रातु नदी दोहनले दिएको पीडा

जमिन बग्यो, नदी सुक्यो

जमिन बग्यो, नदी सुक्यो
दोहनका कारण रातु नदीले बहाव फेर्दै तटबन्ध बगाएर खेत कटान गरेको देखाउँदै बर्दिबास–९ पशुपतिनगरका स्थानीय श्रवणकुमार महतो । इन्सेटमा चुरे र भारव क्षेत्र दोहनको असरले सुकेका बर्दिबास—१३ बिजलपुरा क्षेत्रको इनार । बर्दिबास—८ हात्तीलेटस्थित विजय बस्तीका स्थानीय धारामा पानी भर्न लामबद्ध । र, खडेरीका कारण चिराचिरा परेका बिजलपुरास्थित अकुवान टोलाको सुकेको धान खेती । तस्बिर : राजकरण महतो

बर्दिबास : महोत्तरीबाट धनुषा हुँदै बग्ने नदी हो रातु। १५ वर्षअघिसम्म यहाँ कलकल पानी बग्थ्यो। खाने, नुहाउने मात्रै होइन, स्थानीय माझी समुदायको माछा मार्ने पेसा पनि मज्जाले चल्थ्यो। बर्खामा खेतमा पानी लगाउन र हिउँदको समयमा तरकारी बालीलाई पनि पुग्ने पानी बगिरन्थ्यो। नदी दायाँ–बायाँका गाउँ–गाउँमा खनेका इनारमा पनि नदी नै रसाएर पानी टिलपिल हुथ्यो। आफ्नै बाटोमा बगिरहेको थियो रातु। स्थानीयको दैनिकी सामान्य चलिरहेकै हुन्थ्यो। 

तर, अहिले अवस्था फेरिएको छ। ती कुरा कथा जस्ता बनेका छन्। रातु दौडने आफ्नै बाटो छैन। मुहानसम्म नै दोहनले पानी सुक्न थाल्यो। दायाँ–बायाँका खेतमा धुलो उड्छ। खानेपानी बोकेर ल्याउनुपर्ने अवस्था बन्यो। खनेका इनार सुके। खेती घट्यो। नदीमा अहिले माछा होइन, क्रसर व्यवसायीका स्काभेटर र टिपर दौडन्छन्। १ सय ८ वटा खहरे र खेल्सा मिलेर नदी बनेको रातु आफैं कुलो जस्तो बन्ने अवस्थामा पुगेको छ।

अहिले यसै क्षेत्रमा ६६ क्रसरले मनपरी खनिरहेका छन्। रातुको पानीले जीवन चलाउने ८ स्थानीय तहका ३५ गाउँमा बस्ने ७५ हजार नागरिकको अवस्था काकाकुल झै बन्न सुरु गर्‍यो। हिउँमा खडेरी र वर्षामा बाढीले नागरिक प्रताडित छन्। हालसम्म २५ हजार बिघा जमिन कटान भइसक्यो। तर, दोहन रोकिएको छैन। खराब अवस्था घट्ने छाँट देखिँदैन। 

‘बिघौं जग्गाको धनी हुँ’ भन्दै सुतेका धेरै किसानहरू बिउझिँदा ‘सुकुम्बासी’ भइसकेका थुप्रै कथाहरू छन् रातु वरिपरि। जसले अहिले पनि न्याय खोजिरहेका छन्। अहिले पनि नदीमा ठेक्का चलिरहेको छ। स्थानीय जनप्रतिनिधि नै सरकारसँग ‘गुहार’ मागिरहेका छन् विज्ञप्ति निकालेर र पत्र पठाएर। 

२०७० को दशकमा रातुसहितका नदीमा ठूल—ठूला बाढी आएको जिल्ला प्रशासन कार्यालय महोत्तरीको तथ्यांकले देखाएको छ। २०७३, २०७४, २०७५ मा लगातार तीन वर्ष आएको बाढीले राजमार्गको पुलसमेत बगाएको थियो। यस अवधिमा यहाँ २० जनाले बाढीजन्य प्रकोपमा ज्यान गुमाए। तथ्यांकले भन्छ, ‘१ लाख ४६ हजार २ जना मानिस बाढीबाट प्रत्यक्ष प्रभावित भए। जसको घर बाढीले बगायो, भत्कियो, क्षति पुर्‍यायो।’ 

