गेटा अस्पताल : बिरामी बढदै, सेवा विस्तारमा कन्जुस्याइँ
धनगढी : साढे ६ अर्बका संरचना बनेर पनि एउटा कुनामा सञ्चालनमा आएको सय शैया भनिएको गेटा अस्पतालमा कार्ययोजना अनुसारको कुनै पनि काम भएको छैन । अस्पतालको प्रचार भएपछि बिरामी बढ्न थाले पनि अस्पतालले सुरुवातका बेला सार्वजनिक गरेका कार्ययोजना अनुसारको सेवा विस्तारको काम गर्न सकेको छैन।
कार्तिक भित्र एमसिएच क्लिनिक सुरु गर्ने योजना थियो । तर, त्यसको केही काम भएको छ । मंसिर महिनाभित्र खोप सेवा र अन्तरंग सेवा सुरु गर्ने योजना थियो तर त्यो सुरु भएन । पुसभित्र इमरजेन्सी र प्रसूति सेवा सुरु गर्ने कार्य योजना थियो तर त्यो पनि भएको छैन ।
चैत महिनाभित्र शल्यक्रिया सेवा र वैशाखभित्र आइसीयु र एनआइसीयु सेवा सञ्चलान गर्ने कार्ययोजना भएपनि अरु नै सेवा सुचारु नभएका बेला ती सेवाहरु सुरु हुनेमा विश्वास गर्ने आधार देखिदैन । गेटामा ६ सय शैया क्षमताको अस्पताल भवन, कलेज भवन र आवासहरु गरी झण्डैं साढे ६ अर्बका संरचना निर्माण भइसकेका छन् ।
कम्तिमा पनि ३ सय शैयाको अस्पताल सञ्चालन गरी एमबीबीएसको पढाइ हुनुपर्ने आशा गरिएका बेला सय शैया मात्र सुरु हुँदा यस क्षेत्रका जनता निरास भएका थिए । ५० शैयाको अनुमतिमा मात्रै सञ्चालनमा रहेको सेती प्रादेशीक अस्पतालको भन्दा दोब्बर स्वास्थ्य सेवा होला भन्ने आशामा सुदूरपश्चिमबासीले चित्त बुझाएका थिए ।
गेटामा अहिले जनरल ओपीडी, हाडजोर्नी तथा नशा रोग, स्त्री रोग, जर्नल सर्जरीको ओपीडी मात्रै सञ्चालनमा छ । प्रयोगशाला सेवा र फार्मेसीबाहेक बिरामी भर्ना गर्ने गरी इन्डोर सेवा समेत सञ्चालनमा आउन सकेको छैन । ‘इमरजेन्सी ,भर्ना, शल्यक्रिया र आइसीयु एनआइसीयु छैन भने त्यसलाई के अस्पताल भन्ने ? प्रार्थमिक स्वास्थ्य केन्द्र भइहाल्यो नी,' एकजना चिकित्सकले भने ।
कैलालीको गेटामा २०६६ सालदेखि मेडिकल कलेजका पूर्वाधारहरु निर्माण हुन थालेका हुन् । २०७८ सालदेखि नै मेडिकल शिक्षाको पढाइ हुने लक्ष्य राखिएको भएपनि मेडिकल कलेज,प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय के बनाउने ? भन्ने कुरामै रुमल्लिदा गेटा ओझेलमा परेको हो ।
आर्थिक वर्षको बजेटमा अस्पताल सञ्चालनका लागि ८० करोड र चालु तर्फको खर्चका लागि साढे ३ करोड रकम विनियोजन गरिएको छ । अस्पताल उद्घाटनका बेला अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले डल्लो रुपमा आएको बजेटलाई शीर्षक बनाएर उपकरण खरिद गरिने र अरु सेवाहरु विस्तार गर्ने बताएका थिए ।
तर, अहिले उनले नै सार्वजनिक गरेको कार्ययोजना अनुसार पुससम्म सुरु गर्ने भनिएका सेवाहरु सुचारु हुन सकेका छैनन । अस्पताल सञ्चालनका लागि मन्त्रिपरिषदले १४१ जना कर्मचारी र स्वास्थ्यकर्मीको दरबन्दी स्वीकृत गरेको थियो । २४ जनाको जनशक्तिबाट सुरु गरिएको स्वास्थ्य सेवा दिन अस्पतालमा अहिले ३२ जना कर्मचारी छन् । सेवा विस्तारका लागि दरबन्दी अनुसारकै जनशक्ति नपुगेको र उपकरणको समेत अभाव देखिएको छ ।
एमसीएचका लागि भने काम सुरु भएको अस्पतालले जनाएको छ । सामाजिक सुरक्षा इकाइबाट हुने सेवा पनि सुरु भएको छ । कात्तिक १ गतेबाट सुचारु भएको अस्पतालले पुस २५ सम्म १३ सय २ जनालाई उपचार सेवा दिएको छ । सुरुमा १४/१५ जना आउने गरेकोमा अहिले दैनि ३०/४० जना बिरामी आउने गरेका अस्पतालले जनाएको छ ।