‘एसआईपी’ खुलामुखी सामूहिक लगानीमा आकर्षण

मर्चेन्टहरूमा फन्डको आकार ६ अर्ब ७३ करोड नाघ्यो

‘एसआईपी’ खुलामुखी सामूहिक लगानीमा आकर्षण

काठमाडौं : लगानीका विभिन्न क्षेत्रमध्ये विगत चार वर्षदेखि नेपालमा ‘एसआईपी’ (सिस्टम्याटिक इन्भेस्टमेन्ट प्लान)मा लगानीकर्ताहरूको आकर्षण बढ्दो छ। हाल सात वटा मर्चेन्ट बैंकहरू (क्यापिटलहरू)मार्फत यस्तो योजना सञ्चालनमा ल्याएसँगै हजारौं लगानीकर्ताहरूले आकर्षित भएका हुन्।  यो खुलामुखी सामूहिक लगानी कोष (ओपन इन्डेड फन्ड) एसआईपीमा उक्त क्यापिटलहरूको फन्डको आकार ६ अर्ब ७३ करोड ३८ लाख ६० हजार रुपैयाँबराबर पुगेको छ। 

‘एसआईपी’बापत लगानीकर्ताबाट उठेको रकमलाई मर्चेन्ट बैंकहरूले खुलामुखी सामूहिक लगानी कोषमा लगानी गर्छन्। ‘एसआईपी’को लगानीको सीमा असीमित हुन्छ। यसमा लगानीकर्ताहरूले नियमित मासिक रूपमा न्यूनतम एक हजारदेखि अधिकतम आफ्नो क्षमताअनुसार क्यापिटलमा उक्त योजनामा लगानी गर्न सक्छन्। यसबाट राम्रै प्रतिफलसमेत हासिल गर्न सकिने मर्चेन्ट बैंकहरू बताउँछन्। 

नेपालमा एसआईपी सुरु गर्ने पहिलो कम्पनी एनआईबीएल क्यापिटल (हालको एनआईएमबी एस क्यापिटल) हो। यसले वि.सं २०७६ जेठ १९ गतेबाट ‘एनआईबीएल सहभागिता फन्ड’नामक एसआईपी सुरु गरेको थियो। यसपछि हालसम्म नेपालमा एसआईपी अर्थात् प्रणालीगत लगानी योजना हालसम्म सात वटा क्यापिटलले यस्तो योजना सञ्चालनमा ल्याएका छन्। यससँगै, एनएमबी क्यापिटल, सिद्धार्थ क्यापिटल, कुमारी क्यापिटल, एनआईसी एसिया क्यापिटल, नबिल क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटले उक्त प्रडक्ट सञ्चालनमा ल्याएका छन्। 

उक्त योजनामा लगानीकर्ताको आकर्षण बढेसँगै मर्चेन्ट बैंकहरूको लगानीको आकार बढिरहेको छ। जसमा सबैभन्दा बढी एनआईबीएल क्यापिटलको छ। यस्को एनआईबीएल सहभागिता फन्डमा २ अर्ब ८७ करोड १ लाख ३६ हजार रुपैयाँ लगानी पुगेको छ।  यसपछिको दोस्रो ठूलो आकारमा एनएमबी क्यापिटल रहेको छ। यसको ‘एनएमबी सरल बचत फन्ड–९ई’मा १ अर्ब ५० करोड २ लाख ३३ हजार रुपैयाँबराबरको रकम छ। यसपछि एनआईसी एसिया क्यापिटलको ‘एनआईसी एसिया डाइनामिक डेब्ट फन्ड’मा ५१ करोड ७५ लाख ५० हजार रुपैयाँबराबरको लगानीको आकार पुगेको छ।

यसपछि सिद्धार्थ क्यापिटलको ‘सिद्धार्थ सिस्टम्याटिक इन्भेस्टमेन्ट सेम’ मा ५७ करोड ८३ लाख २९ हजार रुपैयाँ रहेको छ। यसपछि क्रमशः नबिल क्यापिटलको नबिल फ्लेक्सी क्याप फन्डमा ५१ करोड  ७६ लाख ५० हजार रुपैयाँ, कुमारी क्यापिटलले सञ्चालनमा ल्याएको ‘कुमारी सुनौलो लगानी योजना’को ३६ करोड ६२ लाख ५७ हजार र लक्ष्मी क्यापिटल मार्केटको शुभलक्ष्मी कोषमा २८ करोड ४८ लाख ९१ हजार रुपैयाँबराबरको लगानी छ। 