दुई दशकअघि साउन महिनामा ४ फिटमा इनारमा देखिने पानीको यसपालिको साउनमा साढे चार सय फिट तल पुगेको पूर्वराष्ट्रपति डा. रामवरण यादवले पीडा सुनाउँछन्। भन्छन्, ‘मधेस स्वर्ग थियो, अहिले मरुभूमीकरण बन्यो। बाढीको कटान, डुबान र खेत बालुवाको पटानले हैरान बनायो।’ 

समस्या  :  १ 
नदी बहाव फेर्दै, बाढीले खेत निल्दै

पूर्वशिक्षक चेतनारायण महतो बर्दिबास–९ पशुपतिनगरमा २०२४ सालदेखि छन्। घरनजिकै बग्ने रातु नदीबाट सिँचाइ गर्थै सोही पानी कलकल पिउँथे। तर, अहिले वर्षातमा यहाँ आउने बाढीले खेत पुर्‍यो/कटान गर्‍यो। खानेपानी खोज्न हिँड्नुपर्ने अवस्था छ। भन्छन्, ‘यो सबै रातु दोहनले हो।’null

उनको दुई बिघा खेत बगाइसक्यो। खेती हुने ठाउँ खण्डहर बन्यो। भन्छन्, ‘दुई बिघा उब्जाउ हुने जग्गा रातुको बाढीले खाइसक्यो। बाँकी रहेको खेत पनि बाढीकै चपेटामा परेको छ।’ खोला दोहनका कारण बाढीले बहाव फेर्दा रातुले प्रत्येक वर्ष २५–४० हेक्टर खेतीयोग्य जमिनलाई मरुभूमि बनाउँदै आएको छ। खोला गहिरो भएर वर्षातको बाढीको पानी पनि पैनीमा चढ्दैन। 

खोला दोहनले प्राकृतिक प्रकोपहरू बढेको उनी बताउँछन्। भन्छन्, ‘माफियाहरूले खोलालाई खुनी खोला बनाइदिए। गोजी भर्न माफियाहरूले नदी खन्दै गए। खोला गहिरिँदै गयो। अहिले बाढी आउँछ, खेत, बालीनाली, मान्छे सबै बगाएर मार्छ।’ बर्दिबास नगरपालिकाका मेयर प्रह्लाकुमार क्षेत्रीले नै आर्थिक चलखेल गरेर रातु खोलाको दोहन गराइरहेको किसान महतोको आरोप छ। भन्छन्, ‘आर्थिक चलखेल गरेर मेयरले आफ्नो मान्छेलाई दिएर खोलाको दोहन गराइरहेका छन्। मेयरको पनि आफ्नो क्रसर छ।’


समस्या—२
पहिले ८० मन धान फल्थ्यो, अहिले खेत बाँझै

nullचुरेको भाव क्षेत्रमा पर्छ बर्दिबास–१३ बिजलपुराकी ४५ वर्षीय सुमिन्त्रा देवी महतोको घर। २० वर्ष पहिले साउन महिनामा चार फिटमै इनारमा पानी हुन्थ्यो। तर, यसपालिको साउनमा झन्डै ८० फिट गहिरो इनार सुक्यो। पिउने पानीको दु : ख छ। एक बिघा खेतबारी बाँझै छ।

null

‘क्रसर माफियाले चुरेको भावर क्षेत्रलाई धवस्त बनाए, त्यसैले नदी सुक्यो, सँगै इनार पनि,’ सुमिन्त्रा बताउँछिन्। यसपालि पनि उनले ३० हजार खर्च गर्दै दु : खले धान रोपिन्। तर, खडेरी लाग्यो धान फलेन। ७०–८० मन धान उब्जिने खेतमा यसपटक धान बढ्नै सकेन। लगानी खेर गयो। अब खाने अन्न छैन।


