वीरगन्ज : भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको समुद्घाटनमा सरिक भइ दर्शन र पूजापाठ गर्न वीरगन्जका युवाहरुको एक समुह जाने भएको छ। उनीहरु १० दिन पैदल यात्रा गर्दै अयोध्या जाने भएका छन्।
राष्ट्रिय बजरंग दल पर्साका ११ जना युवाहरुको टोली बिहीबार बिहान वीरगन्जबाट पैदल अयोध्या यात्रामा निस्किएको हो।
भगवान रामको जन्मभूमि अयोध्यामा नवनिर्मित राममन्दिरमा जनवरी २२ अर्थात माघ ८ गते भगवान रामको मूर्ति प्राणप्रतिष्ठासंगै समुद्घाटन समारोह हुँदै छ।
सोही समारोहमा सरिक हुन र पूजापाठ गर्न वीरगन्जबाट बजरंग दलका युवा बिहीबार बिहान १० दिनको पैदल यात्रामा निस्किएका हुन् । वीरगन्जबाट अयोध्याको दूरी ३५० किलोमिटर छ।
वीरगन्जबाट अयोध्याका लागि प्रस्थान गरेको बजरंग दलका युवाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले माईस्थानस्थित गहवामाई मन्दिर परिसरमा फूलको माला र खादा लगाएर बिदाइ गरे।
वीरगन्जबाट भगवान् रामका लागि धातुको धनुष(वाण लगायतका कोसेली लिएर हिंडेको टोली भारतको बिहार र उत्तर प्रदेशका विभिन्न शहरको पदल यात्रा गर्दै १० दिनमा राम जन्मभूमि अयोध्यामा पुग्ने लक्ष्य रहेको पैदल यात्रामा सहभागी वीरगन्ज-१० का युवा मुन्ना साह कानुले बताए । अयोध्यामा पुगेर नवनिर्मित राममन्दिरको समुद्घाटन समारोहमा सरिक भइ पूजापाठ पनि गर्ने उनले बताए।