उक्त क्यापिटलहरूले सञ्चालन गरेको एसआईपी म्युचुअल फन्डले लगानीकर्ताबाट संकलित रकमलाई सेयर मार्केटमा, ऋणपत्रमा र बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न पाउँछन्। यसमा अधिकांशले  सन्तुलन मिलाउन करिब १५ प्रतिशत ऋणपत्रमा, ७० प्रतिशत जति पुँजी बजारमा र १५ प्रतिशत हाराहारी बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने गरेको मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका महासचिव तथा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेन्द्र रायमाझीले जानकारी दिए।

उनी भन्छन्, ‘हामीले जुनले बढी प्रतिफल दिन्छ त्यतातिर लगानी बढाउँछौं। धेरै सेयर बजारमा लगानी गरिन्छ। तर सेयर बजार ओरालो लाग्यो भने धेरै ऋणपत्र र मुद्दती निक्षेपमा लगानी बढाउँछौं।’ यो योजना सुरु गरेको करिब १६ महिनामा एसआईपी योजनामा करिब ८२ हजार लगानीकर्ता लाभान्वित भएको उनले जानकारी दिए। ‘यो हाम्रोमा मात्रै हाल दैनिक ८–१० लाख रुपैयाँबराबरको इनरोल भइरहेको छ। समग्र मर्चेन्टको एसपीआई योजनामा मात्रै दैनिक करिब ७० लाखदेखि एक करोड रुपैयाँ हाराहारीमा इनरोल भइरहेको छ,’ उनले अन्नपूर्णसँग भने, ‘अहिले यसको बजार राम्रो छ। प्राय दीर्घकालीन रूपमा मासिक हजार लगानी गर्नेहरू अधिक छन्। यो बढ्दो मार्केटमा झन् राम्रो हुन्छ। अहिले बढ्दो बजार भएकाले यस्तो फन्डमा लगानी गर्ने उपयुक्त समय हो।’

यता नेपालमा एसआईपी सुरुवात गरेको पहिलो कम्पनी एनआईबीएल क्यापिटल (हालको एनआईएमबी एस क्यापिटल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सचिन्द्र ढुंगाना एसआईपीअन्तर्गत ‘एनआईबीएल सहभागिता फन्ड’ २० करोडबाट सुरु गरेको बताउँछन्। ‘तर अहिले यसमा लगानीकर्ताहरू बढी आकर्षित भएकाले यसको आकार बढेर करिब तीन अर्ब पुगेको छ। जस्मा करिब ७५ हजार बढी लगानीकर्ता छन्,’ उनले जानकारी दिए। यसैक्रममा सीईओ ढुंगाना म्युचुअल फन्डको अवधारणा नै कम जोखिम लिने र लगानीकर्ताहरूलाई राम्रो प्रतिफल दिनेमा लक्षित रहने उनले बताए। 

एसआईपी भनेको के हो ? 

एसआईपी लगानीको एक माध्यम हो। यो खुलामुखी म्युचुअल फन्ड हो। यसअघि  बन्दमुखी म्युचुअल फन्डमात्रै थियो। यस्तो सेयर खरिदबिक्री गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)मै जानुपर्छ। नेप्से यस्को मूल्य बजारले निर्धारण गर्छ। तर खुलामुखीका लागि झन्झट हुँदैन र नेप्सेमा जानु पर्दैन। खरिद बिक्री गर्न यस्तै फन्ड म्यानेजर कहाँ जतिबेला पनि जान सकिन्छ।

