान गरिएको थियो । त्यस उपकरण पछि १७ सय मिटरको ‘भिजिविलिटि’ मा पनि जहाज अवतरण गर्न सकिन्छ ।
‘तर २ हजार मिटर ‘भिजिविलिटि’पुगिसकेको विमानस्थल अचानक हावा चलेर एक हजार ‘भिजिविलिटि’ मा आयो । त्यही भएर जहाजहरु सुर्खेत डायभर्ट गरिएका हुन्,'विमानस्थल प्रमुख सिंहले भने । नेपालगञ्ज विमानस्थल खुलेको थियो,अहिले त्यहाँ पनि बन्द भइसकेको छ । त्यहाँका २ जहाज हाम्रो कन्ट्याक्टमा आएका छन् ।’
उनले पश्चिमि हावाका कारण कतिबेला मौसममा के हुन्छ भन्ने कुरा थाहा नहुने बताए ।