समस्या —३
खोला दोहनको असर युवामा, बिदेसिन बाध्य
खोला दोहनले खेतीपाती हुन छाडेपछि बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ३० वर्षीय श्रवणकुमार महतो परिवार पाल्न खाडीमुलुक गए। विदेश गएपछि उनको परिवार नै भाँडियो। ९ वर्षपछि विदेशबाट फर्किंदा रातु खोलाको कुरूप अवस्था देखेर अच्चमित भए। उनी भन्छन्, ‘खोला त झन् गहिरो, झन् गहिरो बनाइरहेको छ।’

null

श्रवण दुई दाजुभाइ छन्। उनको १७—१८ कठ्ठा खेत छ। तर, त्यहाँ सिँचाइ हुँदैन। ‘खेतमा सिँचाइ छैन। वर्षातको भरमा जे उब्जिन्छ त्यहीबाट पेट पालिन्छ’, उनी भन्छन्, ‘जसको ठूलो मुख छ, उसलाई सिँचाइ दिन्छ, हामीलाई त दिँदै दिँदैन।’

पहिला खोलामा पानी बग्थ्यो। सिँचाइ हुन्थ्यो। अहिले त इनार सुक्दै छ। पानी पिउनकै समस्या रहेको उनी सुनाउँछन्। जथाभावी खोला उत्खननले खोलाको बहाब फेर्दा बिघौं जग्गा भएका किसानहरू छिनभरमै सुकुम्बासी बन्ने गरेका छन्। खडेरीले पिउने पानीको अभाव भएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादव बताउँछन्। भन्छन्, ‘खेती हुन छाडेपछि परिवार पाल्न युवाहरू खाडी जान बाध्य छन्।’ 


समस्या—४
माफियाले खोला खने, बाढीले पुल निल्यो

रातु खोला वरिपरि २०५६ सालबाट क्रसर उद्योग सञ्चालनमा आयो। २०६० बाट क्रसर उद्योगको संख्या बढ्दै गयो। त्यसको चाप रातु खोलामा पर्‍यो। खोला गहिरिँदै गयो। २९ साउन २०७१ सालको भीषण बाढीले रातु पुल भाँसियो। यो पुल पूर्व—पश्चिम राजमार्गमा पर्छ।

null

भाँसिएको पुलको दुइटा पिल्लरलाई मर्मत गरियो। तर, पुल नजिकैबाट उत्खनन हुने क्रम रोकिएन। २८ साउन २०७४ को अर्को भीषण बाढीले फेरि पुल भाँसियो। महिनौं सवारीसाधन सञ्चालन तथा आवतजावतमा कठिनाइ भयो। सरकारले बाध्य भएर भाँसिएको पुलको उत्तरतिर २४ करोड ६० लाख रुपैयाँमा नयाँ पुल बनायो। अवैध रूपमा भइरहेको खोला दोहनले यो पुल पनि जोखिममा पर्दै गएको छ। 


गर्भिलो विगत, संकटग्रस्त वर्तमान
रातु नदी मात्रै होइन् यो सभ्यता नै रहेको देउराली माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक केदारबहादुर कोइराला बताउँछन्। तर, रातु खोलाको दोहनले ‘रातु नदी सभ्यता’ नै संकटमा परेसँगै गाउँबस्तीमा उठिबासको समस्या थपिँदै गएको छ। 

जर्मन नागरिक गुड्रन कार्बिनले रातु नदीको बारेमा ३८ वर्षअघि गहिरो अध्ययन गरेका थिए। सन् १९८५ मा उनले गरेको खोज अनुसन्धानमा पाटु गाउँनजिकैको रातुको किनारको भिरालोमा मानव निर्मित ढुंगाका पुराना हतियारका अवशेष फेला पारेका थिए। यस प्रकारका हतियार १२ देखि १० हजार वर्ष पुराना रहेको कार्बिनले सन् २००७ मा प्रकाशित गरेको ‘प्रिहिस्टोरिक कल्चर्स इन नेपाल’ नाम किताबको भोलुम १, पृष्ठ २३९ मा लेखेकी छिन्, ‘रातु नदी सभ्यता नेपालको गौरवपूर्ण सम्पदा हो।’ अहिले यो नै दोहन गरेर माफियाहरू मोटाइरहेका छन्। त्यसका पक्षमा जनप्रतिनिधि नै उभिनु दु : खद कुरो रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा स्थानीय बासिन्दा राजु खड्का बताउँछन्। 