लगानीलाई प्रणालीगत बनाउन मासिक वा त्रैमासिक रूपमा नियमित रकम जम्मा गर्नुपर्छ। लगानी गरेपछि निश्चित वर्ष अर्थात् १०–२० वर्ष वा अनिश्चित समयसम्मलाई गरेमा आवश्यकताअनुसारको समयपछि प्रतिफल लिएर बाहिरिन सकिन्छ। यसैले लगानीकर्ताले मर्चेन्ट बैंकले ल्याएको फन्ड योजनामा लगानी गर्न सक्छन्। जस्ले पैसा बचत गर्छ। यो पैसा बचत गरेर आम्दानी गर्ने उत्तम उपाय हो। यसले लगानीकर्तालाई कुनै प्रकारको भार दिँदैन। व्यक्तिले आम्दानीअनुसार अर्थात् क्षमताअनुसार मासिक लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सक्छन्।

यसरी बचत गर्दा आपत्कालीन अवस्थामा मद्दत पुर्‍याउँछ। सामान्यतया बजारमा म्युचुअल फन्डहरू किन्दा एकैचोटी धेरै पैसा चाहिन्छ। तर एसआईपीले सानो रकमलाई जम्मा गरी त्यस रकमबराबरको सामूहिक लगानी योजना खरिद गर्छ। तसर्थ एसआईपी भनेको छुट्टै योजना होइन। यो म्युचुअल फन्डमै लगानी गर्ने एउटा माध्यम हो।

कसरी लगानी गर्ने ?

एसआईपीमा लगानी गर्न निकै सजिलो छ। एसआईपी योजना ल्याएका मर्चेन्ट बैंकको वेबसाइडमा गएर अनलाइनमार्फत फर्म भरेर वा भौतिक रूपमै कार्यालयमा गएर फारम भरेर यसको नियमित लगानीकर्ता बन्न सकिन्छ। यसरी योजना खरिद गर्न सकिन्छ। एसआईपीको लगानी जति लामो समय भयो त्यति फाइदा हुन्छ। किनभने क्यापिटलले लगानीकर्ताबाट लिएको पुँजीको लगानी विविधीकरण गरेको हुन्छ। क्यापिटलले एउटामा मात्रै होई्न ४०–५० कम्पनीमा लगानी गरेको हुन्छ। जोखिमलाई धेरैमा बाँड्दा प्रतिफल पाउने आधार बढी हुन्छ।

एक लगानी योजना हो जसमा थोरैथोरै रकम गरेर लगानी गर्न सकिन्छ। यस योजनामार्फत म्युचुअल फन्डमा थोरैथोरै गरेर सजिलै लगानी गर्न सकिन्छ। कसैको मासिक आम्दानी कम भएमा पनि यसमा लगानी गर्न सक्नेछन्। यस योजनाअन्तर्गत साप्ताहिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक अन्तरालहरूमा लगानी गर्न सकिन्छ।

एसआईपी कत्तिको सुरक्षित हुन्छ ?

यो खुलामुखी म्युचुअल फन्डको लगानी विविधीकरण हुन्छ। मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका महासचिव रमेन्द्र रायमाझीका अनुसार यस्ता फन्डको लगानी एउटैमा मात्र नभएर धेरैमा हुने भएकाले जोखिम नहुने दाबी गर्छन्। उनका अनुसार म्युचुअल फन्डको लगानी ४०– ५० वटा कम्पनीमा हुने भएकाले जोखिम न्यून हुँदै जान्छ। ‘७० प्रतिशत इक्विटी मार्केटमा जान्छ। बाँकी ऋणपत्र र निक्षेपमा हुन्छ। 

यस्ता लगानीको विविधीकरण हुने भएकाले यो सुरक्षित लगानी हो।’ यो आफंैमा सुरक्षित लगानी हो। यसमा धेरै प्रतिफल नआए पनि घाटा नहुने उनको भनाइ छ। उनका अनुसार बजार घटबढ भइरहन्छ तर एसआईपीमार्फत नियमित रूपमा लगानी भइरहने भएकाले ‘एभरेजिङ’ हुन्छ। नवप्रवेशी लगानीकर्ताहरूका लागि यो योजना उपयुक्त देखिन्छ। तर लगानीकर्ताले क्यापिटलहरूले यसअघि व्यवस्थापन गरिरहेको सामूहिक लगानी कोषहरूले कस्तो प्रतिफल दिएका छन् भन्नेबारे पनि लगानीकर्ता चनाखो हुनुपर्ने विश्लेषकहरू बताउँछन्। 

जोखिम कति ?