राजनीतिक दल, नागरिक अगुवा, स्थानीय बासिन्दा र वातावरणविद्हरू एकभएर रातु खोला दोहन बन्द गर्न माग गरिरहेका छन्। रातु खोला संरक्षणका लागि सर्वदलीय मोर्चा समालिरहेका कांग्रेसका नेता चिरञ्जीवी हमालले रातु नदी संरक्षणले मात्रै महोत्तरी र धनुषका नागरिकको जीवन सुरक्षित बन्ने बताए। उनी भन्छन्, ‘त्यसका लागि रातु खोलाको दोहन तुरुन्त सरकारले बन्द गराउनुपर्छ।’


दुई अर्ब खर्च भयो, दु : ख उस्तै
करिब १५ वर्षअघिसम्म रातु नदी पूर्व—पश्चिम राजमार्गको पुल पार गरेपछि तीन भंगालो भएर बग्थ्यो। जिल्ला विपद् व्यवस्थान समिति जलेश्वरले निर्णय गरेर बीचको भंगालोमा बाँध बाँधेर सोझ्याए। खोलाको प्राकृतिक स्वरूपमा अवरोधले रातु नदीले धेरै दु : ख दिन थालेको पूर्वशिक्षक महतो बताउँछन्। भन्छन्, ‘तर, खोलामा बाँध लगाउने काम गर्नुपर्ने थियो त्यो गरिएन। अनि बिघौंका बिघौं कटान गरेर हामीलाई उठिबास भयो। कैयौंको त बाढी घरै बगायो।’

उनका अनुसार लगाउने बाँध पनि बाढी आउने समयमा लगाउँछन्। बाढीले बगाएर लान्छन्। रातुजस्ता नदीमा बाढी नियन्त्रणका लागि तटबन्ध नलगाएको भने होइन्। तर, खोलाबाट जथाभावी बालुवा, गिट्टी, ढुंगा निकाल्दा खोला गहिरिएर तटबन्ध बगाउने गरेको जनताको तटबन्ध कार्यालय जलेश्वरका प्रमुख रनधीर झाले दु : खेसो पोखे।

रातु, मरहा, औरही/विग्ही नदीबाट हुने कटाउन, डुवान र क्षति न्यूनीकरण गर्न जनताको तटबन्ध कार्यक्रमअन्तर्गत बाँध लगाउने काम आर्थिक वर्ष २०६५–२०६६ देखि सञ्चालन हुँदै आएको छ। तर, बाँध गुणस्तरीय नभएको रातु खोलाको तटीय क्षेत्र पशुपतिनगरका बासिन्दा एवं नेपाल पत्रकार महासंघ महोत्तरीका सदस्य पशुपतिनगरका अमृत महतो बताउँछन्। 

१५ वर्षमा जनताको तटबन्ध कार्यक्रमअन्तर्गत २ अर्ब खर्च भइसकेको छ। कार्यालय प्रमुख झा भन्छन्, ‘हालसम्म १७२ किलोमिटर बाँध निर्माण भएको छ। २ हजार हेक्टर जमिनलाई बाढी कटानबाट बचाएको हाम्रो प्रगति प्रतिवेदनमा देखाइएको छ।’ 

रातु नदीबाट उत्पन्न हुने प्राकृतिक प्रकोप न्यूनीकरणका लागि काम गर्दै आएको अध्यक्ष यादवले चुरेका वन जंगल र भावर क्षेत्रको दोहनले कटान, डुवानको समस्या बढेको बताउँछन्। भने, ‘त्यसले गाउँ डुवानको समस्या बढेको छ।’ चुरेका ज्ञाता यादव भन्छन्, ‘इसिमोडको समुदायमा आधारित बाढी पूर्वसूचना प्रणालीले राजमार्गको रातु पुलमा पानीको सतह सामान्यभन्दा एक मिटरमाथि पुग्दा तल्लो भेग सरपल्लो, बल्वासहतिका भेग डुबानमा परिहाल्छ।’ 


‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’
चुरेको उत्पादन स्वच्छ हावा र पानी हो। नदीजन्य पदार्थ चुरेको उत्पादन होइन्। यो उपहार हो छ। यसलाई अधिकार सम्झिँदै चुरेका नदीहरूबाट भइरहेको दोहनले वातावरणी संकटहरू उत्पन्न भरहेको चुरे विज्ञ डा. विजयकुमार सिंह दनुवार बताउँछन्।

null

‘चुरेबाट बगेर आउने पानीलाई वर्षात याममा सोसेर भावर क्षेत्रले राख्छ। हिउँदमा पानीका मुहानहरूलाई रिजार्च गर्छ’, चुरे विज्ञ डा.सिंह बताउँछन्, ‘चुरे, भावरबाट बग्ने नदीनालाको अत्याधिक दोहन भएपछि यसैपालि मधेसमा खडेरी लाग्यो। पिउने पानीको हाहाकार भयो।’ चुरेका खोलानालाहरूलाई संरक्षण गर्नुको विकल्प नरहेको उनी सुनाउँछन्।

‘दुई दशकदेखि खोलाको दोहन तीव्र छ। पानीको मुहान र इनारहरूमा पानी हराउँदै गएको छ’, कांग्रेस महोत्तरी क्षेत्र नम्बर १ का सभापति महेश झा भन्छन्, ‘सरकार चलाउने नेताहरू नै वैमान भयो। संरक्षणभन्दा प्राकृतिक स्रोत साधनको दोहनमा मात्रै आँखा लगाइरहेको छ।’ चुरे नदी प्रणालीअन्तर्गतका नदीहरूको जथाभावी दोहनले प्राकृतिकजन्य समस्याहरू विकास बन्दै गएको प्राकृतिक स्रोत व्यवस्थापन तथा वातावरण विज्ञ डा. नागेन्द्रप्रसाद यादव बताउँछन्। 

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना महोत्तरीमा उल्लेख भएअनुसार महोत्तरीमा वार्षिक औसतमा १ हजार ८ सय ४० देखि २ हजार २ सय मिलिलिटर वर्षा हुने गरेको छ। वातावरण विद् डा. यादव भन्छन्, ‘अध्ययनले महोत्तरीका उत्तरी क्षेत्रका गाउँमा तीन महिना खाने पानी पाइँदैन। चुरे र भावर क्षेत्रको दोहनले पानीका स्रोतहरू सुक्ने समस्या आएको हो।’ 

खोलाबाट तीन फिट खनेर बालुवा, गिट्टी र ढुंगा निकाल्ने बर्दिबास नगरपालिका र ठेक्केदारबीच कागजी सम्झौता छ। तर, व्यवहारमा भने अहिले ९ फिट गहिरो खोला खनेर दोहन भइरहेको छ। वातावरण विज्ञ डा. यादवका अनुसार पूर्व–पश्चिमसम्म फैलिएको चुरे तराईका बासिन्दाका लागि पानीको मुख्य स्रोत हो। तराईभन्दा धेरै वर्षा चुरे क्षेत्रमा हुन्छ। चुरेको संरक्षण नहुँदा पानी सोस्ने र सञ्चय गर्ने क्षमता अहिले कम हुँदै गएको छ। जसले गर्दा चुरेबाट वर्षातको समयमा आएको बाढीले खेतकटान र गाउँ डुवान गर्छ। चुरेमा पानी सोस्ने क्षमत भए पो हिउँदमा पानी आउँछ। यसको अवस्था झन्–झन् कमजोर भयो।


दोहनको चौतर्फी विरोध

चालू आर्थिक वर्षका लागि बर्दिवास नगरपालिकाले भने करिब ६ करोड ४३ लाखमा रातु ठेक्का लगाएको छ। नदीको दुवै किनाराबाट ५०–५० मिटर छाडेर त्यसको बीचमा तीन फिट गहिराइमा करिब २ लाख ९४ हजार घन मिटर उत्खननका लागि ठेक्का लगाएको छ। तर, खोलामा ९ फिट गहिरो खनेर सम्झौता विपरीत काम भइरहेको छ। चारवटा प्याकेजबाट करिब २ लाख ९४ हजार घनमिटर नदीजन्य पदार्थ ठेक्केदारले उत्खनन गर्न दिएको छ। तर, मापदण्डविपरीत मनपरी खोला उत्खन्न भइरहेको नेकपा एमालेका युवा नेता शंकर महतो बताउँछन्।

‘आर्थिक वर्ष २०७७/७८ मा पनि आईई रिपोर्टअनुसार १ लाख १२ हजार ५ सय उत्खनन गर्न ठेक्का लगाएर ७ गुणा बढी नदीजन्य पदार्थ निकालेको थियो’, उनले भने, ‘जुन सम्झौताभन्दा १२ करोड बढी रकम बराबरको नदीजन्य पदार्थ उत्खनन् गरिएको थियो।’ तर त्यसको क्षतिपूर्तिको अवस्थालाई समेत आंकलन नगरी अहिले फेरि ठेक्का लगाएर उत्खनन भइरहेको उनले बताए। उनले थपे, ‘जुन आईई रिपोर्टमा टेकेर ठेक्का लगाइएको छ। त्यो नै शंकास्पद छ।’

null

यसअघि संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत बर्दिबास पुगेर रातु खोलामा भइरहेको अवैध उत्खननको स्थलगत निरीक्षण गरिसकेका छन्। चुरे दोहनविरुद्ध बनेको आठ दलीय राजनीतिक मोर्चाले प्रेस विज्ञप्ति निकालेरै रातु खोलाको उत्खनन रोक्न माग गरेका थिए। ती मोर्चाकै पहलमा रातु खोलामा भइरहेको गैरकानुनी र मापदण्ड विपरीतको खोला उत्खनन रोक्न सरोकारवालालाई ज्ञापनपत्र बुझाइसकेको छ।

बर्दिबास नगरपालिका मेयर प्रह्लाद कुमार क्षेत्रीले प्रारम्भीक वातावरण परीक्षण मूल्यांकनको आधारमा खोला उत्खननका लागि ठेक्का लगाएको दाबी गर्छन्। ‘तीन फिटभन्दा बढी गहिराइ भएर खोला दोहन भएको रहेछ भने बर्दिबास नगरपालिकाले तुरुन्त खोला उत्खनन बन्द गराउँछ’, उनी भन्छन्, ‘विधि, प्रक्रिया र मापदण्डविपरीत खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न पाइँदैन। यसको विपरीत काम हुन्छ भने त्यसलाई रोक्ने कर्तव्य हामी सबैको हो।’ 

बर्दिबास नगरपालिकाले विधि र प्रक्रियाअनुसार खोला उत्खनन नगराएको अनुगमनबाट देखिएको जिल्ला समन्वय समिति महोत्तरीका अध्यक्ष सुमनलाल कर्णले बताए। ‘खोलाको दुवैतिर ५०—५० मिटर रेखांकन गरी बीचको भागबाट मात्रै उत्खनन गर्न पाउने नियम हो। तर, जथाभावी खनिएको छ’, उनी भन्छन्,  ‘नदीजन्य पदार्थ ढुवानी गर्ने गाडीको प्रवेश पास, गाडीको संख्या  सबै तोकिएको हुनुपर्छ। तर, स्थलगत जाँदा केही भेटिएन।’ उनले थपे, ‘पुल भन्दामाथि ५ सय मिटर तल एक किलो मिटर दुरी उत्खनन गर्नु मापदण्डविपरीत हो।’ 

उनका अनुसार खोला बाढीबाट थिग्रिएको नदीजन्य पदार्थ ३ फिट उत्खनन गरेर झिक्नुपर्ने हो। तर, खोलाको बहाव क्षेत्रबाट गहिरो खनेर उत्खनन गरिएको छ। ‘खोलाको ठेक्का लगाउने र संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो। तर, संरक्षणभन्दा दोहनतिर बढी नजर गएको देखिन्छ’, उनले भने, ‘स्थानीय सरकारले उत्खनन नियन्त्रण गर्ने हो भने एक इन्च गहिरो खोला खनिँदैन।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.