एसआईपी सानो कोषबाट सुरु गर्न सकिन्छ। त्यसैले यसमा उच्च जोखिमको सम्भावनापूर्ण रूपमा समाप्त हुन्छ। यसमा लगानी गर्दा घाटामा चलिरहेको कम्पनी परेमा र नाफा कमाउन नसकेमा पैसा डुब्ने सम्भावना हुन्छ। साथै, यसमा लगानी छोटो अवधिको लागि गरेमा घाटा हुन सक्छ। यसैले लामो समयसम्म लगानी गर्दा घाटा हुने सम्भावना कम हुन्छ। यदि चलिरहेको एसआईपी दुई–तीन महिनामा टुटेको छ भने, यसको प्रक्रिया पूरा नगर्दा घाटा हुन सक्छ। 

कम्पनीमा अचानक संकट आयो भने घाटा हुन सक्छ। यसो नभएमा निरन्तर गरेको लगानीको प्रतिफल राम्रै हुन्छ। यस्ता फन्डलाई कम्पनीले लगानी विविधीकरण गर्ने भएकाले सबै क्षेत्र खस्किएमात्रै लगानी डुब्छ तर एक दुई क्षेत्रमा उतारचढाव आए पनि खासै असर नपर्ने महासचिव रायमाझी बताउँछन्।

एसआईपीबाट कसरी फाइदा लिने ?

प्रत्यक्ष सेयर बजारमा लगानी गर्न, अझ जोखिम लिन डराउनेहरूको लागि यो योजना धेरै फलदायी हुन्छ। लगानीको यो उपयुक्त विकल्प हो। एसआईपीमा कम्पाउन्डिङको फाइदा पाइन्छ, लामो समयसम्म लगानी गर्ने हो भने नाफा बढी हुन्छ। यदि बजारमा प्रतिफल बढ्दै छ भने एसआईपीमा लगानी बढाउन सकिन्छ।  

यदि कुनै व्यक्तिले मासिक एक हजार रुपैयाँ एसआईपीमा पाँच वर्षको लागि लगानी गरेको छ। यस अवधिभर कुल ६० हजार लगानी हुन्छ। यदि २० वर्षका लागि मासिक एक हजार जम्मा गरिएको छ भने यस अवधिभर कुल लगानी २ लाख ४० हजार रुपैयाँ हुन्छ।  यसमा १५–१८ प्रतिशत बजारले दियो भने करिब १२ लाख ७५ हजारदेखि १५ लाख रुपैयाँसम्मको प्रतिफल कमाइन्छ।   

यसर्थ, एसआईपीको मुख्य फाइदाहरूमध्ये एक लागत औसत हो। लगानी गरेको रकम लामो अवधिको लागि स्थिर रहने भएकोले, औसत लागतमा बजारको अस्थिरताको अधिकतम फाइदा उठाउन सकिन्छ। लगानी गर्न रोजेको निश्चित रकमको अर्थले प्रत्येक एकाइको मूल्य 
औसत निकाल्नेछ।

एसआईपी योजनामा लगानीकर्ता लाभान्वित भएका छन्। समग्र मर्चेन्टको एसपीआई योजनामा मात्रै दैनिक करिब ७० लाखदेखि एक करोड रुपैयाँ हाराहारीमा इनरोल भइरहेको छ। अहिले यसको बजार राम्रो छ। प्रायः दीर्घकालीन रूपमा मासिक हजार लगानी गर्नेहरू अधिक छन्। यो बढ्दो मार्केटमा लगानी गर्दा झन् राम्रो हुन्छ।  अहिले बढ्दो बजार भएकाले यस्तो फन्डमा लगानी गर्ने उपयुक्त समय हो।
रमेन्द्र रायमाझी, मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका महासचिव तथा एनआईसी एसिया क्यापिटलका सीईओ​​​​​​​


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.